आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रधानमन्त्री देउवाबाट उद्घाटन भएको देशकै दोश्रो ठुलो नयाँ खिम्ती सबस्टेसन

शनिबार, ०५ चैत २०७८, १२ : ३९
शनिबार, ०५ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोश्रो ठुलो २२०/१३२ केभी खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् । 

उक्त सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्र्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो । 

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सब स्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ ।  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० केभी डवल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सवस्टेशन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ । 

त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । 

नयाँ खिम्ती सब स्टेसनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी. सवस्टेशन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ ।

नयाँ खिम्ती सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे (Gas Insulated Switchgear -GIS bay)र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे (Air Insulated Switchgear Bay) रहेका छन् ।

साथै, सबस्टेसनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सवस्टेशन  निर्माण भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप