शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्ध : छरिएको जीवन

शनिबार, ०५ चैत २०७८, १२ : ३५
शनिबार, ०५ चैत २०७८

जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरूलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन्, समयका सूक्ष्म त्यान्द्रा–त्यान्द्री । एउटा मजबुत बिटो कस्न खोज्छु, त्यसमा बाँधिन मान्दैन समय ।

आजसम्मको जिन्दगी असरल्ल छरिएरै बितेछ । टुक्रा टुक्रामा भाग लागेर बितेछ । अंश अंशमा विभाजित भएर बितेछ । कठिन वाल्यकालीन पलहरूलाई सम्झिन्छुु, छ–आठ वर्षसम्मको उमेर त रोएरै बित्यो, खेलेरै बित्यो । धुलोमा हिलोमा डुबेरै बित्यो । धुलोमा खेलिने सिन्की–धुली, हिलोमा खेलिने माउपाडा आईँ आईँ, चौरीमा खेलिने हरगुडू, गट्टा, कबड्डी, खल्र्याङखुट्टी अनेकन खेल साँच्चै मनमोहनकारी थिए । अहो ! त्यी बाल्यकालीन क्रिडाहरू सम्झिँदा पनि आनन्द–सागरमा पौडिरहेको हुन्छु । बेफिक्री थियो मन, निश्चिन्त थियो जीवन । भोक लागे रोइदिए पुग्थ्यो । कुनै दायित्वको बोझाले टाउको थिचिसकेको थिएन ।

छ वर्षको उमेरमा पिताजीले गाउँको धुले पाठशालामा नाम दर्ता गराइदिनु भयो । पढाइ त सात कक्षासम्म चल्थ्यो । तर, हामी बालवर्षका कलिला नानीहरूलाई अक्सर धुलोमा, कहिलेकाहीँ सल्लाका सादा फल्याकमा राखेर क, ख, ग घोकाइन्थ्यो । काठका फल्याक सीमित संख्यामा थिए, अलिक बलिया–बाङ्गा र माप्पाका केटाहरूले कब्जामा लिन्थे । लुते लाङग्रेहरू त सदादिन धुलोमा बस्नुपर्थ्यो । काठको पाटी र कमेराको मसीदानी त्यतिखेरका मुख्य पाठ्य तथा लेख्य सामग्री थिए ।

किशोर–वयका झण्डै आठ वर्षका स्वर्णिम पलहरू पाठशालाको प्राङ्गण, कक्षाकोठा र भस्मेका जंगलमा छरिएर बित्यो । दिनको एक हिस्सा स्कुलमा बितेपनि अर्काे हिस्सा घाँस काट्न, गाई–बाख्रा चराउनमा बित्थ्यो । जीवनका अनगिन्ती पलहरू सिस्नेरी र मार्से खोलाको चेपमा हरियो घाँस खोज्ने क्रममा बित्यो । छाङ्गे खोला र तुतुर्रे खोलामा मुसे–खरुकी खुर्किनुमा बित्यो । खिर्राबोटे, मौबोटे, नाखुरे, चिउरीबोट, साल्बोटे र हर्राबोटेका पाखामा बाख्रा चराएर बित्यो । मरडाँडा र कडुजे पाखामा गाईका पुच्छर निमोठेर बित्यो । 

गाउँमा हाईस्कुल नभएको कारणले चौध वर्षको उमेरमा घर छाडेँ । त्यसपछि सुरु भयो, जीवनको साँचो संघर्ष । बिहान बेलुकाको दुई छाक भात पनि कमाउनु थियो, आफ्नो स्कुलको पढाइलाई पनि निरन्तरता दिनु थियो । सन्तुलन मिलाउन मलाई कम्ति हम्मेहम्मे परेन । कठिन श्रम गर्दै जेनतेन पढाइ अघि बढ्यो । एउटा तितो अनुभूतिले हृदयलाई सधैँ डङ्क मार्छ– पूर्णकालीन विद्यार्थी बनेर पढ्ने दिन मेरो जीवनमा कहिल्यै उपस्थित भएन ।

भात पकाउनु, भाँडा माझ्नु, थाकल काट्नु, बाख्रा चराउनु, गाई–भैँसी चराउनु, केटाकेटीलाई ट्यूसन पढाउनु जस्ता विभिन्न श्रममूलक काम गरेर बित्यो, चौधदेखि वीस वर्ष वीचको समय । त्यो समय मेरो लागि कठिन साधनाको समय थियो । अनन्त दुःख र अभावका बीच पनि पढ्नु थियो । पढाइलाई टुंगोमा पुर्याउनु थियो ।

कतिपय समय यस्ता पलहरूसित पनि संघर्ष गर्नु पर्यो । झण्डै झण्डै पढाइबाट विमुख पार्ने विचलनका घडी पनि आए । तर, ती विचलनका घडीले मलाई गलाउन सकेनन् । पढाइबाट विमुख पार्न सकेनन् । भित्र दर्विलो इच्छाशक्ति र अटुट संकल्पले ती दुःखद् पलहरूलाई पराजित गरेँ ।

जब बीस वर्षको उमेरमा शिक्षण  पेशामा छिरँे, त्यसपछि जीवनले एउटा सुललित लय समात्यो । आर्थिक संकटबाट सिर्जित अभाव र अनिश्चिताहरू दूर भाग्न थाले । त्यसपछिको जीवन पूर्णरुपेण पढ्ने, पढाउने र लेख्ने काममै समर्पित हुन थाल्यो । अपितु जीवनको गोरेटोमा हिँड्दा हिँड्दै जिन्दावाद मूर्दावादका जुलुशहरूमा मुठ्ठी उचाल्दै राजनीतिका राजमार्गमा पछुवा भएर पनि धेरै पलहरू बितेछन् ।

एउटा सचेत नागरिकको हैसियतले अल्लारे उमेरका धेरै पलहरू परिवर्तनकारी राजनीतिक दर्शनका पोथा पढ्नुमा, सिद्धान्तका सूत्रहरूमा घोरिनुमा र त्यसको अनुयायी बनी सडक किनाराबाट ताली पिट्नुमा पनि समयको ठूलो हिस्सा बितेछ । धेरै त कालोपाटीमा अक्षर बनेर छरियो जीवन । शब्द र संकथनहरूमा उनियो जीवन । नानीहरूलाई अनगिन्ती कथा भनेँ । जीव जनावरका कथा हालँे, चराचुरुङ्गी र किटपतङ्गका कथा हालेँ, मान्छेका कथा हालेँ । देवता र दानवका कथा हालेँ । कक्षाकोठामा पनि एक कथावाचकको रुपमा जीवनलाई छरिरहेँ ।

कथा हाल्ने क्रममा हरोद, हिटलरमात्र सुनाइनँ, बुद्ध र वोधी धर्म पनि सुनाएँ । चङ्गेज खाँ, तैमुर र मुसोलिनीमात्र सुनाइनँ, मार्क्स र गान्धी पनि सुनाएँ । बावर वकासुर मात्र सुनाइनँ, विदुर विनोवा भावे पनि सुनाएँ । मानव सभ्यताका नायकी भूमिकामा आएका पात्रहरू पनि कथामा सुनाएँ, खलनायकी भूमिकामा आएका पात्रका पनि कथा हालेँ ।

कविताको सुर, ताल र लयमा पनि पोखियो अलिकति जीवन । विम्बमा अर्थका सुसेलीहरू हालियो । प्रतीकमा अर्थका संकथनहरू फुकाइयो । चक बनेर चकसितै कालोपाटीमा घोटियो जीवन । अक्षरको उज्यालो बनेर ममवत्ती जस्तै बस्ती बस्तीमा पग्लियो जीवन । विगत तीस वर्षदेखि त दैनिक जीवनका अधिकाँश हिस्सा अध्ययन–अध्यापनको अटल गरिहराइमा डुबुल्की लाउनुमा बित्यो ।  शास्त्र र सिद्धान्तका रौँचिरा रेसा केलाउनुमा छरिएर बित्यो । रोजीरोटीको भाते–धन्दामा अल्झिएर पोखिएका पलहरू पनि छन् मसित । हाडतोडा श्रमपछि विश्रामको गहिरो भाते–निद्रामा निस्लोठ सुतेर पनि बिते धेरै पलहरू ।

राग र वियोगका रोदनमा डुबेर बितेका पलहरू पनि छन् । अइया आत्थोका तड्पनमा, वह–वेदनाको चित्कारमा अनेकौँ चोटि दुःखेका पलहरू पनि छन मसित । आफ्ना लागि कम अरुकै लागि बढी कुदाकुद गरेको, कुदाकुदमात्र होइन, त्यसमा घोटिएर, नाथिएर, खिइएर, विलिएर सकिएका पलहरू पनि छन् । यसरी नै आधा शताब्दीको मोटो आयु–किताब पन्ना–पन्ना उक्किएर, च्यातिएर सकिएको यथार्थ पनि छ मसित । मेरो हातमा पन्ना सक्किएर बाँकी रहेका स्टीचका खिलकाँटी मात्र बाँकी छन् ।

यसै बीचमा एकबाट दुई भइयो  । दुईबाट चार भइयो । निर्मोही एकल जीवनको परिसीमा तोडेर संसारी जीवनमा हाम फालियो । अर्थात् गृहस्थ जीवनको वेडा उठाइयो । परिवार बालबच्चाहरूको लालनपालन, शिक्षा, स्वास्थ्यको खातिर गच्छेअनुसारको कमाइ गर्नै पर्यो । उनीहरूको पेट भोको रहन दिनु भएन, आङ्ग नाङ्गो राख्नु भएन । अक्षर र औषधिको पनि जोहोजतन गर्नै पर्यो । त्यसकै लागि कर्मक्षेत्रमा नारेको गोरु जस्तो मेलोमा डटिरहियो, डटिरहियो । घामपानी भोक–तिर्खा केही नभनी काम भन्दा ठूलो के छ ? यही मूलमन्त्र मनमा बोकेर पाठशाला धाइरहियो, धाइरहियो ।

सुदूर गन्तव्य ताकेर हिँडेको यात्री आज पनि यात्राको प्रारम्भिक खुट्किलोमै अल्झिरहेको छु । मञ्जिल टेक्नुको सुखले भन्दा हिँड्नुको मजाले जितिरहेको छ मलाई । र, त यसै आनन्दले हिँडिरहेको छु लगातार । यात्राका क्रममा आएका कष्टलाई पानी ठानेर पिइरहेछु । जीवनका कठिन दर्दहरूलाई काँक्रो ठानेर चपाइरहेछु । यसरी वेगिन्ति पाइला हिँड्दाहिँड्दै बाटामै छरिएर बिते ।

  जीवन एक यात्रा हो । पटक पटक बिसौनीहरूमा टेकान लाउनुपर्छ । थकाइ मार्नुपर्छ । दोबाटो–चौबाटोमा चौतारी र विश्रामालयहरूमा सुस्ताएर पनि बित्यो जीवन । सुस्केरामा सुसेलिएर पनि सकियो जीवन । कसैलाई कुर्दा–पर्खिंदामा पनि जीवनका अनमोल पलहरू खर्च भएका छन् ।

पचास वर्षका पलहरू चिन्ता र अवसादमा फँसेर मात्र बितेनन्,  आनन्द र मगनमस्तीमा लवलीन भएर पनि बितेका छन् । कतिपय वेला निरर्थक बहस र बेकार माथापच्चिसीमा पनि फँसिएको छ । अनावश्यक तर्कवितर्क र पोचा गफमा छरिएर पनि समय फाटेको छ । अनुत्पादक र सृजनविहीन भएर सक्किएका पलहरूले अहिले पनि मलाई पश्चातापको पञ्चाग्नि तपाउँछन् । तर, त्यसप्रति कुनै खेद छैन, खिन्तता छैन । त्यसले पनि मलाई केही न केही सिकाएर गएको छ । अजम्मरी अक्षरहरू पढाएर गएको छ । अक्षय अनुभूतिहरू हृदयमा लिपिवद्ध गरेर गएको छ । निस्सार पलहरूले पनि सारलाई समात्न सघाएका छन् । निरर्थक बितेका दिनहरूले पनि आगतलाई सार्थक पार्न सहयोग गरेका छन् ।

अहिलेसम्मको जीवनका केही पलहरू अक्षर–यात्रामा टुकुटुकु हिँडेर पनि बितेका छन् । अक्षरमा छरिएर बितेका पलहरूले सर्वाधिक सुखद अनुभूति दिने गर्छन् । अनूभूतिहरू अक्षरमा छरिँदा, शब्दहरूमा उनिँदा अनिर्वचनीय आनन्दले छोप्ने गर्दछ । वाक्य र संकथनमा संश्लेषित भएर बगेका पलहरूले अप्रतिम सुख दिने गर्छन् । तर, दुःखको कुरा अक्षर साधनाको निम्ति अवकाश कम छ । अनेकन सुसे धन्दाले लुछ्तालुछ्दै बाँकी रहेको थोरै समयमात्र यसमा लगानी गर्न पाएको छु ।

अनेकन याचकका दुनाटपरीमा भाग लाउँदा लाउँदै बाँकी रहेको एक सानो बोहोता भरिको समय अक्षर–आराधनाको लागि चढाएको छु । सबैभन्दा सुन्दर समय त त्यो लाग्छ– वृद्ध पिताजीका नङ काटिदिएका पलहरू, उहाँलाई बच्चालाई जस्तो नुहाइदिएमा पलहरू, तेल मालिस गरिदिएका पलहरूले अहिले पनि मलाई आनन्द दिन्छन् । पिताको सेवा र स्याहारमा बितेका पलहरू जीवनको सार्थक पल ठानेको छु ।

समय लामो छ । तर, मान्छेको स्मृति असाध्यै छोटो छ । अल्पकालीन छ । जीवन अरु कहाँ कहाँ छरियो त ? मेरो अहिले सम्मको चेतनाले ठीक ठीक हिसाब गर्न पनि पाएको छैन । सबै पलहरूको एक एक हिसाब निकाल्न पनि गाह्रो छ । अतितका सारा पलहरू, अनुभूतिका अनेकन पुञ्जहरू अचेतन मनको भण्डारमा त सुरक्षित बास बसे होलान् । तर, मेरो चेतन मगजमा थोरै चिजमात्र बाँकी छन् । सघन अनि गाढा मसीले कोरिएका कथामात्र बाँकी छन् ।

जीवनका सबै स्मृतिहरू युग युग नेमटिने ढुंगामा कोरिएका अक्षर जस्ता हँुदैनन् । कुनै स्मृति हावामा कोरिएको अक्षर जस्तो छ त कुनै स्मृति पानीमा कोरिएको अक्षर जस्तो छ । त्यस्तै, कुनै स्मृति बालुवामा कोरिएको अक्षर जस्तो छ । हावामा कोरिएको अक्षर भन्दा थोरै मूर्त देखिन्छ, पानीमा कोरेको अक्षर । पानीमा कोरेको अक्षरभन्दा निकै मूर्त र चीरकालीन हुन्छ, बालुवामा कोरेको अक्षर । त्यस भन्दा पनि अझ मूर्त र अजम्मरी हुन्छ, ढुंगामा कुँदिएको अक्षर । पत्थर भई कुँदिने खालका अनुभूतिका चाङहरू त अझसम्म पनि सिलो खोज्दा भेटेको छैन मैले । मेरो मगजमा उत्रिएको बालुवामा कोरिएका अक्षर जस्ता छरिएका जीवन–पलका सानो फेहरिस्त हजुरसामु अर्पण गर्ने धृष्टता गरेँ । आज यतिमै विराम लिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप