मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लविवमा रुसको मिसाइल हमला, के पुटिनले फेरिरहेका छन् आफ्नो रणनीति ?

शनिबार, ०५ चैत २०७८, १० : ३३
शनिबार, ०५ चैत २०७८

शुक्रबार बिहान लविवमा तीन ठूला बिस्फोट हुने बित्तिकै आपतकालीन सेवाका वाहन साइरन बजाउँदै घटनास्थलतर्फ दौडन थाले । यो हमलामा रुसको मिसाइलले पश्चिमी युक्रेनको लविव शहरमा एउटा विमान मर्मत प्लान्टलाई निशाना बनाइयो ।

मिसाइल हमलाको निशाना बनेको प्लान्ट शहरको केन्द्रीय इलाकाभन्दा ६ किलोमिटर मात्रै टाढा छ ।

राहतको कुरा के हो भने यो हमलामा कोही पनि घाइते भएका छैनन् ।

आखिर रुसले लविवलाई निशाना किन बनायो ? लविवमा हमला गर्नुलाई यो युद्धमा यति धेरै महत्व किन दिइएको छ ? के रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमलाको विषयमा आफ्नो रणनीतिमा परिवर्तन गरिरहेका छन्  ? आउनुहोस् यसबारे जानकारी लिऔँ ।

लविव शहर नजिकै भएको यो हमला अहिलेसम्मकै ठूलो हो । अहिलेसम्म युक्रेन युद्धमा लविवलाई छोइएको पनि थिएन । यो शहर युद्धबाट भागिरहेका मानिसका लागि सुरक्षित स्थल बनेको थियो ।

साथै, लविव युक्रेनका लागि मद्दत पुर्याउने महत्वपूर्ण बाटो पनि बनेको छ । हज्जारौँको संख्यामा यहाँ युद्धबाट भागेर आएर मानिसले शरण लिएका छन् ।

अन्तर्राष्ट्रिय मानवाधिकार समूह पनि यहाँबाटै युक्रेनमा मद्दत पठाइरहेको छ ।

युक्रेनमाथि रुसको आक्रमणपछि नै पश्चिमी युक्रेन पूर्वी युक्रेनको तुलनामा केही शान्त थियो ।

रुसले तीन तिरबाट युक्रेनमाथि हमला गरेको थियो – उत्तर, पूर्व र दक्षिण दिशाबाट ।

यद्यपि, लविवजस्ता पश्चिमी शहर हमलाबाट परै थियो ।

तर अब लागिरहेको छ कि स्थिति र रुसको रणनीति फेरिइरहेको छ । आइतबार मात्रै रुसले लविव नजिकै एक सैन्य प्रशिक्षण स्थलमा ठूलो हमला गरेको थियो ।

८२ वर्षका वेलेन्टाइन वोवशेन्कोले समाचार एजेन्सी एएफपीसँग भने, ‘यहाँ हरेक बिहान हवाई हमलाको चेतावनी दिने अलार्म बजिरहन्छ तर अब साँच्चै नै हमला हुन थालेका छन् ।’

उनी भन्छन्, ‘हामी किभबाट भागेर लविव पुगेका थियौँ तर अब यहाँ पनि हमला सुरु भएको छ ।’

शहरका मेयर आन्द्रे सादोवीले मिलिट्री एयरक्राफ्ट मेन्टेनेन्स प्लान्टको क्रुज मिसाइल हमलाले नष्ट भएको पुष्टि गरेका छन् ।

यो प्लान्ट यतिबेला चलेको थिएन र यो लविवको अन्तरराष्ट्रिय हवाई अड्डा नजिकै छ ।

यद्यपि, मेयरका अनुसार हमलामा अन्तरराष्ट्रिय हवाई अड्डामा कुनै हानी भएको छैन ।

युक्रेनको वायुसेनाका अनुसार ब्ल्याक सीको तर्फबाट कुल ६ क्रुज मिसाइल दागियो जसमध्ये दुईलाई हावामा नै खसालियो ।

रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका पूर्व निर्देशक प्राध्यापक माइकल क्लार्कले बीबीसीसँग भने, ‘रुसका यस्ता संरचनालाई निशाना बनाइँदैछ जुन युक्रेनको विमानलाई उडान भर्न मद्दत गरिरहेका छन् ।’

लविव पोल्याण्डको सीमाबाट ८० किलोमिटर मात्रै टाढा छ । पोल्याण्डमा युक्रेनबाट भागेर अहिलेसम्म करिब २० लाख शरणार्थी पुगिसकेका छन् ।

प्राध्यापक क्लार्कका अनुसार हमलाको निशाना बनेको स्थल पोल्याण्ड बोर्डर नजिकै छ र यसलाई पश्चिमी देशका लागि एउटा चेतावनी जस्तो पनि देख्न सकिन्छ ।

उनी भन्छन्, ‘युक्रेनलाई भद्दत नगरोस् भनेर यो पश्चिमलाई डर देखाउने एउटा प्रयास हो ।’

बेलायतको सैन्य मामिलाका मन्त्री जेम्स हिप्पीले बीबीसीसँग भने, ‘एक अर्काको सप्लाई लाइनलाई निशाना बनाउनु युद्धको हिस्सा हुन्छ । तर वास्तविकता यो हो कि यो नयाँ घटनाक्रमले पश्चिमी युक्रेनमा बसिरहेका मानिसलाई चिन्तित बनाइदिएको छ ।’

उनका अनुसार बेलायत युक्रेनको सैनिकलाई स्टारस्ट्रिक एन्टी एयरक्राफ्ट मिसाइल सिस्टमको प्रशिक्षण दिने प्रक्रियामा छ र यो प्रणाली तुरुन्त प्रभावले युक्रेन पुगिरहेको छ ।

यस्तै, शुक्रबार युक्रेनका थुप्रै अन्य ठूला शहरमा नयाँ हवाई हमला भएका छन् ।

दक्षिणी शहर क्रामेटोस्र्कमा एक मिसाइल हमलामा दुईजना मारिए र ६ जना घाइते भए ।

यस्तै, राजधानी किभमा खसालिएको एक मिसाइल आवासीय इलाकामा खस्यो जसमा एक व्यक्तिको मृत्यु भयो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप