ज्ञान उदासको समग्र के हो ?
मेरा केटौले बेलादेखिका साथी कवि ज्ञान उदास अहिले सत्तरी–उत्तर कालमा किञ्चित झुक्न खोजेको जिउ र एक जोर कविका तेजिला आँखाले दीप्त अनुहार लिएर मेरोमा आइपुग्दा मलाई थाहा हुन्छ, यिनले कविताकै कुरा गर्नेछन् । पहिले यिनले जीवनका पछिल्ला वर्षहरूमा एउटा अरूले गरिदिनु पर्ने काम आफैँ गरे । आफ्ना भएभरका कविता भेला गरेर यिनले प्रकाशन गर्ने अभियान चलाए । प्रत्येकमा मैले केही लेख्नुपर्छ भन्ने यिनले नियमै बनाए । त्यो अत्यन्त स्वाभाविक पनि हो । किनभने यिनलाई थाहा छ, यिनका कविताका शान्त र हुरी चल्ने पखेरा र बारीहरूसँग म जति अरू थोरै मानिस मात्र परिचित छन् भन्ने यिनको विश्वास छ । मेरो पनि त्यही विश्वास छ । मैले यिनका दुईवटा प्रतिनिधि सङ्कलनमा भूमिका लेखिसकेँ । ती सायद कहीँ सङ्कलित हुनेछन् । जे भए पनि यहाँ तिनका केही अनुच्छेद निकालेर राख्नु उपयुक्त हो भन्ने मलाई लाग्छ । यो ज्ञान उदासको परिचयको पाटो–चित्र हो, जसलाई कलासमीक्षक भिन्यात् भन्छन् । ज्ञान उदासका कविता सङ्ग्रह (२०७१) भन्ने पहिलो सङ्कलनमा यस्ता हरफहरू लेखेँ–
“मेरा स्कुल समयदेखिका साथी र कवि ज्ञान उदास समयको एउटा खाली ठाउँबाट एक दिन मेरो काठमाडौं बासस्थानमा मानौ उन्नाइसौँ शताब्दीको सुरुकै अमेरिकी कथाकार वासिङ्टल इर्भिङका विख्यात पात्र रिप्भान् विङ्कल जस्तो अकस्मात आइपुगे ।...ज्ञान उदासको सधैँ गम्भीर, लामो स्वतन्त्र जीवनयापन गर्ने शैलीको छाप बसेको, केही रेखाहरू बस्न थालेको अनुहार, हाम्रो बेलामा भनिने कविका जस्ता केही अद्र्धमुदित आँखा, निदारमा शाश्वत टीका र किञ्चित उमेरमा अब उत्तराभिमुख कलेवर भएको व्यक्तित्व देखेर म झस्केँ । मेरो आँगनमा त्यो चिसो र सफा बिहान हामी दुई दर्पण मौन उभियौँ । अनि भाषाहीन म तिनलाई अँगालो मार्न पुगेँ ।”
उनको भूमिका लेखिसकेपछि त्यहाँ नपरेका कुरा मैले मेरो अनियमित लेखिने डायरीमा टिपेँ । त्यसमा लेखेँ, सार मात्रै राख्छु, ज्ञान उदास कविता लेखेर जतनले राख्ने मानिस हुन् । कविता सङ्कलन र तिनको प्रकाशनका योजना र नालीबेली सुनाउने क्रममा उनी पुराना फाइल पल्टाउँछन् । हाम्रो समयका पाता छेडेर राख्ने फायलका जिब्रीहरूमा ती कविता उनिन्छन् । यस्तो लाग्छ मानाँै यी कवि ती कविता होइन, अमूक सङ्ग्रहालयका फायल निकालेर पञ्जीकृत गर्दैछन् । हेरिबस्छु, तिनको यो साधारण लाग्ने क्रियाकलापमा नेपालमा कविता र तिनका प्रकाशनपूर्वका प्रपञ्चहरूको प्रस्तुति भइरहेको छ । कवि ज्ञान उदास एक झोलामा आफ्ना कविताको आर्काइभ बोकेर हिँड्छन् । ती कविताहरूले अनेकौँ काल बुझाउँछन् । एकथरि कविता धेरै वर्षअघि जसरी ‘दुई नम्बरका कापी’ का पातामा सारिए त्यस्तै अवस्थामा हुन्छन् । अर्कोथरि उनले मुद्रण टेक्नोलोजीको बलियो प्रयोग गरेको अवस्था देखाउँछन् । उनको दोस्रो कविता सङ्ग्रह मेरो हराएको कविता : पुरानो कविताको सँगालो (२०७३) मा मेरा तलका हरफ छाप्छ–
कवि ज्ञान उदासले यो विश्वास, यो संस्कारलाई एउटा मुद्रण रूपमा नै आकार दिएका छन् । स्रष्टा–हस्ताक्षर (२०७४) उदासले साहित्यकार भनेर मानेका व्यक्तिहरूको हस्ताक्षर सङ्कलन र छोटो परिचय दिएकोे ग्रन्थ हो । यसभन्दा पहिले पनि यिनले लेखकका हस्ताक्षर र परिचयको सङ्कलन गरेर किताब निकालेका छन् ।
“पातलो कागतमा टायप गर्दा काटिएर दुलो परेका कविता ज्ञानले झिकेर हामीलाई सुनाउँदा हामी त्यो टङ्कन टेक्नोलोजी प्रयोग गर्न नजान्नेहरू धरानमा भेला हुने चिया अथवा पदार्थ (ज्ञान रक्सीलाई त्यसो भन्थे) सेवन गर्ने पसलमा चकित परेर सुन्थ्यौँ । ती पचास प्रतिशत दुलो भएका अक्षरहरूको पारदर्शिता जीवनसँग सम्बन्धित थियो, कागतसँग थिएन । ज्ञानको यो कुराले प्रभावित भएको छँदो मैले पछि नेपाली टायपराइटर जोडेर त्यसबाट आफ्ना कविता टायप गरेँ । म पनि अक्षरबाट आकाश देखिने कविताका पाता लिएर साथीहरूलाई सुनाइबस्थेँ । आज साइबर संस्कृतिमा हुर्केकाहरू टाइप गर्ने बित्तिकै तिनका अक्षरका झ्यालबाट विश्व हेर्छन् । ज्ञान र हामीले काटेका अक्षरका प्वालबाट हामी चेतना, काव्य र जीवनको उसपार हेर्थ्यौँ । त्यो हाम्रो साइबर संस्कृतिको जननी चेतना थियो, जुन बेला क्यानाडाका मास् मिडिया–गुरु मार्सल मक्लुहान “मिडिया आफैँ नै यसको सन्देश हो” भन्ने सिद्धान्त जुटाउन आँधीजस्तो गरी छाएका थिए ।”
ज्ञान यस अर्थमा हाम्रोभन्दा तेजिलो मुद्रण स्पन्दन भएका मानिस थिए । यिनले छाप्नुपर्ने, प्रकाशन गर्नुपर्ने विषय कवितालाई मात्र मानेका थिए । यिनले सम्मान गर्ने मानिस कवि हुन् र सम्मान गर्नुपर्ने विधा कविता हो । कवि समाजमा एक हस्ताक्षर हो, अनि फ्रान्सेली दार्शनिक जाक डेरिडाले भनेजस्तो एक “ग्राम” वा लेख्य संस्कृतिको वाहक हो भन्ने धारणाले हाम्रो दक्षिण एसियातिरको साहित्य पनि प्रभावित हुँदै आएको हो । नेपालमा त कविलाई नै हस्ताक्षर भनेर सम्बोधन गर्ने चलन छ । जस्तो कि, उनी नेपाली कथाकी एक सशक्त नारी हस्ताक्षर हुन्, उनी अहिलेका एक आधुनिक कविताका बलिया हस्ताक्षर मानिन्छन् जस्ता अभिव्यक्तिहरू हाम्रो साहित्य लेखनमा साधारण उक्तिपद्धतिभित्र पर्छन्, जुन कुराले हाम्रो लेख्य संस्कृतिप्रतिको विश्वासलाई उजागर गर्छ । कवि ज्ञान उदासले यो विश्वास, यो संस्कारलाई एउटा मुद्रण रूपमा नै आकार दिएका छन् । स्रष्टा–हस्ताक्षर (२०७४) उदासले साहित्यकार भनेर मानेका व्यक्तिहरूको हस्ताक्षर सङ्कलन र छोटो परिचय दिएकोे ग्रन्थ हो । यसभन्दा पहिले पनि यिनले लेखकका हस्ताक्षर र परिचयको सङ्कलन गरेर किताब निकालेका छन् ।
ज्ञानले जिजीविषाको निम्ति सानातिना कर्म गरे, जुन सबैले गर्छौं । हामी पूर्व नेपालका चैनपुर (ज्ञान) र तेह्रथुम (म) मा हुर्किंदै पढ्दै आएका साधारण प्राणी हौँ । आफ्ना रुचिका कर्म गर्दै आयौँ । ज्ञान उदास र उनका कविताको विषयमा एउटा किताब निस्किँदैछ, केही लेख्ने हो कि भनेर मलाई सोधियो । मैले भने, मैले त लेखेकै छु ।
कवि ज्ञान उदास कविलाई समाजमा एउटा महत्त्वपूर्ण स्थान भएको व्यक्तिको रूपमा अङ्कित गर्न चाहन्छन् । साहित्यकारका आफ्नै हस्ताक्षरमा आफ्नो सही मात्र होइन, आफ्नो परिचय पनि लेखेको रमेशजङ्ग सिजापतिले तयार पारेको स्रष्टा र कलम (२०५७) देखि लिएर लेखकका परिचय कोश निकाल्ने कामहरू नेपाली साहित्यमा भएका छन् । ती ग्रन्थहरू मूलतः घटराज भट्टराई, जयदेव भट्टराई जस्ता लेखकले तयार गरेका र प्रकाशित भएका छन् । एकेडेमी, नइ प्रकाशन र अरू मैले नाम नसम्झेका प्रकाशनबाट र व्यक्तिका निजी प्रयासमा यस्ता ग्रन्थ प्रकाशित भएका छन् । यहाँ नामहरू लेखिएनन् । त्यसमा स्वाभाविक रूपले सबैभन्दा प्रमुख नेपाल एकेडेमीको नेपाली साहित्यकार–कलाकार परिचय कोश रहेको छ । तर ज्ञान उदासको लेखक हस्ताक्षरको अभियान उनको अत्यन्त निजी स्पन्दनसँग जोडिएको छ । उदासले लेखकहरूको परिचयमा तिनको हस्ताक्षर र तिनको निजत्व झल्किने केही अभिव्यक्ति हुनुपर्छ भन्ने मानेका छन् । उनको विचारमा सााहित्य र समाजको त्यसैबाट सम्बन्ध बुझिन्छ भन्ने धारणा पनि यसबाट प्रस्ट हुन्छ ।
अन्त्यमा, ज्ञान उदासको समग्र के हो भन्ने आफ्नै प्रश्नको छोटो उत्तर लेख्न चाहन्छु । ज्ञान उदास कुनै प्रयोगवादी, बौद्धिकतावादी, गुटवादी वा ‘एलिटिस्ट’ तप्काका कवि होइनन् । सरलता र इमान्दारिता उनको लेखन र व्यक्तित्वको परिचायक हो । त्यस अर्थमा तिनले जे लेखेका छन्, त्यो उनको जीवनकै पाटो हो । कविता जीवन बाँच्नलाई अपरिहार्य छैन । तर एक सर्जकले जीवन भोग्ने क्रममा जीवन र जगत्लाई जुन संवेदनाले चिन्छ, त्यो लेख्ने उसको आफ्नो कर्म हो र सन्तोष हो । ज्ञान उदासले काव्य साधना गरेको काल सरसरती हेर्ने हो भने यसो भन्न सकिन्छ । तिनले आधुनिक वा मोडर्निस्ट, अनि सरलतावादी, प्रगतिवादी आदि सबै काल भोगे । तिनले युग सकियो, अब लेख्ने केही रहेन पनि भनेनन् र कुनै बहानाबाजी पनि गरेनन् ।
ज्ञानले जिजीविषाको निम्ति सानातिना कर्म गरे, जुन सबैले गर्छौं । हामी पूर्व नेपालका चैनपुर (ज्ञान) र तेह्रथुम (म) मा हुर्किंदै पढ्दै आएका साधारण प्राणी हौँ । आफ्ना रुचिका कर्म गर्दै आयौँ । ज्ञान उदास र उनका कविताको विषयमा एउटा किताब निस्किँदैछ, केही लेख्ने हो कि भनेर मलाई सोधियो । मैले भने, मैले त लेखेकै छु । तर पछि सम्झेँ ज्ञान उदासको समग्र के हो भन्ने विषयमा केही लेख्नु राम्रो होला । त्यो समग्रलाई मैले आफूले लेखेका पूर्व लेख र अहिलेको मेरो ज्ञान उदासको जीवन र काव्यसाधनाको विषयका भनाइ राखेर यो छोटो लेखमा प्रस्तुत गर्ने प्रयास गरेको हुँ ।
मेरा मित्र कवि ज्ञान उदासलाई शुभकामना !
मण्डिखाटार, काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र