बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेले जितेका महानगर र उपमहानगरमा माधव नेपालको दाबी

शनिबार, ०५ चैत २०७८, ०७ : ११
शनिबार, ०५ चैत २०७८

काठमाडौँ । आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारेको छ । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूले टिकट पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ । 

चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् । मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । जसअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ । 

चुनावी मिति नजिकिँदै गर्दा प्रायः सबैजसो राजनीतिक दलहरू उचित उम्मेदवारको खोजी गर्दै ती तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित गाउँ–गाउँमा पुगेर समग्र अवस्थाको रिपोर्टिङ लिने र जीतको कसरतलाई तीव्रता दिइरहेका छन् ।

यसक्रममा काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्रबाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन् । 

काठमाडौँ, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकाका मेयर र उपमेयर पदमा गठबन्धन र तालमेलका आधारमा उनीहरूले उम्मेदवार छान्ने भएकाले पनि आगामी ५ वर्ष स्थानीय सरकारको नेतृत्वका लागि दलहरूले कस्ता कस्ता उम्मेदवार तय गर्छन् र कुन पार्टीले कोसँग तालमेल गर्छन् भन्ने निर्क्योल गर्न भने केही समय कुर्नुको विकल्प छैन ।

आगामी वैशाख ३० को निर्वाचनमा प्रतिपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने सम्भावना बढी देखिएको छ । यद्यपि सत्तारुढ दलहरूले चुनावी तालमेलको स्पष्ट खाका भने बनाइसकेका छैनन् ।

अघिल्लो चुनावको तुलनामा यसपटक दलहरूबीचको चुनावी तालमेल फरक ढंगले हुने भएकाले पनि महानगरको निर्वाचनलाई राजनीतिक नेताकार्यकर्ताका साथै सामान्य मतदाताले समेत महत्त्वका साथ हेरिरहेका छन् । सत्ता गठबन्धनबीच हुने चुनावी तालमेलका क्रममा पनि ०७४ मा नेकपा एमालेले जितेका महानगर र उपमहानगरमा नेकपा समाजवादीले नछोड्ने सो पार्टीका एक शीर्ष नेताको दाबी छ ।

०७४ को गणित

गत निर्वाचनमा एमालेले जितेका काठमाडौँ र पोखरा महानगरपालिकामा यसपटक एमालेबाटै फुटेको नेकपा एकीकृत समाजवादीले दाबी गर्ने भएको छ ।

धेरै मतदाता रहेकाअनि विकास र सुविधाका हिसाबले पनि अगाडि मानिने महानगरमध्ये २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले काठमाडौँ र पोखरा महानगरको मेयर जितेको थियो । यी ६ वटा महानगरमध्ये एमालेले जितेका काठमाडौँ र पोखरामा गठबन्धनका तर्फबाट आफ्नो दलले टिकट पाउनुपर्ने एकीकृत समाजवादीका एक नेताले रातोपाटीलाई बताए ।

यसअघि वीरगञ्जमा जसपाले जितेको थियो भने चितवनमा माओवादी केन्द्रले काँग्रेससँग मिलेर जितेको थियो । विराटनगर र ललितपुर महानगरमा नेपाली काँग्रेसका उम्मेदवारले निर्वाचन जितेका थिए । यी महानगरमा पहिले जसले जितेको हो, उसैलाई दिन गरी तालमेल गर्नुपर्ने एकीकृत समाजवादीको प्रस्ताव छ ।

६ महानगरमा ०७४ को नतिजा

‘अहिलेसम्म ५ दलीय सत्ता गठबन्धनबीच नै चुनावी तालमेल हुने कुरा छ । तर, अहिले नै महानगर र उपमहानगरबारे भागबण्डा भइसकेको भने छैन’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट ती नेता भन्छन्, ‘५ दलीय गठबन्धनबीच तालमेल भएमा हाम्रो पार्टीले यसअघि एमालेले जितेका महानगर र उपमहानगरमा स्वतः दाबी रहन्छ । यसमा गठबन्धनभित्र एकसरो चर्चा पनि भैसकेको छ र लगभग सहमतिकै अवस्था छ ।’

स्रोतका अनुसार एकीकृत समाजवादीले काठमाडौँ महानगरमा मेयरका लागि ईश्वरमान डंगोललाई अघि सार्दैछ भने पोखरा महानगरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निश्चित जस्तै छ । दुई महानगरमा मेयर आफूले लिएर एकीकृत समाजवादीले उपमेयर पदमा भने गठबन्धनका अन्य दललाई सघाउने सो पार्टीका नेताहरु बताउँछन् ।

उपमहानगरमा पनि महानगरकै ‘थ्योरी’

एकीकृत समाजवादीका ती नेताका अनुसार देशभरिका ११ उपमहानगरपालिकामध्ये एमालेले जितेका सातवटा उपमहानगरपालिकामा पनि नेकपा एसले मेयरको दाबी गर्ने तयारी गरेको छ । उनका अनुसार उपमहानगरमा उम्मदेवारहरुको टुङ्गो लगाउन भने बाँकी नै छ ।

एकीकृत समाजवादीका नेताका अनुसार उपमहानगरका सम्भावित उम्मेदवारबाट चैत दोस्रो साताभित्र टुङ्ग्याउने पार्टीको तयारी छ । सातै प्रदेशको वस्तुस्थिति बुझ्न सो पार्टीले बिहीबार मात्रै केन्द्रीय नेताको नेतृत्वमा अनुगमन टोली खटाएको छ ।

‘सातै प्रदेशको रिपोर्टिङ सकिएपछि कुन तहमा कसरी अघि बढ्ने भन्ने निश्चित हुन्छ’, एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले रातोपाटीसँग भने ।

नेकपा एमालेले ०७४ को निर्वाचनमा ११ मध्ये सात उपमहानगरको मेयर पद जितेको थियो । देशभरिका उपमहानगरमध्ये एमालेले मेयर जितेका उपमहानगरमा धरान, इटहरी, घोराही, तुलसीपुर, बुटवल, हेटौडा र जितपुर सिमरा हुन् । धरानमा भने सुरुमा एमाले उम्मेदवारले जिते पनि पछि भएको उपनिर्वाचन काँग्रेस उम्मेदवारले जितेका थिए ।

११ महानगरमा ०७४ को नतिजा

‘पहिला हामीले २ महानगर र सात उपमहानगर जितेका थियौं, ती स्थानमा हाम्रो स्वतः दाबी हुन्छ’, अध्यक्ष माधव नेपाल निकट एक नेताले रातोपाटीसँग भने, ‘गठबन्धन र तालमेल बन्दा पनि यो दाबीबाट हामी पछि हट्दैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप