आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडी एन्जिलाको जीवनमा फिल्म ‘अन्जिला’ बन्ने

शुक्रबार, ०४ चैत २०७८, १७ : ०१
शुक्रबार, ०४ चैत २०७८

महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’  बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने बताए । मन्त्री गहतराजले एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने    धारणा राखे ।  

फिल्ममा एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथा समेट्ने निर्देशक चाम्सले बताए । ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । फिल्मले खेलाडी बन्न प्रेरित गर्नेछ’  निर्देशक चाम्सले भने ।

एन्जिला पहिलो पटक अभिनयमा देखिन लागेकी हुन् । अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी उनी आमाका लागि फिल्ममा अभिनय गर्न लागेकी हुन् । आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो लागि ठूलो उपलब्धि भएको एन्जिलाले बताइन् ।

कार्यक्रममा अभिनेता दयाहाङ राई, निर्माता प्रेम कुमार श्रेष्ठ लगायतले खेलाडी एन्जिलाको चर्चा गरेका थिए । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्माता हुन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेको फिल्म आगामी जेठबाट छायांकन सुरु हुनेछ ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप