मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सफल हुन कामकाजी महिलाले हरेक बिहान यी ५ बानी अपनाउनुहोस्

शुक्रबार, ०४ चैत २०७८, १२ : २४
शुक्रबार, ०४ चैत २०७८

कामकाजी महिलाको जीवन थप चुनौतीपूर्ण हुन्छ । उनीहरुले घर र अफिस दुबै मिलाएर हिँड्नुपर्छ । दुबै स्थानमा आफ्नो उत्कृष्ट दिन चाहन्छन् । यस्तोमा उनीहरुलाई बिहान असाध्यै हतार हुन्छ । धेरै पटक ब्रेकफास्ट नगरीकन अफिस जान्छन् । कुनै एकदिन ब्रेकफास्ट वा व्यायाम छोड्नु त ठिकै हो तर नियमित यस्तो गर्दा तपाईंको स्वास्थ्य र करियर दुबैमा नकारात्मक असर पर्छ । यस्तोमा तपाईंको बिहान राम्रो तरिकाले व्यवस्थित हुन आवश्यक छ ।

भारतको दिल्लीस्थित काउन्सिलिङ साइकोलोजिस्ट डा. अञ्जुमन बेन्सले बिहानको व्यवस्थित बानीले करियरमा वृद्धिका लागि पनि सघाउ पर्याउने बताएकी छिन् । यसबारे उनी भन्छिन्, ‘हरेक महिलाको शेड्युल भिन्न हुनछ । यस्तोमा कुनै विशेष प्रकारको नियमलाई बिहान उठ्नका लागि अपनाउनुहोस् । तर यो साँचो हो कि जतिपनि सफल महिला छन्, उनीहरु अर्ली बर्ड हुन् । अर्थात्, बिहान सबेरै उठ्ने महिला ।’

बिहान यी पाँच बानी अपनाउनुहोस् र सफल बन्नुहोस्ः

बिहान छिटो उठ्नेः

धेरैजसो सफल महिलाको दिनचर्याबारे अनुसन्धान गर्दा यस्ता महिला बिहान छिट्टै उठ्छन् भन्ने थाहा हुन्छ । बिहान ६ बजेभन्दा अघि उठ्ने महिलालाई आफ्नो काम सिद्धाउन दौडादौड गर्नुपर्दैन । उनीहरुले कफी बनाउनेदेखि ब्रेकफास्ट बनाउनसम्म समय पाउँछन् । छिटो उठेर सबैभन्दा पहिला आफ्नो बेड मिलाउनुहोस् । तन्नादेखि छरपस्ट सामानलाई यथास्थानमा राख्नुहोस् । व्यवस्थित कोठा देख्दा तपाईंलाई सकारात्मक ऊर्जा मिल्छ ।

माइन्डफूल एक्सरसाइज गर्नुहोस्ः

बिहान छिटो उठ्ने महिला तनावमा जाँदैनन् किनभने बिहान छिटो उठ्दा उनीहरुले सबै काम भ्याएका हुन्छन् । बिहान यदि स्ट्रेस रह्यो भने पूरा दिन राम्रो हुँदैन र यसले काममा पनि असर पार्छ । बिहान उठेर माइन्डफूल एक्सरसाइज गर्नुहोस् । डा. अञ्जुमन बेन्सका अनुसार १०–१५ मिनेट कुनै प्रकारको माइन्डफुल क्रियाकलाप गर्नुहोस् । प्रार्थना, ध्यान जेसुकै गर्न सकिन्छ । दिमागको व्यायाम भएपछि शरीरको व्यायाम गर्नुहोस् र फिजिकल फिटनेसलाई समय दिनुहोस् ।

स्वस्थ ब्रेकफास्टः

बिहान छिटो उठ्ने, व्यायाम गर्ने र एक कप कफी वा चिया पिएपछि स्वस्थ ब्रेकफास्ट गर्नुहोस् । बिहानको ब्रेकफास्ट हेभी हुनुपर्छ ताकि छिटो भोक नलागोस् र पेटमा पनि स्वस्थ खाना पुगोस् । दिल्लीमा न्युट्रिशनिस्ट डा. शैली तोमरका अनुसार बिहानको ब्रेकफास्ट प्रोटिनले भरपुर हुनुपर्छ । बिहान प्रोटिनले भरपुर खानेकुराको सेवनले तपाईंलाई दिनभरी ऊर्जावान् राख्छ । कार्बोहाइड्रेट एकैछिनमा पच्ने गर्छ त्यसैले भोक पनि छिट्टै लाग्छ जबकी प्रोटिन बिस्तारै पच्छ र यसले अस्वस्थकर खानाको क्रेभिङ पनि कम गराउँछ ।

दिनको योजना बनाउनुहोस्ः

दिनभरी के गर्ने, त्यसबारे एउटा डायरी बनाउनुहोस् । यस्तो बानी जुन महिलामा हुन्छ, उनीहरुलाई सफलताबाट कसैले पनि रोक्न सक्दैन । डायरीमा दिनभरीको योजना लेख्दा सबैकुरा व्यवस्थित तरिकाले हुन्छ ।

राती सुत्नु अघि केही आवश्यक काम सिद्धाउनुहोस्ः

राती सुत्नुअघि, बिहान कुन कपडा लगाउने भन्ने निर्धारण गर्नुहोस् र के खाजा लिएर जाने त्यो पनि राती नै निश्चित गर्नुहोस् । केही खानेकुरा बेलुका नै बनाउन सक्नुहुन्छ र त्यसलाई तताएर अफिस लैजान सक्नुहुन्छ । अथवा, राती नै तरकारी काटेर ठिक्क पार्न सक्नुहुन्छ ।

यी तरिकाले तपाईं आफ्नो बिहान मात्रै होइन, पुरा दिन व्यवस्थित तरिकाले बिताउन सक्नुहुन्छ । दिन राम्रो हुन राती पनि मज्जाले निद्रा लाग्नुपर्छ । यी तरिका अपनाउँदा तपाईंको पर्सनल र प्रोफेसनल जीवन उत्कृष्ट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप