काँग्रेसलाई सत्ताबाट सडकमा पुर्याउन सक्छौं : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरुले सत्तामा पुर्याएको टिप्पणी गरेका छन् । तर, आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरे । उनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी समेत दिए ।
पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्याउने हैसियत आफूहरुको रहेकाले विचार गरेर बोल्न आग्रह गरे । ‘पाँच वर्षका लागि सडकमा पुगेको काँग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं । आज केही काँग्रेस नेताहरुमा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘काँग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ । यो काँग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’
उनले चुनावी गठबन्धनविरुद्ध रहेका काँग्रेस नेतालाई चार वर्षअघि फर्किएर ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए । आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने/के नबोल्नेबारे विचार गर्न उनले आग्रह गरे ।
पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हबिगतबाट पाठ सिक्न काँग्रेस नेतालाई सुझाए । ‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटक–पटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’ तर, आफ्ना हार्डकोर कार्यकर्ताबाहेक कसैले पनि ओलीप्रति सहानुभूति नदर्शाएको अवस्था काँग्रेस नेताले बुझ्नुपर्ने पुनले बताए ।
उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता