मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

बिहीबार, ०३ चैत २०७८, २० : ५७
बिहीबार, ०३ चैत २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । 

फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापू समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे । कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा राखे । 

पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उनले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताए । पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए । उनले भने, “कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै  कानुनबमोजिम कारबाही गर्छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप