शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

होली पर्व : कतै आज मनाइयो, कतै भोलि, कतै पर्सिमात्र

पर्व एउटै तर मनाउने दिन फरक किन ?
बिहीबार, ०३ चैत २०७८, २० : ४०
बिहीबार, ०३ चैत २०७८

होलीको रमझम कतै सकिएको छ भने कतै मनाउने तयारी हुँदैछ । हिमाली तथा पहाडी जिल्लामा बिहीबार होली मनाइएको छ । तराई मधेसमा भने शुक्रबार होली मनाइँदैछ । अझ, मिथिला क्षेत्रमा शनिबारमात्र होली मनाइने भएको छ ।

होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजितजस्तो देखिन्छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो ।

तर, तराई मधेसमा भने यसलाई ‘होली’ भनिन्छ । तराई क्षेत्रमा यो पर्व प्रतिपदाका दिन मनाउने गरिन्छ । पर्व एउटै भए पनि फरक फरक दिनमा किन मनाइन्छ होली भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल फरक–फरक दिनमा होली मनाइनुको कारण बुझ्नु अघि होली किन मनाउन थालियो भन्नेबारे बुझ्न जरुरी रहेको बताउँछन् ।

पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् । तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुशी आदानप्रदान गर्ने परम्परा सुरु भएको पण्डित पोखरेलको भनाइ छ ।

यस्तै, फागुन शुक्ल पूर्णिमा कै दिन द्वापर युगमा भगवान कृष्णलाई मार्न भनेर कंशले राक्षसरुपी पुतनालाई पठाएको र पुतनाले मान रुप धारण गरेर कृष्णलाई स्तनपानमार्फत विष पिलाएर मार्न खोज्दा पुतना आफै गरेको पौराणिक मान्यता पनि रहेको उनले सुनाए । भारतको मथुरा क्षेत्रमा भएको सो घटनाको सम्झना र पुतना मारिएको खुशीयालीमा मथुरा र आसपासका क्षेत्रमा होली मनाउन थालिएको र यो परम्परा विस्तार हुँदै गएको उनको भनाइ छ ।

पण्डित पोखरेलका अनुसार पुतना पूर्णिमाको रात मारिएकी हुनाले त्यसको खुशी भोलिपल्ट मनाउनुपर्छ भनेर मथुरा लगायत भारतका अन्य क्षेत्रमा प्रतिपदाका दिन होली खेल्ने गरिएको हो । यो परम्परामा टेकेर तराई मधेसमा पनि प्रतिपदाका दिन होली खेल्ने गरिएको उनले बताए ।

उनले भने, ‘एउटा कालखण्डमा एउटा बुझाइ भयो । पूर्णिमाका दिन भएको कुराको उत्सव पूर्णिमामै मनाउनु पर्छ भन्ने एउटा पक्ष र पूर्णिमामा भएको घटनाको खुशीयाली भोलिपल्ट पो मनाउनुपर्छ भन्ने अर्को पक्षको मान्यताका कारण बेग्लाबेग्लै दिन होली मनाउन थालिएको हो ।’

त्यसो त, तराई मधेसमै पनि मिथिला क्षेत्रको आफ्नै संस्कृति र परम्परा छ । मिथिला संस्कृतिका ज्ञाता डा. रामभरोस कापडी ‘भ्रमर’का अनुसार मिथिला क्षेत्रमा भने परिक्रमा यात्राका आधारमा होली मनाउने गरिन्छ । फागुन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने परिक्रमा यात्रा पूर्णिमामा टुंगिन्छ ।

धनुषाको हनुमाननगरबाट सुरु हुने परिक्रमा यात्रा भारत बिहारको कल्याणेश्वर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । यद्यपि अन्तगृह परिक्रमा गरेको भोलिपल्टमात्र विशेष रुपमा होली खेलिन्छ । धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै कल्याणेश्वर पुगेर परिक्रमा यात्री विश्राम गर्छन् । फागुन पूर्णिमाका दिन परिक्रमा यात्रीले जनकपुरको अन्तगृह परिक्रमा पूरा गरेपछि भोलिपल्ट होली मनाइने उनले बताए ।

होली मनाउने धार्मिक र ऐतिहासिक जग एउटै भए पनि संस्कृति फरक रहेको डा. कापरको भनाइ छ । उनका अनुसार जकपुरधाममा मध्यमा परिक्रमा भनेको त्यतिबेलाको मिथिला राज्यको परिक्रमा हो भने अन्तगृह परिक्रमा भनेको दरवारको परिक्रमा हो ।

उनले भने, ‘मिथिलामा अन्तगृह परिक्रमा नभइ होली खेल्ने परम्परा छैन ।’ अन्तगृह परिक्रमा शुक्रबारमात्र हुने भएको छ । त्यसैले यस वर्ष मिथिला क्षेत्रमा शनिबारमात्र होली खेलिने उनले बताए ।

‘स्थानीय पञ्चाङ्गका अनुसार बिहीबार पूर्णिमा ढिलो गरी सुरु हुने भएकाले शुक्रबार अन्तगृह परिक्रमा हुन्छ,’ उनले भने, ‘अनि त्यसको भोलिपल्ट अर्थात् शनिबारमात्र मिथिला क्षेत्रमा होली मनाइन्छ ।’

पर्व एउटै भए पनि आ–आफ्नो क्षेत्रको आ–आफ्नै संस्कृति र मान्यता हुने भएकाले सोही अनुसार फरक तिथिमा होली मनाउने गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप