रेल सञ्चालन अझै अन्योल, कर्मचारी बिनाकाम तलब खाँदै

फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि ‘ड्राइरन’ (यात्रुबिना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको छ ।
कुर्था–जयनगर ओहोरदोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न अब महिनाको १५ दिन (ड्रायरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
यता, रेल सञ्चालनका लागि माघमा रेलले विभिन्न पोस्टमा ६५ जना कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् । ‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भएपछि नियमति सेवा दिने अझ अन्योलमा पर्ने देखिएको छ ।’
जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । १४ माघमै रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएको उनले बताए । ‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउँछौँ ।’
‘ड्रायररन’ सफलतापूर्वक सञ्चालन भइरहे पनि जनचेतनाको अभाव देखिएको उनले बताए । ‘पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,’ उनले भने, ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ । खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।’
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । २ असोज २०७७ मा नेपाल सरकारले भारती रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव