आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रेल सञ्चालन अझै अन्योल, कर्मचारी बिनाकाम तलब खाँदै

बिहीबार, ०३ चैत २०७८, १८ : २२
बिहीबार, ०३ चैत २०७८

फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि  ‘ड्राइरन’ (यात्रुबिना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको  छ ।  

कुर्था–जयनगर ओहोरदोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न अब महिनाको १५ दिन (ड्रायरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । 

यता, रेल सञ्चालनका लागि माघमा रेलले विभिन्न पोस्टमा ६५ जना कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् । ‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भएपछि नियमति सेवा दिने अझ अन्योलमा पर्ने देखिएको छ ।’ 

जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । १४ माघमै रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएको उनले बताए । ‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउँछौँ ।’

‘ड्रायररन’ सफलतापूर्वक सञ्चालन भइरहे पनि जनचेतनाको अभाव देखिएको उनले बताए । ‘पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,’ उनले भने, ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ । खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।’

जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । २ असोज  २०७७ मा नेपाल सरकारले भारती रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप