शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

दैलेखका एमाले नेता भन्छन्– रातो झण्डाभित्र पनि हरिया सर्प बस्दा रै छन्

बिहीबार, ०३ चैत २०७८, १७ : ५१
बिहीबार, ०३ चैत २०७८

बुधबार सम्पन्न दैलेख एमालेको सातौं अधिवेशनमा अध्यक्ष पदमा पराजित नेता सूर्यबहादुर शाहीले बिहीबार बिहान सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनले ‘आगोको राप र तापबाट बचेर’ आफूलाई मत दिन आँट गरेका सबैलाई धन्यवाद दिएका छन् ।

‘हरियो घाँसभित्र मात्र हरिया सर्प हुन्छन् भन्थे तर रातो झण्डाभित्र पनि हरिया सर्प बस्दा रैछन्,’ उनले लेखेका छन्, ‘हरिया सर्पका नाइकेहरूलाई हार्दिक बधाई छ । सर्पहरुले आफूले गर्ने काम गर्दै जानु, मेरो साथ रहनेछ । मैले यदाकदा सुनेको छु– मेरो लागि के–के दिने कुरा दिँदै हुनुहुन्छ भन्ने । मेरो लागि सुरक्षित राख्नुभएको छ भने मलाई दिने बस्तु मलाई नदिनुहोला, आफैसँग राख्नुहोला । आफूले नराख्ने भए पनि अरु कुनै राजनीतिक पार्टीलाई दिनुहोला !’

शाहीले स्टाटससँग मिल्ने एउटा तस्बिर पोस्ट गरेका छन् । आगो बलिरहेको दृश्य रहेको उक्त तस्बिरमा सेतो पहिरनमा स्वयम् उनी आफै देखिएका छन् । उनको पछाडि मान्छेको भिड छ । उनको स्टाटस र तस्बिरले उनी पराजित हुनुको कारण मतदाता नभई पार्टीभित्रका नेता नै जिम्मेवार रहेको बुझ्न सकिन्छ । तिनलाई उनले ‘पार्टीभित्रका हरिया सर्प’ भनेका छन् ।

गत पुस अन्तिम साता भएको पार्टीभित्रको निर्वाचनमा उनको जित निश्चित भएको भन्दै कार्यकर्ताहरूले स्टाटस समेत लेखिसकेका थिए । तर मत पेटिकामा खसेको मतभन्दा ३१ मत बढी फेला परेपछि अध्यक्ष मण्डलमात्रै होइन, दलभित्रका नेताहरूमाथि कार्यकर्ताहरूले नैतिक प्रश्न उठाउन थाले ।

सहमतिको प्रक्रियाबाट नेतृत्व टुङ्ग्याउन नसकेपछि अधिवेशन सुरु भएको पाँचौं दिनमा निर्वाचन भएको थियो । जम्मा ७ सय २१ मतदातामध्ये ७ सय १७ जना मतदानमा सहभागी भएको रेकर्डमा रहे पनि मत पेटिकाभित्र ७ सय ४८ मत भेटिएपछि मतगणना रद्द गरिएको थियो ।

त्यतिबेला शाहीको जित निश्चित देखिएपछि अध्यक्षका अर्का उम्मेदवार (बुधबार विजयी) रविन्द्रराज शर्माले जालझेल गरेको चर्चा चलेको थियो । पार्टीको आन्तरिक चुनावलाई लिएर शाहीको प्यानलले खरो रुपमा प्रतिवाद गर्न सकेन । त्यतिबेला शाहीले कथित धाँधलीबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरेका थिए । अन्ततः निर्वाचन नै रद्द भयो । निर्वाचन रद्द भएपछि बुधबार पुनः निर्वाचन गराइयो, जसमा शाही पराजित भए । जिल्ला अध्यक्षमा शर्माले ४१४ मत प्राप्त गर्दै विजयी हुँदा शाहीले २६३ मत मात्र प्राप्त गरे ।

एमालेको दैलेख जिल्ला अधिवेशनको नतिजा, शाहीले लेखेका स्टाटस र पार्टीभित्र रहेको भनिएका ती ‘हरिया सर्प’ बारे रातोपाटीले सूर्यराज शाहीसँगै बुझ्ने प्रयास गरेको छ । सोही क्रममा उनीसँग संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ, उनका भनाइका सम्पादित अंश :

म ०४६ सालको कम्युनिष्ट आन्दोलनमा जेल चलान हुने पहिलो नेता हुँ । म जेलमै छँदा बहुदल आएपछि बाहिर निस्किएँ । ०५२ सालमा म जिल्लाको उपसचिव भएँ, त्यो बीचैमा भङ्ग भएपछि पनि सर्वसम्मत उपसचिव भएँ । ०६० सालमा तेस्रो पटक जिल्लाको सचिव भएँ । त्यसपछि पार्टीभित्रकै षड्यन्त्रकारी व्यक्ति, जो आज मैले स्टाटसमै भनेको छु नि ! रातो झण्डाभित्र लुकेका हरिया सर्पहरुले मलाई माओवादीले सघाएको सूचना निकाले । र, पार्टी केन्द्रले बोलाएपछि म काठमाडौंतिर लागेँ । त्यहाँ चार÷पाँच महिना बस्नुपर्दा ती हरिया सर्पहरुको नेतृत्वमा मलाई सचिवबाट हटाइयो । जिल्लामा फर्किसकेपछि खाली गरिएको कुरालाई लिएर संगठन विभागमा उजुरी दिन खोजेको थिएँ । तर त्यतिबेला राजा ज्ञानेन्द्रले आफ्नो हातमा सत्ता लिएका कारण मैले आफैले उजुर गरेर उता जानुभन्दा राजको विरुद्धमा लाग्नुपर्छ भनेर पार्टीभित्रको कुरालाई सहजताका साथ लिई आन्दोलनमा होमिए ।

अहिलेसम्म प्रदेश कमिटी सदस्य हुनेदेखि पटक–पटक जिल्ला कमिटीमा रहेर काम गरेँ । ०५४ सालमा एक कार्यकाल जिल्ला विकास समितिको उपसभापति भएर पनि काम गरेँ । ०७४ को चुनावमा प्रदेश सांसदको लागि जिल्लाबाट नाम सिफारिस भएको थियो तर केन्द्रबाट टिकट प्राप्त भएन । अहिले जिल्लाको अध्यक्षमा लडे, तर तिनै हरिया सर्पहरुका कारण पराजित भएँ । मतदाता मेरो पक्षमा थिए । उनीहरुलाई स्वतन्त्र रुपमा मतदान गर्न दिएको भए मेरो पक्षमा मत आउने कुरामा दुईमत नै थिएन । किनभने दैलेख जिल्लाको कम्युनिष्ट आन्दोलनलाई ठिक बाटोतिर लैजाने उद्देश्य मेरो पहिलेबाटै हो ।

तर विभिन्न समयमा अरुको ढोका ढकढक्याएर, पार्टी छाडेर, कम्युनिष्ट आन्दोलन नै बेठीक छ भन्नेहरूको हातमा जिल्लाको नेतृत्व गयो भने कम्युनिष्ट पार्टी (एमाले) रहँदैन । मैले नेतृत्व गरेँ भने कम्युनिष्ट आन्दोलनलाई सार्थक तुल्याउन सक्थेँ भन्ने उद्देश्यसहित अध्यक्षमा लडेको थिएँ । तर आफूलाई माथिल्लो स्तरको नेता सम्झिने पार्टीभित्रकै ३÷४ जना, पार्टीको रातो झण्डाभित्र लुकेका हरिया सर्पहरुको कारण पराजित भएको हुँ ।

ती सर्पहरुले योजना मसँग बनाए, कुरा मसँग मिलाए । मलाई सहयोग गर्छौं भने । म उनीहरुकै विश्वासमा परेँ ।  तर उनीहरुले मतदाताहरूलाई भित्री रुपमा कसेछन्, त्यो कुरा मलाई थाहा भएन । गत पुसमा शर्मा पक्षबाट पूरा सेटिङ भएको कुरा जगजाहेर नै छ । किनकि आधिकारिक अध्यक्ष त्यतिबेला उहाँ (शर्मा) आफै भएकाले सम्पूर्ण जिम्मेवारी उहाँलाई नै थियो । निर्वाचन रोज्ने पनि उहाँ नै । उहाँले नै योजनाबद्ध रुपमा षड्यन्त्र गर्नुभएको हो । आज मैले शपथ ग्रहण कार्यक्रममै आन्तरिक चुनावलाई लिएर जे भयो, त्यसको निष्पक्ष रुपमा छानविन गर्न अनुरोध गरेको छु । म पराजित भएँ भन्दैमा अर्को पार्टी रोज्नुभन्दा पनि ती सर्पका विरुद्ध, गलत प्रवृत्तिका मान्छेहरूका विरुद्धमा दृढताका साथ लड्ने प्रण गर्दछु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप