दैलेखका एमाले नेता भन्छन्– रातो झण्डाभित्र पनि हरिया सर्प बस्दा रै छन्
बुधबार सम्पन्न दैलेख एमालेको सातौं अधिवेशनमा अध्यक्ष पदमा पराजित नेता सूर्यबहादुर शाहीले बिहीबार बिहान सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनले ‘आगोको राप र तापबाट बचेर’ आफूलाई मत दिन आँट गरेका सबैलाई धन्यवाद दिएका छन् ।
‘हरियो घाँसभित्र मात्र हरिया सर्प हुन्छन् भन्थे तर रातो झण्डाभित्र पनि हरिया सर्प बस्दा रैछन्,’ उनले लेखेका छन्, ‘हरिया सर्पका नाइकेहरूलाई हार्दिक बधाई छ । सर्पहरुले आफूले गर्ने काम गर्दै जानु, मेरो साथ रहनेछ । मैले यदाकदा सुनेको छु– मेरो लागि के–के दिने कुरा दिँदै हुनुहुन्छ भन्ने । मेरो लागि सुरक्षित राख्नुभएको छ भने मलाई दिने बस्तु मलाई नदिनुहोला, आफैसँग राख्नुहोला । आफूले नराख्ने भए पनि अरु कुनै राजनीतिक पार्टीलाई दिनुहोला !’
शाहीले स्टाटससँग मिल्ने एउटा तस्बिर पोस्ट गरेका छन् । आगो बलिरहेको दृश्य रहेको उक्त तस्बिरमा सेतो पहिरनमा स्वयम् उनी आफै देखिएका छन् । उनको पछाडि मान्छेको भिड छ । उनको स्टाटस र तस्बिरले उनी पराजित हुनुको कारण मतदाता नभई पार्टीभित्रका नेता नै जिम्मेवार रहेको बुझ्न सकिन्छ । तिनलाई उनले ‘पार्टीभित्रका हरिया सर्प’ भनेका छन् ।
गत पुस अन्तिम साता भएको पार्टीभित्रको निर्वाचनमा उनको जित निश्चित भएको भन्दै कार्यकर्ताहरूले स्टाटस समेत लेखिसकेका थिए । तर मत पेटिकामा खसेको मतभन्दा ३१ मत बढी फेला परेपछि अध्यक्ष मण्डलमात्रै होइन, दलभित्रका नेताहरूमाथि कार्यकर्ताहरूले नैतिक प्रश्न उठाउन थाले ।
सहमतिको प्रक्रियाबाट नेतृत्व टुङ्ग्याउन नसकेपछि अधिवेशन सुरु भएको पाँचौं दिनमा निर्वाचन भएको थियो । जम्मा ७ सय २१ मतदातामध्ये ७ सय १७ जना मतदानमा सहभागी भएको रेकर्डमा रहे पनि मत पेटिकाभित्र ७ सय ४८ मत भेटिएपछि मतगणना रद्द गरिएको थियो ।
त्यतिबेला शाहीको जित निश्चित देखिएपछि अध्यक्षका अर्का उम्मेदवार (बुधबार विजयी) रविन्द्रराज शर्माले जालझेल गरेको चर्चा चलेको थियो । पार्टीको आन्तरिक चुनावलाई लिएर शाहीको प्यानलले खरो रुपमा प्रतिवाद गर्न सकेन । त्यतिबेला शाहीले कथित धाँधलीबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरेका थिए । अन्ततः निर्वाचन नै रद्द भयो । निर्वाचन रद्द भएपछि बुधबार पुनः निर्वाचन गराइयो, जसमा शाही पराजित भए । जिल्ला अध्यक्षमा शर्माले ४१४ मत प्राप्त गर्दै विजयी हुँदा शाहीले २६३ मत मात्र प्राप्त गरे ।
एमालेको दैलेख जिल्ला अधिवेशनको नतिजा, शाहीले लेखेका स्टाटस र पार्टीभित्र रहेको भनिएका ती ‘हरिया सर्प’ बारे रातोपाटीले सूर्यराज शाहीसँगै बुझ्ने प्रयास गरेको छ । सोही क्रममा उनीसँग संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ, उनका भनाइका सम्पादित अंश :
म ०४६ सालको कम्युनिष्ट आन्दोलनमा जेल चलान हुने पहिलो नेता हुँ । म जेलमै छँदा बहुदल आएपछि बाहिर निस्किएँ । ०५२ सालमा म जिल्लाको उपसचिव भएँ, त्यो बीचैमा भङ्ग भएपछि पनि सर्वसम्मत उपसचिव भएँ । ०६० सालमा तेस्रो पटक जिल्लाको सचिव भएँ । त्यसपछि पार्टीभित्रकै षड्यन्त्रकारी व्यक्ति, जो आज मैले स्टाटसमै भनेको छु नि ! रातो झण्डाभित्र लुकेका हरिया सर्पहरुले मलाई माओवादीले सघाएको सूचना निकाले । र, पार्टी केन्द्रले बोलाएपछि म काठमाडौंतिर लागेँ । त्यहाँ चार÷पाँच महिना बस्नुपर्दा ती हरिया सर्पहरुको नेतृत्वमा मलाई सचिवबाट हटाइयो । जिल्लामा फर्किसकेपछि खाली गरिएको कुरालाई लिएर संगठन विभागमा उजुरी दिन खोजेको थिएँ । तर त्यतिबेला राजा ज्ञानेन्द्रले आफ्नो हातमा सत्ता लिएका कारण मैले आफैले उजुर गरेर उता जानुभन्दा राजको विरुद्धमा लाग्नुपर्छ भनेर पार्टीभित्रको कुरालाई सहजताका साथ लिई आन्दोलनमा होमिए ।
अहिलेसम्म प्रदेश कमिटी सदस्य हुनेदेखि पटक–पटक जिल्ला कमिटीमा रहेर काम गरेँ । ०५४ सालमा एक कार्यकाल जिल्ला विकास समितिको उपसभापति भएर पनि काम गरेँ । ०७४ को चुनावमा प्रदेश सांसदको लागि जिल्लाबाट नाम सिफारिस भएको थियो तर केन्द्रबाट टिकट प्राप्त भएन । अहिले जिल्लाको अध्यक्षमा लडे, तर तिनै हरिया सर्पहरुका कारण पराजित भएँ । मतदाता मेरो पक्षमा थिए । उनीहरुलाई स्वतन्त्र रुपमा मतदान गर्न दिएको भए मेरो पक्षमा मत आउने कुरामा दुईमत नै थिएन । किनभने दैलेख जिल्लाको कम्युनिष्ट आन्दोलनलाई ठिक बाटोतिर लैजाने उद्देश्य मेरो पहिलेबाटै हो ।
तर विभिन्न समयमा अरुको ढोका ढकढक्याएर, पार्टी छाडेर, कम्युनिष्ट आन्दोलन नै बेठीक छ भन्नेहरूको हातमा जिल्लाको नेतृत्व गयो भने कम्युनिष्ट पार्टी (एमाले) रहँदैन । मैले नेतृत्व गरेँ भने कम्युनिष्ट आन्दोलनलाई सार्थक तुल्याउन सक्थेँ भन्ने उद्देश्यसहित अध्यक्षमा लडेको थिएँ । तर आफूलाई माथिल्लो स्तरको नेता सम्झिने पार्टीभित्रकै ३÷४ जना, पार्टीको रातो झण्डाभित्र लुकेका हरिया सर्पहरुको कारण पराजित भएको हुँ ।
ती सर्पहरुले योजना मसँग बनाए, कुरा मसँग मिलाए । मलाई सहयोग गर्छौं भने । म उनीहरुकै विश्वासमा परेँ । तर उनीहरुले मतदाताहरूलाई भित्री रुपमा कसेछन्, त्यो कुरा मलाई थाहा भएन । गत पुसमा शर्मा पक्षबाट पूरा सेटिङ भएको कुरा जगजाहेर नै छ । किनकि आधिकारिक अध्यक्ष त्यतिबेला उहाँ (शर्मा) आफै भएकाले सम्पूर्ण जिम्मेवारी उहाँलाई नै थियो । निर्वाचन रोज्ने पनि उहाँ नै । उहाँले नै योजनाबद्ध रुपमा षड्यन्त्र गर्नुभएको हो । आज मैले शपथ ग्रहण कार्यक्रममै आन्तरिक चुनावलाई लिएर जे भयो, त्यसको निष्पक्ष रुपमा छानविन गर्न अनुरोध गरेको छु । म पराजित भएँ भन्दैमा अर्को पार्टी रोज्नुभन्दा पनि ती सर्पका विरुद्ध, गलत प्रवृत्तिका मान्छेहरूका विरुद्धमा दृढताका साथ लड्ने प्रण गर्दछु ।