शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाई’ माग्न कमल थापा अदालत जाने

बिहीबार, ०३ चैत २०७८, २२ : ०५
बिहीबार, ०३ चैत २०७८

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए । 

राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता गरेपछि हामीले गाई चिन्ह छोडेर हलो चिन्ह लिएपछि गाई चिन्ह फ्रिज थियो । अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन । हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ । यसबारेमा कानुनी परामर्श पनि चलिरहेको छ । सम्भवत हामी स्थानीय चुनाव पछाडि वा त्यस अगाडि नै अदालत जान्छौँ ।’

उनले स्थानीय तहको चुनाव आइसकेका कारण अस्थायी प्रयोजनका लागि मात्रै तीर चिन्ह लिइएको बताए ।  यता निर्वाचन आयोगले भने राष्ट्रिय प्रतीक चिन्ह रहेका वस्तुहरु चुनाव चिन्हका रुपमा दिन नसकिने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय प्रतीक चिन्हको रुपमा रहेको गाई चिन्ह मागेका कारण आयोगले नदिएको उल्लेख गरे । आयोगले दिन नमिल्ने त्यस्ता केही चिन्हहरूको सूची राखेको र त्यस्ता चिन्हहरू दिन नमिल्ने बताए । राष्ट्रिय प्रतीक चिन्ह बाहेकका चिन्ह मात्रै दलहरूका लागि दिइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप