वामपन्थी एकता, स्थानीय निर्वाचन र परिणाम
भूमिका
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति जति जति नजिकिदैछ, त्यति नै राजनीतिक पार्टीका गतिविधि र स्थानीय निर्वाचनको परिणामको लेखाजोखा तीब्र रुपमा अघि बढिरहेको छ । राजनीतिक दलहरु आफना निर्वाचनमुखी प्रशिक्षण, भेला तथा बैठकमा ब्यसत भइसके । उता कतिपय स्थानमा स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरी घरदैलो अभियानमा लाग्नेहरु पनि छन् । आगामी स्थानीय निर्वाचनको परिणामबारे राजनीतिक दलहरुका आ आफना दावी सार्वजनिक भैरहदा भूईंतहमा भने ती दावीहरुलाई औचित्यहीन भन्ने आवाज पनि उठिरहेका छन् । यो आलेखमा राजनीतिक दलहरुका बीचका संभावित ध्रुवीकरण वा गठबन्धनको परिणामका बारेमा केही सवाल उठान गर्ने प्रयास गरिएको छ ।
विद्यमान जनमत
गत निर्वाचनलाई आधार मान्ने हो भने नेपालमा करीव ६८ प्रतिशत जनमत बामपन्थी दलहरुको रहेको छ । कार्यकर्तावेश पार्टी, चुस्त संगठन र नियमित रुपमा जनताको बीचमै रहने विगतको अभ्यासलाई हेर्दा यो जनमतको प्रतिशत बढेको अनुमान सहजै गर्न सकिन्छ । तर, ठूलो जनमत हुँदाहुँदै पनि नेपालका वामपन्थी राजनीतिक दलहरु बीचको ब्यक्तित्वको टकराव, जुंगाको लडाई, शक्ति आर्जन गर्ने र सत्तामा जाने लोभका कारण वामपन्थी भनिएका राजनीतिक दलहरु विभाजनको पुरानै रोगका कारण थला परेका छन् ।
दाबी जे सुकै गरिए पनि छुट्टाछुट्टै पसल खोलेर जनताका बीचमा जाँदा जित्ने संख्या झिनो रहेको छ भने हराउने मत प्रायः सबैसँग रहेको तथ्य भूईंतहमा रहेको छ । स्थानीय निर्वाचनमा हाम्रो बहुमतीय निर्वाचन प्रणालीलाई विश्लेषण गर्दा हारजितको निर्क्यौल एकमतले गर्ने भएकोले हराउने शक्ति सबै दलहरुसँग रहेको छ । एकले अर्कोलाई धारेहात लगाएर देखाई दिने जुनखालेको मनोविज्ञान नेतृत्व तहमा विद्यमान छ, त्यसलाई समयमा करेक्सन गर्न नसक्ने हो भने स्थानीय तहको निर्वाचनमा बामपन्थी राजनीतिक दलहरुको स्थिति “हमारी पार्टी गर्व से हार रही है” भन्ने परिणाम स्वभाविक छ ।
अहिले पनि हामीसँग महिना दिनजसो समय छ, यो समयमा विगतका गल्ती सच्याउने, एकीकरण प्रक्रिया सही थियो भन्ने कुरालाई आत्मसाथ गर्ने, हार्दिकताका साथ कम्तिमा वामपन्थी मोर्चा बनाएर स्थानीय निर्वाचनमा जाने सद्बुद्धि पलाउन सक्यो भने त्यसले आम जनमतको सम्मान गर्नेछ । स्थानीय सरकारहरु जनताप्रति बढी उत्तरदायी बन्न सक्नेछन्, समृद्धिको हाम्रो सपनालाई अघि बढाउनका लागि हाम्रो महत्वपूर्ण योगदान गर्नेछ । र, इतिहासले हाम्रो गल्तीलाई माफी दिन सक्नेछ भन्ने वोध आवश्यक छ ।
देशको सार्वभौमसत्ता त्यतिबेला मात्रै बलियो हुन सक्छ, जतिबेला राजनीतिक स्थायित्व हुन सक्छ । नेपालको राष्ट्रियता त्यतिबेला मात्रै बलियो बन्न सक्छ, जब नेपालका राजनीतिक दलहरु एक ठाउँमा आई राजनीतिक स्थायित्वको सुनिश्चितता दिन सक्छन् । विकास र समृद्धि त्यतिबेला मात्रै संभव छ, जतिबेला हामी बलियो गरी स्थानीय, प्रदेश र केन्द्रीय सरकार बलियो बनाउन सक्छौं । वलिदान अहिले आवश्यक छैन, अग्रजहरुले बलिदान निस्वार्थ रुपमा गरेका छन् । हामीले केवल कुण्ठा, प्रतिशोध, लोभ लालच, इगो मात्रै त्यागी दिने हो भने बाममोर्चा एक दिनमा संभव छ ।
अब के गर्ने ?
नेपालका वामपन्थी नेताहरु केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल, चित्रबहादुर केसी जसले यो आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ, उहाँहरु उमेरका हिसाबले अब “डाँडामाथिको घाम” भइसक्नु भएको छ । वामपन्थी आन्दोलनमा संगठित रहेका लाखौंलाख युवाहरु र करोडौैं जनतालाई एकपल्ट ध्यान दिएर सोच्न सक्ने हो भने स्थितिमा रातारात कायापलट हुन सक्छ र इतिहासले उहाँहरुको सधै सम्मान गरि नै रहनेछ ।
नेपाल कम्युनिष्ट पार्टीलाई जीवित र शक्तिशाली बनाई राख्ने हो भने आमनेपाली सर्वहारा श्रमजीवी जनताको पक्षमा उभिएर मुलुकलाई समृद्धिको दिशामा अघि लैजाने संकल्पलाई पुरा गर्ने हो भने अहिले पनि धेरै संभावना जीवित छन् । फेरि एकपल्ट एकै ठाउँमा बसेर वर्तमान घटनाहरुको निर्मम समीक्षा गर्न सकिन्छ । सबैले आफूहरुवाट जानी नजानी भएका गम्भीर खालका त्रुटीलाई स्वीकार गर्न सकिन्छ । गल्ती स्वीकार गर्ने क्षमताको प्रदर्शनले ब्यक्तिको उचाई, कद दुवै अग्लिन सक्छ । अहिलेको सत्ता गएपनि भविष्यलाई सुरक्षित रुपमा युवाहरुलाई जिम्मा लगाउन सकिन्छ । त्यागले भविष्यलाई सुरक्षित गर्ने इतिहास बनाउने छ । त्यो इतिहास जसले आउने युवापिढीले युगौंसम्म स्मरण गरिरहनेछ ।
बामपन्थी सरकार किन ?
नेपालमा अहिले पनि गरीब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो संख्या छ । असंगठित क्षेत्रमा काम गरी खाने सर्वहारा वर्गको हातमा उत्पादनका साधन छैनन् । उत्पादनका साधनमा उनीहरुको पहुँच नहुँदा काम पाउँदा खाने र नपाउँदा भोकै सुत्नुपर्ने बाध्यता विद्यमान छ । कृषिमा काम गर्ने तर उनीहरुको हातमा खेती गर्नका लागि जमिन छैन । कृषि क्षेत्रमा आफनो नाममा जग्गा राख्ने तर खेतीमा हात नलगाउने सानो संख्यामा रहेका भूमिपतिहरुको हातमा खेतीयोग्य जमिनको ठूलो हिस्सा छ । नेपालमा बैज्ञानिक भूमिसुधारका लागि बेलाबखत नाराहरु लाग्छन् तर त्यसको ब्यवहारिक कार्यान्वयन छैन ।
नेपालमा ठूला उद्योगधन्दा र कलकारखाना नभएका कारण छ महिना कृषिमा काम गर्ने तर आफ्नो उत्पादनले ३ देखि ६ महिना पनि खान नपुग्ने अवस्थामा रहेका किसानहरुको ठूलो संख्या छ । उनीहरु वर्षमा दुईपटक छिमेकी मुलुक भारतका विभिन्न शहरमा कामका लागि जाने र सस्तोमा आफनो श्रम बेचेर वर्षभरीका लागि खाद्यान्न किनेर खाने अवस्थामा अहिले पनि कुनै सुधार आएको छैन ।
नेपालमा श्रमजीवी नागरिकहरुको संख्या कति छ ? यकिन तथ्याङ्क छैन । यसबाहेक ठूलो संख्यामा रहेका निर्माण, यातायातका मजदुर, होटेल र रेष्टुरामा काम गर्ने मजदुर र सडक छेउ चिया पसल, तरकारी पसल गरी
जीविकोपार्जन गर्ने, ठूला शहरहरुमा साना खुद्रा पसल सञ्चालन गरी खाने मजदुरहरुका लागि नेपालमा कम्युनिष्ट पार्टी चाहिएको हो ।
साना किसानहरु, जसले ऋण गरेर खेतीपाती र पशुपालन त गर्छन् तर आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् । बीचमा रहेका विचौलियाहरुको विगविगी रहेको र उपभोक्ताहरु पनि किसानसँगै महँगोमा कृषि उत्पादन खरीद गरी खान बाध्य छन् । सरकारका कृषि, उद्योग तथा अन्य जीविकोपार्जन सम्वन्धि नीति कार्यक्रम र योजना पनि ब्यापारीहरुकै हातमा पुग्छ । सामान्य किसान, गरीब सर्वहारा मजदुर र अन्य मजदुरहरुले काम अनुसारको ज्याला पाउँदैनन् ।
हामीले खोजेको कम्युनिष्ट पार्टीले यसका आमसदस्यहरुको जीवन सहज बनाउँदै सर्वहारा श्रमजीवी वर्गको जीवन सहज बनाउने अभियानलाई दिगो र भरपर्दो बनाउँदै नेपालमा विद्यमान रहेको अभाव, गरिबी, विभेदको अन्त्य गर्ने खालको हो । सबै खालका विभेदको अन्त्य, सामाजिक न्यायको प्रत्याभूति, मानवअधिकारको सुनिश्चितता र सर्वहारा वर्गको मुक्तिका लागि कम्युनिष्ट पार्र्टी आवश्यक भएको हो । यही आवश्यकताले नेपाल कम्युनिष्ट पार्टीलाई तिनै तहका सरकार निर्माणका लागि जनमत प्राप्त भएको हो ।
आम नागरिकहरुलाई सम्मानित र मर्यादित जीवन जिउनका लागि आवश्यक वातावरण निर्माण गर्दै श्रमको सम्मान गर्ने परिपाटीको निर्माण, श्रमको उचित मूल्य प्राप्तीका लागि नीति नियमहरुको निर्माण र कार्यान्वयन जरुरी छ । यसका लागि सहज रुपमा राज्यका सेवा सुविधाहरुमा सर्वहारा श्रमजीवी वर्गको पहुँच स्थापित गर्ने र राज्यले अघि सारेका सबै योजना प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चितता जरुरी छ । हिजोको शासन प्रशासनमा आमूल परिवर्तन गरी सहज सेवा प्रवाह गर्न सक्ने प्रशासनका आवश्यकता छ । जसले सुशासन स्थापना गरोस्, सेवा सुविधा प्राप्तीका प्रक्रिया सहज होऊन् र देशमा कम्युनिष्ट पार्टीको सरकार छ भन्ने कुरा आम सर्वहारा वर्गले गर्वका साथ महसुस गरुन् । यही ध्येयका लागि नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीको सरकार चाहिएको हो ।
ऐन नियम कानून सबैका लागि बराबर हुन सकुन् । शासन प्रशासन ब्यक्तिको होइन, कानूनका आधारमा सञ्चालन हुन सकोस् । सबै खालका विभेद, अन्याय र अत्याचार गर्ने, भ्रष्टाचार गर्ने सबैलाई न्यायको कठघरामा उभ्याउन सकियोस् । सबै नागरिकहरुले राज्यले तोकेको कर तिर्नुमा गर्व गर्न सकून् । राज्यलाई तिरेको करको दुरुपयोग हुँदैन भन्ने विश्वासिलो आधार तयार होस् । सबै जेष्ठ नागरिकहरु सम्मानित हुन सकुन् । बालबालिकाहरुको संरक्षण हुन सकोस् । लैगिंक हिंसाको अन्त्य भई घरेलु हिंसा समाप्त होस् । महिला पुरुषबीच आदर सम्मान होस् । असहायहरुको सामाजिक सुरक्षा सुनिश्चित होस् । सबैले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको लगानीमा पाओस् । हामीले भन्ने समाजवाद उन्मुख अर्थतन्त्र यसै कारण चाहिएको हो । यस दिशामा कम्युनिष्ट पार्टी अघि बढेको छ त ? यसको विश्लेषण आवश्यक छ ।
नेपालमा कम्युनिष्ट पार्टीमा आवद्ध हुने हरेक कार्यकर्तालाई थाहा छ कि हरेक ब्यक्ति अनुशासित, इमान्दार, उच्च नैतिकवान, आफ्ना ब्यक्तिगत हितलाई पार्टी अधिनस्थ राख्ने, नागरिकप्रति खास गरी सर्वहारा श्रमजीवी वर्गप्रति उत्तरदायी हुने हो । हरेक खालका अन्याय, शोषण उत्पीडनहरुका विरुद्ध उभिने, राष्ट्र, राष्ट्रियता र श्रमजीवी वर्गको जनजीविकाका सवालमा सधै अग्रसर रही हरेक निर्णय गर्नुअघि आफ्ना विचार राख्ने, सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीलाई सदा परिपालना गर्ने हो । कसैको बिगार नगर्ने, अरुलाई बिगार गर्न नदिने, सहकर्मी, सहपाठीसँग मिलेर आन्दोलनलाई गतिशील बनाउने हो । नागरिकहरुले जे दिन्छन्, त्यही दिएको खानेकुरा खाने, उनीहरुकै ब्यवस्थापनमा सुत्ने र घरका सदस्यहरुसँगको असल सम्वन्ध विकास गरी आन्दोलनलाई अघि बढाउने हो । यसरी एक खालको फलामे अनुशासन हरेक कम्युनिष्ट कार्यकर्ता र नेताको गहनाका रुपमा लिइन्छ । आचरण र नैतिकताको क्षयीकरण रोक्नु आवश्यक छ ।
अन्तमा, स्थानीय निर्वाचनको परिणामलाई जनमत अनुकूल बनाउने हो भने तत्काल वाममोर्चा आवश्यक छ । अहिले काठमाडौंबाट गरिने दावीहरुलाई सत्य मानेर अहिलेकै स्थितिमा निर्वाचनमा सहभागी हुने हो भने जनमतको अपमान त हुन्छ नै, परिणाम आम नागरिकहरुलाई राजनीतिक अस्थिरता र विकासको गतिहीनता हात लाग्नेछ । छोटो समयमा पुनः एकपल्ट एकै ठाउँमा बसेर वर्तमान घटनाहरुको निर्मम समीक्षा गर्न सकिन्छ । सबैले आफूहरुवाट जानी नजानी भएका गम्भीर खालका त्रुटी स्वीकार गर्न सकिन्छ । गल्तीलाई स्वीकार गर्ने क्षमताको प्रदर्शनले नेताहरुको उचाई, कद दुवै अग्लिन सक्छ र परिणाम मुलुक र जनताको पक्षमा हुनेछ । चेतना भया ।
लेखक सामाजिक अभियन्ता हुन् ।