बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन : हेटौंडाको मेयरमा एकीकृत समाजवादीका २ जना आकांक्षी

बिहीबार, ०३ चैत २०७८, १५ : २७
बिहीबार, ०३ चैत २०७८

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै  मकवानपुरमा चुनावी चर्चा चुलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ गाउँ पुग्न थालेका हुन् ।

जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म लिभिङ गरिरहेका छन् । विभिन्न दलका तर्फबाट मकवानपुरको स्थानीय तहहरुमा उम्मेदवारी घोषणामा लागेका छन् भने आफ्नो पक्षमा टिकटको लागि दौडधुपमा देखिएका छन् । बागमती प्रदेशको राजधानी एवम् जिल्लाको सबैभन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि पनि राजनीतिक दलभित्र रस्साकस्सी सुरु भइसकेको छ । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि हेटौंडाको मेयरमा दावी गर्ने देखिएको छ ।

एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा २ जनाले आकांक्षा देखाएका छन् । यसअघि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित मिनाकुमारी लामाले यस पटक एकीकृत समाजवादीबाट मेयरमा लड्ने आकांक्षा व्यक्त गरेकी हुन् भने एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पनि दावी गरेका छन् ।

गठबन्धनको फाइदा उठाउने पोखरेलको दाउ

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेल स्थानीय निर्वाचनमा गठबन्धन भएमा मात्रै मेयर दावी गर्ने पक्षमा छन् । उनले पत्रकारहरुसँग आफू हेटौंडाको मेयर बन्न योग्य भएको भन्दै आकांक्षा व्यक्त गरेको र गठबन्धनको तर्फबाट मेयरमा दावी गरेको बताए । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन भएमा पोखरेललाई मेयर बनाउने योजना रहेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘मकवानपुरमा स्थानीय चुनावमा गठबन्धन हुने लगभग पक्का देखिएको छ । गठबन्धन कायम रहँदा हाम्रो पार्टीले हेटौंडाको मेयर पाउने अवस्थामा श्रीधरजीको इच्छा अनुसार उहाँ उम्मेदवार बन्नुहुनेछ । हाम्रो पार्टीले उपमेयर पाएमा मिनाजीलाई नै दिन्छौ । उपमेयर भइसकेको कारण आगामी निर्वाचनमा पनि मिनाजीलाई नै मेयर दिनुपर्ने हो तर, एकीकृत समाजवादीले मेयर पाउँदा श्रीधरजी नै जानु हुन्छ ।’ ति नेताले भने ।

पछिल्लो समय एमाले विभाजनको असर मकवानपुरमा पनि परेको छ । एमालेका थुप्रै कार्यकर्ताहरु एकीकृत समाजवादीमा आवद्ध भएका छन् । संघीय सांसददेखि प्रदेश संसद् र जिल्ला तथा वडा तहसम्मका नेता कार्यकर्ताहरु एमालेबाट समाजवादीमा गएका छन् । पोखरेलले स्थानीय तहमा भएको गठबन्धनको फाइदा लिने उद्देश्य अनुरुप मेयरमा दावी गरेको नेताहरुको भनाइ छ ।  

उपमेयर लामाको मेयर बन्ने चाहना

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर लामा मेयरको लागि आकांक्षी देखाउँदै एक पटक उपमेयर भइसकेकाले अब मेयरको जिम्मेवारी पाउनुपर्ने दावी गरिरहेकी छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी मेयर तथा उपमेयर पदमा चुनावी गठबन्धन गरको थियो । गठबन्धन अनुसार मेयर पदमा काँग्रेसबाट आनन्दराम पराजुली र उपमेयर पदमा माओवादीका बलराम बल उम्मेदवार थिए ।

यस्तै एमालेबाट मेयरमा हरिबहादुर महत र  लामा उपमेयरको उम्मेदवार थिए । एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गरी दुवै पद सुरक्षित गरेको थियो । एमालेबाट निर्वाचन लडेकी उपमेयर लामाले २३ हजार ४३७ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी तत्कालिन   माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाएका थिए ।

उपमेयर लामा अहिले एकीकृत समाजवादीमा छन् भने गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका बलराम बल एमालेमा प्रवेश गरेका छन् । उनले उपमेयरमा जितेपछि आफ्नो सम्पूर्ण समय हेटौंडाको विकास र जनताको हितमा खर्च गरेकाले पार्टीले आफूलाई नै मेयरको टिकट दिने विश्वास व्यक्त गरिन् । कोरोना संकट नियन्त्रणमा पनि जनताको काम संगसंगै पार्टी संगठन निर्माणमा निरन्तर लागेकाले आगामी निर्वाचनमा पनि आफूले जित्नेमा निश्चित रहेको उनले बताइन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप