शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

वैदिक कथा : सत्यकाम र उनका शिक्षा

बिहीबार, ०३ चैत २०७८, १० : ४०
बिहीबार, ०३ चैत २०७८

सामवेद अन्तरगत पर्ने छान्दज्ञोपनिषद्मा एउटा कथा छ । परापूर्वकालमा जावाला नामकी एक गरीब महिला थिइन् । गाउँको छेउमा एउटा झुपडी बनाएर बस्दै आएकी जावालाको जवानीमा मजबुरीको फाइदा उठाएर सौन्दर्य लुट्ने सयौँ भए पनि वृद्धावस्थामा साथ दिने कोही थिएनन् । त्यसैले बुढेसकालमा जन्मेको छोरा सत्यकामको मुख हेरेर जीवन व्यतीत गर्दै आएकी थिइन् ।

‘आमा ! मेरो गोत्र के हो ? एक दिन बालक सत्यकामले आमा जावालसँग भने–

‘पढ्न जाने विचार गरेको छु । यतातिर गुरुकुल छैनन् । निकै टाढा जानुपर्छ, जहाँ मलाई चिन्ने कोही नहुन सक्छन् । गुरुले कुल गोत्र सोध्लान् । के भनेर परिचय दिऊँ ।’

‘हो र ?’ जावालाले असहज मान्दै भनिन्–

‘राम्रो कुरा बाबु । बुद्धिमान रहेछौ, मैले सम्झाउनुपर्नेमा तिमी आफैँ त्यस्तो कुरा गरिरहेका छौ तर गोत्र भने भन्न असमर्थ छु ।’

‘होइन आमा त्यसो नभन्नुस् ।’ सत्यकामले बालहट देखाउँदै भने–

‘तपाईँको समस्या के हो थाहा छैन । मलाई थाहा भएको यही हो कि कुल र गोत्र नभएको मानिस नै हुँदैनन् ।’

‘हो बाबु ! कुल र गोत्र सबैका हुन्छन् तर ...।’

‘तर ? के तर आमा ?’

‘भनिहालेँ नि बाबु ! असमर्थ छु ।’

‘त्यसको पनि कारण त होला नि आमा !’

‘त्यो पनि नसोध, भन्न सक्दिन ।’

‘ठीक छ त्यस्तै हो भने कर गर्दिन तर ...।’

‘तिम्रो चाहिँ तरको के अर्थ हो नि बाबु !’

‘यही कि गोत्र बिना मेरो शिक्षा सम्भव छैन । छोराछोरीका पढाइमा बाधक बन्ने आमा बैरी र बाबु शत्रु हुन्छन् भनिएको छ नीतिशास्त्रमा । म चाहन्छु आफ्नी आमाको अवस्था त्यस्तो नहोस् ।’

बालक छोराको कुरा सुनेर जावालाको आँखा रसायो । उनले अङ्कमाल गर्दै भनिन्–

‘हो बाबु ! तिमीले भनेको सही हो । मेरो सर्वस्व भनेकै तिमी हौ । भर्खर सात पुगेर आठमा टेकेका छौ तैपनि यति ठूलो बुद्धिमानी कुरा गर्छौँ भने तिम्रो बाटोको बाधक चाहन्न । तिमीले पढ्न जानै पर्छ । गुरुले गोत्र सोधे भने यही भन्नु कि कुल र गोत्र केही थाहा छैन तर आमाको नाम भने जावाला हो ।’

आमाको कुराबाट सत्यकाम आश्चर्य चकित भए । यो त झन् ठूलो अनर्थ हो । बाबु पनि थाहा छैन र कुल पनि थाहा छैन भने मेरो जन्म कसरी भयो ? पक्कै कुनै रहस्य हुनुपर्छ ।’

सत्यकाम टोलाएको देखेर जावाले भनिन्–

‘किन बाबु ! टोलाउन लाग्यौ नि ? के मेरो कुरामा विश्वास लागेन ?’

‘होइन आमा ! त्यसो होइन ।’ सत्यकामले लामो सास फेर्दै भने–

‘होस समालेदेखि यही झुपडीमा पाएको छु । तपार्ईँ बाहेक कसैलाई देखेको पनि छैन । लाग्दै छ तपार्ईँमाथि नियतिले निकै क्रुर खेल खेलेको हुनुपर्छ । तपाईँको आफ्नो भन्नु नै को छ र ? मै त हुँ, जुन आफैँ भन्दै हुनुहुन्छ । तैपनि मलाई नै भन्न नमिल्ने कुरा के होला त्यस्तो ? भन्ने लागेर चिन्तित भएको हुँ ।’

छोराको कुरा सुनेर जावाला थप विह्वल भइन् । उनलाई छोराको अगाडि आफ्नो विगत लुकाउन उचित लागेन र सुक्कसुक्क गर्दै भनिन्–

‘गरीवीका कारण जवानीमा इज्जत लुट्ने धेरै भए । नचाहँदा नचाहँदै पनि धेरै जनासँग उठबस गर्न वाध्य हुनुप¥यो । तिनैमध्ये कुनै एकको सन्तान हौँ । त्यसैले यही हो भन्न असमर्थ छु ।’

आमाको कुरा सुनेर सत्यकामको छाती चिरियो तर आफैँ केही गर्न सक्ने अवस्थामा थिएनन् । त्यसैले आमासँग आशीर्वाद लिएर भारी मनले गुरुकुलतिर लागे । केही दिनको हिडाइपछि एउटा गुरुकुलमा पुगेर अध्ययन गर्न आएको बताए । गुरुले गोत्र सोधे तर उनको कुनै गोत्र थिएन । त्यसैले आमाले भने बमोजिम कुलगोत्र त थाहा छैन तर आफ्नो नाम सत्यकाम र आमाको नाम जावाला भनेर परिचय दिए ।

उनको कुरा सुनेर गुरु खुसी भए । विद्यार्थी सज्जन र सत्यवादी छ भन्नेमा कुनै शङ्का भएन । सभ्य, शिष्ट र नम्रता जस्ता विद्यार्थीमा हुनुपर्ने अन्य गुण पनि भरपूर पाए । त्यसैले धैर्यताको परीक्षण लिने उद्देश्यले भने–

‘बाबु सत्यकाम ! तिम्रो गुरु बन्न मलाई गाह्रो छैन तर पढाइ सुरू गर्नुपूर्व एउटा शर्त पूरा गर्नुपर्ने मेरो नियम छ । मञ्जुर छौ ?’

‘मन्जुर छ गुरु ! यथासम्भव पूरा गर्ने प्रयास गर्नेछु ।’

‘त्यसपछि गुरुले सम्झाउँदै भने–

‘सयवटा गाई दिएर पढाउनेछु । हजारवटा भएपछि मात्र फिर्ता आउनुपर्छ बुझ्यौ ?’

‘हस गुरु ! बुझेँ ।’

यति भनेर उनी त्यो रात गुरुकै आश्रममा सुते । भोलिपल्ट सयवटा गाई लिएर हिँडे । केही  पर जङ्गलको एउटा छेउमा आश्रम बनाई बसेर गाई चराउन लागे । जब हजार वटा गाई भए त्यसपछि गाई लिएर फिर्ता भए । अब उनको धैर्यताको पनि परीक्षा पूरा भइसकेको थियो । त्यसपछि गुरुले आफ्नै गोत्र दिएर उपनयन संस्कार पूरा गरी वेद वेदान्त आदि समग्र शास्त्रमा निपुण गराए । पछि गएर उनी यति ठूला विद्वान् बने कि देश विदेशमा चर्चा र सम्मान पाउन सफल भए ।

यस उपनिषद् कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर जसमा धैर्य र सत्यवादी जस्ता गुण हुन्छन् उसका लागि कठिन भन्ने केही पनि हुँदैन भन्ने कुरा भने सबैलाई थाहा भएको कुरा हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप