शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मिथिला मध्यमा परिक्रमा यात्रा भारतको बिसौलमा

बिहीबार, ०३ चैत २०७८, ०८ : १८
बिहीबार, ०३ चैत २०७८

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो । यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ । 

परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पु¥याउने परम्परा रहेको मिथिला बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताए । 

उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने उनको भनाइ छ । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन् । श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ ।
    
पडावस्थलमा स्वास्थ्य, बिजुलीबत्ती, भोजनलगायत व्यवस्थापनमा सहयोग गर्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक पनि विशेष सहयोग गर्ने तयारी गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुख कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप