सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नक्कली कागजात बनाएर मिर्गौला लेनदेन गराउनेलाई अदालतको सफाई, गलत कसुरमा मागदाबी गरेको ठहर

प्रत्यारोपण गर्ने डाक्टर भन्छन् ‘मलाई अनावश्यक रुपमा मुछ्न खोजियो’
बुधबार, ०२ चैत २०७८, २२ : ११
बुधबार, ०२ चैत २०७८

नक्कली कागजात तयार पारी नाताभित्र नपर्ने व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको मुद्दामा जिल्ला अदालत ललितपुरले सबै प्रतिवादीलाई सफाई दिएको छ । केही रकम दिएर मिर्गौला किनेर प्रत्यारोपण गर्ने (लिने) भनिएका शंकरलाल लामासहित मिर्गौला लेनदेन र प्रत्यारोपणमा संलग्न भनिएका ९ जनाले मंगलबार सफाई पाएका हुन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाटको इजलासले मिर्गौला तस्करीमा मुछिएका ९ जनालाई अभियोग मागदाबी नपुग्ने भन्दै सफाई दिएको हो । मंगलबार भएको फैसला आउन केही समय लाग्ने भए पनि राय किताबमा गलत कसुरमा अभियोजन गरिएकाले अभियोग दाबी नपुग्ने उल्लेख छ ।

रामेछापको दोरम्बा ३ स्थायी घर भई स्वयम्भु बस्ने शंकरलाल लामाले भाञ्जा नाता पर्ने सञ्जिव घिसिङबाट मिर्गौला लिने भनी कागजात तयार पारे पनि उनले सञ्जिव घिसिङबाट नभई काभ्रेका एक युवकबाट मिर्गौला किनेका थिए । प्रहरी स्रोतका अनुसार शंकरलाल लामाका छोराले १० लाख रुपैयाँमा मिर्गौला बेच्ने व्यक्ति खोजेर नक्कली कागजात तयार पारेका थिए । कागजातमा सबैतिर सञ्जिव घिसिङको नाम भए पनि सञ्जिवको स्थानमा अर्कै व्यक्तिको फोटो टाँसेर ती युवकको मिर्गौला झिकी शंकरलाललाई प्रत्यारोपण गरिएको थियो ।

पछि मिर्गौला बेच्ने युवकले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएपछि ब्यूरोले यो प्रकरणमा संलग्न रहेको भन्दै ९ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मुद्दा चलाएको थियो । ब्यूरोले नक्कली कागजात तयार पारी मिर्गौला तस्करीमा संलग्न रहेको भन्दै मिर्गौला लिने शंकरलाल लामा, निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका डाक्टर राजेश पन्त, सप्तरी कञ्चनरुप नगरपालिका–९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने निदानका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले, विन्दा तामाङ, सञ्जिव घिसिङ, रेणु घिसिङ र शिशिर सागर योञ्जनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । ब्यूरोले शंकरलाल लामा, विपेन्द्र प्रधान, डा. राजेश पन्त, कुमुदकुमार भट्टराई र रामचन्द्र आलेलाई पक्राउ गरी मुद्दा चलाएको थियो भने विन्दा तामाङ, सञ्जिव घिसिङ, रेणु घिसिङ र शिशिर सागर योञ्जनलाई फरार प्रतिवादीका रुपमा मुद्दा चलाएको थियो ।

के थियो घटना ?

२०७६ साल साउन २४ गते ललितपुरको निदान अस्पतालमा रामेछाप जिल्लाको दोरम्बा ३ स्थायी घर भएका शंकरलाल लामाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई ‘भाञ्जा’ नाता पर्ने सञ्जिव घिसिङले मिर्गौला दिएको देखिएको थियो । सोही आधारमा कागजात तयार भयो र मिर्गौला दिने व्यक्तिको फोटो हेरी दातासँग सोधपुछ गरेर नै निदान अस्पतालले मिर्गौला प्रत्यारोपण गरेको थियो । उक्त प्रत्यारोपण सफल पनि भयो र मिर्गौला लिने र दिने व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएर घर गए ।

तर त्यसको दुई महिनापछि नै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो ललितपुरस्थित निदान अस्पतालमा पुग्यो । नक्कली कागजात तयार पारी मिर्गौला तस्करी भएको भन्दै ब्यूरो निदान अस्पतालमा पुगेर कागजात जफत ग¥यो र उक्त घटनाको अनुसन्धान ग¥यो । अनुसन्धानको क्रममा मिर्गौला दिने भनिएका व्यक्ति र मिर्गौला झिकिएका व्यक्ति एकै नरहेको तथ्य प्रकाशमा आयो । रामेछापकै सञ्जिव घिसिङको मिर्गौला झिकेर बिरामी शंकरलाल लामाको शरीरमा प्रत्यारोपण गर्ने भने पनि मिर्गौला सञ्जिवको नझिकेर काभ्रेका एक युवकको शरीरबाट झिकिएको पाइएको थियो ।

अनुसन्धानका क्रममा ब्यूरोले काभ्रेका एक युवकलाई १० लाख रुपैयाँ दिएर सञ्जिव घिसिङकै नामबाट मिर्गौला झिकेर शंकरलालको शरीरमा प्रत्यारोपण गरिएको पाएको थियो । त्यसपछि प्रहरीले मिर्गौला दिने युवकलाई नै भेटेर उनकै जाहेरीमा यस विषयमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा स्थानीय तहमा नाता प्रमाणित गर्ने क्रममा नातामा भाञ्जा पर्ने सञ्जिव घिसिङकै नागरिकता, फोटो, औंठाछाप र हस्ताक्षर प्रयोग गरेको पाइए पनि अस्पताल र जिल्ला प्रशासन कार्यालयमा कागजात बुझाउने क्रममा भने सञ्जिव घिसिङको फोटो रहेको स्थानमा काभ्रेका ती युवकको फोटो प्रयोग गरिएको थियो । यद्यपि ती युवकले आफू सञ्जिव घिसिङ नै भएको भन्दै विभिन्न स्थानमा आफ्नै नामबाट हस्ताक्षर गरी अस्पतालको प्रत्यारोपण हेर्ने कानुनी समितिलाई बयान दिएका थिए । युवकसँगको बयान, कागजातमा रहेका विवरण तथा फोटो हेरेर निदान अस्पतालको टिमले शंकरलालको शरीरमा मिर्गौला प्रत्यारोपण गराएको थियो ।

तर मिर्गौला प्रत्यारोपण गर्ने क्रममा गलत व्यक्ति हो भन्ने थाहा हुँदाहुँदै पनि छानबिन नगरी लापरवाही गरेको र सेटिङमै मिर्गौला तस्करी गरेको भन्दै ब्यूरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका डाक्टर राजेश पन्त तथा निदानका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई लगायतलाई प्रतिवादी बनाई ब्यूरोले मुद्दा दायर गरेको थियो ।

सुरुमा अभियोग लैजाने क्रममा फरार रहेका शंकरलालका छोरा शिशिर सागर योञ्जन पछि अदालतमा उपस्थित भएका थिए । उनले पनि अस्पतालको मिलेमतोबारे आफूलाई थाहा नभएको तर राजु भन्ने व्यक्तिले सबै कुरा मिलाएको बयान दिएका थिए ।

२०७६ कात्तिक २० गते ललितपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब २८ महिनापछि फैसला भयो । र, फैसलामा अभियोग मागदाबी नपुग्ने भन्दै सबै प्रतिवादीलाई सफाई दिइएको छ ।

ललितपुर जिल्ला अदालत श्रोतका अनुसार मिर्गौला प्रत्यारोपण प्रकरणमा फरक व्यक्तिको मिर्गौला झिकिएको पुष्टी भए पनि जुन कसुरमा मुद्दा ल्याउनुपर्थ्यो, सोही कसुरमा मुद्दा नल्याई फरक कसुरमा मुद्दा ल्याएको कारण अभियोग मागदाबी नपुग्ने ठहर गरेको हो ।

पीडित भनिएका व्यक्ति नै अदालतमा बकपत्रका लागि गएनन्

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार युवराज पौडेलका अनुसार आफू पीडित भएको भन्दै जाहेरी दिने व्यक्ति नै अदालतमा बकपत्र गर्न उपस्थित नभएपछि मुद्दा केही कमजोर बनेको थियो । उनले भने, ‘पीडित भनिएका व्यक्ति कम्तीमा बकपत्रका लागि अदालतमा आउनुपर्छ । पटकपटकको ताकेतामा पनि उनी बकपत्रका लागि आएका छैनन् । बकपत्रका लागि नै नआएपछि उनी पीडित हुन् कि होइनन् भन्ने पुष्टी हुन सकेन । त्यसकारण पनि प्रतिवादीले सफाई पाएको हुनुपर्छ । यद्यपि फैसलाको पूर्ण पाठ नआई केही भन्न सकिन्न ।’

कसरी भयो मुद्दा कमजोर ?

मानव शरीरको अङ्ग पत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ अनुसार नजिकका नातेदारबाट मात्रै अङ्ग लिन पाइन्छ । दुई वा दुईभन्दा बढी परिवारको आपसी सहमतिमा पनि मिर्गौलाको लेनदेन गर्न सकिने कानुनी व्यवस्था छ । तर कुनै पनि व्यक्तिलाई झुक्यानमा पारी वा आर्थिक लेनदेन गरी मिर्गौला लेनदेन गर्न नपाइने उल्लेख छ । ऐनको दफा २४ मा यदि गलत व्यक्तिबाट मिर्गौला झिकी प्रत्यारोपण गरिएको अवस्थामा यस्तो अपराधमा संलग्न रहनेलाई ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

​तर ब्यूरोले ललितपुर जिल्ला अदालतमा मुद्दा लैजाँदा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ अनुसार मुद्दा नलगी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मुद्दा लगेको अदालतको जिकिर छ । अदालत श्रोतले भन्यो, ‘फौजदारी न्यायको सिद्धान्त भनेको जुन कसुर गरेको हो, सोही कसुरमा मुद्दा लैजानुपर्ने हुन्छ । कुनै कसुरलाई छुट्टै ऐन वा कानुनले सम्बोधन गरेको छ भने सोही ऐनमा कसुरको आधारमा दण्ड सजायको व्यवस्था गरेको छ, सोही आधारमा मुद्दा लिएर आउनुपर्ने हुन्छ ।’

तर यो मुद्दामा कसुर एउटा भएको देखिन्छ भने मागदाबी अर्कै लिएर आएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यसकारण कानुनको राहमा राखेर हेर्दा अभियोग मागदाबी पुग्ने देखिएन र सफाई दिइयो । यदि अर्कै कसुरमा मुद्दा ल्याइएको थियो भने अभियोग मागदाबी पुग्न पनि सक्ने थियो कि ?’

प्रत्यारोपण गर्ने डाक्टरको गुनासो– मलाई अनावश्यक रुपमा मुछियो

निदान अस्पतालमा भएको उक्त मिर्गौला प्रत्यारोपणको नेतृत्व डाक्टर पुकारचन्द्र श्रेष्ठले गरेका थिए । उनी हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक छन् । उनकै नेतृत्वमा निदान अस्पतालमा शंकरलालको मिर्गौला प्रत्यारोपण भएको थियो ।

डाक्टर श्रेष्ठका अनुसार उनको काम भनेको अन्तिम समयमा मात्रै हुन्छ । पहिले नै अस्पतालको लिगल कमिटीले आवश्यक सबै व्यवस्था गर्छन् । अन्तिम समयमा मात्रै डाक्टरको टिमले प्रत्यारोपण गर्छन् । डा. श्रेष्ठले भने, ‘मैले हेर्ने भनेको अन्तिम समयमा मात्रै हो । तै पनि मैले प्रत्यारोपण गर्नुपूर्व कागजातमा टाँसिएको फोटो हेरेको थिएँ । मिर्गौला लिने र दिने दुवैजनालाई सोधखोज पनि गरेको थिएँ । उनीहरु दुबै जनाले मामा र भाञ्जा भएको र राजीखुशीमै मिर्गौला दिन लागेको बताएका थिए ।’

त्यसपछि आफू सहितको डाक्टरको टोलीले प्रत्यारोपण गरेको उनले सुनाए । श्रेष्ठले अगाडि भने, ‘तर पछाडि नक्कली व्यक्तिको मिर्गौला झिकिएको भन्दै सोधखोज भयो । म विरुद्ध विभिन्न प्रचारवाजी पनि गरिए । सकेसम्म मलाई सिध्याउनै खोजियो । केही स्वास्थ्यकर्मी साथीहरु नै मलाई सिध्याउन लागिपरे ।’

पछि मानव बेचबिखन अनुसन्धान ब्यूरोले नै आफ्नो कुनै संलग्नता नरहेको भन्दै ‘क्लिन चिट’ दिएको उनले सुनाए । ‘तैपनि म विरुद्ध केही मिडिया र व्यक्तिहरु परिचालित भए । अहिले सबैलाई सफाई दियो भन्ने सुनेको छु,’ उनले भने, ‘यसबारेमा मेरो भन्नु केही छैन । तर कोही व्यक्ति गलत छ भने उसलाई कारवाही हुनुपर्छ, कुनै व्यक्ति पीडित छन् भने न्याय दिनुपर्छ । तर निर्दोषलाई दुःख दिने र बदनाम गर्ने काम गर्नु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप