बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको चुनावी रणनीति, मिल्ने ठाउँमा अन्य दलसँग तालमेल

बुधबार, ०२ चैत २०७८, १७ : १७
बुधबार, ०२ चैत २०७८

राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने भएको हो ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच बुधबार सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिँदै बैठकका सहभागीहरूलाई अध्यक्ष थापाले पार्टीका गतिविधिहरूलाई जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएका थिए ।

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरूको पहिचान गरेर सोही अनुसार निर्वाचनका गतिविधि सञ्चालन गर्न र अन्य राजनीतिक दलहरूसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरी केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागीहरूलाई निर्देशन दिएका थिए ।

राप्रपा नेपालले हालसम्म २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत्र महिनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पुर्‍याउने योजना अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप