सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

धनुषा एमाले अधिवेशन : राजकिशोर यादव पक्षबाट बहिष्कार, बिहीबार निर्वाचन हुने

बुधबार, ०२ चैत २०७८, १६ : २२
बुधबार, ०२ चैत २०७८

नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन लम्बिने भएको छ । अध्यक्ष, पदाधिकारीसहित नयाँ नेतृत्वमा सर्वसम्मतिको प्रयास असफल भएपछि बिहीबार निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलले जिल्ला कमिटीका सदस्यहरुको नाम टुङ्गो लगाएपछि पदाधिकारीमा निर्वाचन हुने जनाएको हो । तर जिल्ला कमिटी सदस्यहरुको नामावली सार्वजनिक भएसँगै राजकिशोर यादव समूहले भने विरोध गर्दै अधिवेशन बहिष्कार गरेको छ ।

धनुषा जिल्लामा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन समेत काम लागेन । ओली पक्षकै वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समूहले बन्दसत्र बहिष्कार गरेको हो ।

अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भन्दै सहमतिका आधारमा चयन गरिएका जिल्ला कार्य समिति सदस्यको नाम बन्दसत्रमा सुनाएको थियो । लगत्तै राजकिशोर यादवले भने पदाधिकारीसहित सदस्यहरु समेत एकै पटकमा टुंगो लगाउन माग गर्दै बन्दसत्र बहिष्कार गरेका हुन् ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नसमेटिएका साथीहरुलाई पछि पनि व्यवस्थापन गर्न सकिने भएकाले सर्वसम्मत रुपमै जिल्ला कमिटी चयन गर्न आग्रह गरे । उनले भने, ‘अहिले तपाईहरु समक्ष जिल्ला कमिटीका सदस्यहरुको नामावली घोषणा गरिनेछ, तर तपाईहरुले जबसम्म थपडी बजाएर पारित गर्नुहुन्न, तबसम्म त्यो लागु र कार्यान्वयन नहुने भएकाले सुनेर पारित गर्नका लागि आग्रह गर्दछु ।’

त्यसपछि अध्यक्ष मण्डलका एक सदस्यले जिल्ला कमिटीका सदस्यहरुको नामावली वाचन गरेर सुनाएका थिए । अधिकांश प्रतिनिधिले थपडी बजाएर पारित गर्न म्यान्डेट दिए पनि राजकिशोर यादव समूहले भने विरोध तथा बहिष्कार गरेको हो ।

एमाले नेताहरुका अनुसार यादवलाई अध्यक्षमा निरन्तरता दिन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नैथियो । यादवलाई सर्वसम्मत अध्यक्ष बनाएपछि अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या उत्पन्न भएपछि निर्वाचन हुन लागेको जनाइएको छ ।

अध्यक्षका आकांक्षीमध्ये तेजनारायण यादव पूर्व माओवादी पक्षका हुन् भने अक्षयलाल महतो रघुवीर महासेठ निकट र लक्ष्मी यादव भने सञ्जीव पक्षधर हुन् । केन्द्रमा सचिव महासेठसमेत ओली पक्षधर रहे पनि जिल्ला अध्यक्ष यादव उनीसँग सन्तुष्ट छैनन् ।

महासेठको कार्यशैलीको विरोध गर्दै उनले केही समय अघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं पुगेरै गुनासो गरेका थिए ।

यता पूर्व माओवादी परित्याग गरेर एमाले बनेका तेजनारायण यादवले पनि अध्यक्षमा दाबी गर्न छोडेका छैनन् । स्रोतका अनुसार अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्षमा यादव, उपाध्यक्षमा महतो, सचिवमा तेजनारायण यादवलाई सर्वसम्मत गर्ने आन्तरिक तयारी छ । तर अध्यक्ष पदका अर्का आकांक्षी लक्ष्मी यादवको व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् । तर सचिव रघुवीर महासेठ पक्षले भने यादवलाई पुनः अध्यक्ष नमान्ने अडान कायम राखेको थियो ।

निर्वाचन प्रक्रिया अघि बढ्यो

यता अध्यक्षसहित पदाधिकारीमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको छ । निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले सूचना टाँस गर्दै अध्यक्षका लागि १० हजार, उपाध्यक्षका लागि ७ हजार, सचिव पदका लागि ५ हजार र सदस्य पदका लागि एक हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको जनाएको छ ।

निर्वाचन अधिकृत तथा अधिवक्ता चन्द्रप्रकाश मैनालीले सूचना टाँस गर्दै उम्मेदवारी दस्तुर फिर्ता नहुने समेत जनाएका छन् । मतदान बिहीबार दिउँसो ५ बजेसम्म हुने र मतदान सकिएलगत्तै मतगणना हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप