नारी मुक्ति आन्दोलनको साँगुरिएको बाटो
खास गरी नारी आन्दोलन १९औँ शताब्दीमा सुरु भए पनि यसको आधुनिक रुप सन् १९६० पछि मात्र सुरु भएको र यसलाई विश्वव्यापी रुपमा स्वीकारिएको छ । यो लैङ्गिक समस्याका रुपमा अगाडि आएको र यसले आर्थिक, राजनीतिक र लैङ्गिक स्वतन्त्रताका तीन आयामहरुलाई समावेश गरेको छ । यसैले राजनीति शास्त्रले लैङ्गिक विषयलाई समेत अध्ययनको बिषय बनाएको छ । वर्तमान अवस्थामा नारीवादी आन्दोलन राजनीतिक क्षेत्रमा अत्यन्त महत्वपूर्ण आन्दोलनका रुपमा रहेको छ । नारी मुक्तिका लागि मार्क्सवादी र नारीवादी विचारधाराका दुवै आन्दोलन भइरहेको पाइन्छ । दुवैको लक्ष्य नारीको समकालीन समाजमा पिछडिएका र शोषित भएको स्थिति अन्त्य गरी उचित स्थान दिलाउन र दुवै लिङ्गलार्ई पूर्ण समानतामा ल्याउने नै रहेको छ ।
नारीवादीहरु महिलाको शोषण गर्नमा पितृसत्तात्मक अवस्थालार्ई मुख्य जिम्मेवारका रुपमा मान्ने गर्दछन् । उनीहरु समाजको आधारभूत विभाजनलार्ई लैङ्गिक विभाजनका रुपमा वर्णन गर्दछन् । महिला शोषणको मुख्य कारण लोग्ने मानिसमा भएको महिलामाथि नियन्त्रण र प्रभुत्व गर्ने चाहनालार्ई मुख्य कारण मान्ने गर्दछन् । उता मार्क्सवादीहरु भने समाजमा भएको अन्तरविरोध लिङ्गको आधारमा नभएर वर्णमा भएको मान्दछन् । मार्क्सवादले पुरुष र महिला दुवै शोषित भएको विचार राख्दछ र शोषण विरुद्धको संघर्षलाई प्रमुखता दिन्छ ।
नारीलार्ई पनि पुरुष सरह नै अधिकार प्रधान गरी मुक्तिका लागि भएका आन्दोलन नारी मुक्ति आन्दोलन हो । नारीहरुलार्ई सम्पत्तिमा अधिकार दिने, राजनीति मताधिकार प्रदान गर्ने र संगठनात्मक रुपमा नारी मुक्ति र एकता तथा नारी अधिकारको प्रत्याभूतिका लागि अन्तर्राष्ट्रिय राष्ट्रिय तहमा विभिन्न महासन्धि भएका छन् । यसमा सामाजिक राजनीतिक तथा सांस्कृतिक अधिकारका लागि महासन्धि रहेको छ । समाजवादी आन्दोलनमा नारीको सामाजिक समानता र आर्थिक अधिकारमा जोड दिएको पाइन्छ भने उदारवादी पुँजीवादी प्रणालीमा राजनीतिक अधिकारलाई प्रमुखता दिएको पाइन्छ । तर सन् १९६० को दशकमा नारीवादी आन्दोलनलाई परिवारको स्वतन्त्रताको आन्दोलन र यौन स्वतन्त्रताको आन्दोलन जस्ता कुरामा समेत जोडिएको छ ।
नारी मुक्ति आन्दोलन पहिले अमेरिका र युरोपबाट सुरु भयो । तर यसको अझैसम्म कुनै विश्वव्यापी सिद्धान्त बन्न सकेको देखिदैन । केही आंशिक सिद्धान्त बनेपनि यो समग्र नारी आन्दोलनको ब्याख्या गर्न असमर्थ रहेको छ । नारी आन्दोलनलार्ई प्रारम्भिक वा उदारवादी तथा उत्तरवर्तीको रुपमा बहस गर्दा सहज हुन्छ ।
प्रारम्भिक महिला आन्दोलन
सर्वप्रथम न्यूजील्यान्डमा मतदानको अधिकारका लागि महिलाहरुले आन्दोलन गरेका थिए । त्यही आन्दोलनको फलस्वरुप सन् १७८४ मा मतदानको अधिकार प्राप्त गरेका थिए । उता फ्रान्समा १९औ शताब्दीसम्म विवाहित र अविवाहित महिलामा समेत भेद थियो । अविवाहित स्वतन्त्र मानिन्थे भने विवाहित लोग्नेको अधिनमा हुन्थे । यो अवस्थाको अन्त्य सन् १९७४ मा मात्र भएको हो ।
समाजवादी नारी आन्दोलनकारीहरु उदार महिला आन्दोलनलाई मध्यवर्गीय महिलासम्म मात्र सीमित रहेको मान्दछन् । मेरि बाल्सटन क्राफटले महिलावादमाथि सबैभन्दा पहिले ‘बिन्डिकेसन अफ द राइट्स अफ वुमेन’ भन्ने पुस्तक लेखिन्, जसमा महिलासम्बन्धि सबै खालका परम्परावादी धारणाको खण्डन गर्दै महिलालाई पुरुषको समकक्ष भएको लेखेकी थिइन् । उनको भनाइ थियो, उचित शिक्षा र प्रोत्साहन पाएमा महिला पनि पुरुषको समकक्षी बन्न सक्छन् । अर्की अमेरिकी लेखिका पाकिन्स गिलमनले सन् १८९८ मा महिलालाई पुरुषले अविवेकपूर्ण पारिवारिक सम्बन्धमा बन्दी बनाएर उसलाई मानवताबाट उन्नतिमा योगदान गर्नबाट वञ्चित गरेको भनी लेखेकी छन् ।
साइमन डी बुआ (१९५२) तथा वेटी फ्रिडन (१९६३–१९८६) ले महिला आन्दोलनलाई अगाडि बढाउने काम गरे । बुआले महिलालाई लिङ्गका आधारमा नभएर आफ्नो बौद्धिकता तथा स्वतन्त्रताका आधारमा परिभाषित गर्नुपर्दछ भनी विचार राखेकी थिइन् । महिलालाई अधुरा, अबला, आधा, असहाय वा अधिनस्थ भनेर उसको स्वतन्त्रता तथा सुरक्षाको लागि पुरुषको वर्चस्व वा स्वामित्व स्थापित गरिनु हुँदैन भन्ने उनको जिकिर थियो ।
उता फ्रिडनले लैङ्गिक समानतालाई पुरुष तथा समाजको भलाईका लागि आवश्यक मानेकी छन् । र, शिक्षा तथा संचारको माध्यमले आफ्नो द्रृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भनेकी छन् । साइमन डी बुआले आफ्नो पुस्तक ‘सेकेण्ड सेक्स’मा महिलाको स्थिति सम्बन्धमा महिलावादीहरुलाई उत्प्रेरित गरेकी छन् । यसबाट महिला दर्शनमा लैङ्गिक समानतालाई महत्वपूर्ण स्थान दिलाउने प्रयास गरिन् ।
यस्तै डोरोथी पारकरले ‘मडर्न वुमेन द लास्ट सेक्स’ भन्ने पुस्तकमा महिलालार्ई महिलाका रुपमा राखिएको पुस्तकहरुलाई न्यायपूर्ण मानेकी छैनन् । उनले स्त्री–पुरुषलाई मानवका रुपमा लिनुपर्ने मत व्यक्त गरेकी छन्, साथै पुरुष र महिलालाई छुट्टै रुपमा प्रस्तुत गर्नुलाई अन्याय मानेकी छन् ।
उत्तरवर्ती महिला आन्दोलन
पछिल्लो उत्तरवर्ती महिला आन्दोलनको विचारधारा महिलाको, महिलाद्वारा महिलाको लागि हो । उनीहरु स्वयम्ले आफ्नो उद्धार गर्दछन् भन्ने मान्यता उत्तरवर्ती महिलावादी आन्दोलनकर्मीहरुको रहेको छ । पछिल्लो अवस्थामा महिलाहरुले पुरूषसँगको संगठनमा सहकार्य गर्नुलाई उचित मान्दैनन् । यस विचारधाराका प्रवक्ता रुपमा रहेका नेतामा काटे मिलेट, जर्मेन ग्रिर तथा शुलामिथ फायरस्टोन रहेका छन् ।
काटे मिलेटले नववामपन्थी विचारबाट प्रभावित भएर पितृसत्तात्मक नारीको अधिनता दमनको मूल कारण हो भनेका छिन् । सबै कुरा पुरुषद्वारा निर्धारित गरिन्छ । जन्म लिने वित्तिकै कन्याको मनमा कानुन, परम्परा, भाषा, समाज विज्ञान, लोकसंस्कृति तथा सञ्चार माध्यमबाट उसमा हीनताको भावना पार्ने काम हुन्छ । उसलाई पत्नी तथा आमा बन्नुपर्छ, घर सम्हाल्नुपर्छ । नम्र, विनम्रका साथै राम्री हुनुपर्छ भन्ने कुरा उसको मनमा राम्ररी प्रभाव पार्ने काम गरिन्छ, उनले अगाडि भनेका छन् ।
पुरुष दुश्मन हो भन्ने भ्रमपूर्ण आधारमा मिलेटको सिद्धान्त टिकेको छ । उनको सोच मध्यवर्गीय गोरा महिलासँग सम्बन्धित छ । उनी अश्वेत श्रमिक महिला तथा पिछडिएका देशका महिलाको अनुभवसँग अनभिज्ञ छन् । आफ्नो सबै स्वरुपमा पुरुष सदैव दमनकारी मात्र नभएर सहयोगी र मित्र शक्तिका स्वरूपमा रहेको कुरालाई उनको उग्र महिलावादी सिद्धान्तले वेवास्ता गरेको पाइन्छ ।
उता शुलामिथ फायरस्टोन नारी दमनको कारण वर्ग वा सामाजिकीकरणको र समाजको संरचना वा प्रक्रियालाई मान्दिनन् । उनले असमानताको मूल कारण महिलामाथि पुरुषद्वारा हुने दमनलाई मानेकी छन् । मार्क्सले जस्तो आर्थिक कारणलाई उनी असमानताको कारण मान्दिनन् । विज्ञानद्वारा कृत्रिम प्रजनन तथा शिशुपालनको सामाजिकीकरण गर्नु नै महिला मुक्तिको मार्ग हो भन्ने उनको दृष्टिकोण छ । उनले लैङ्गिक दमन नारी दासताको जड हो भनेकी छन् ।
शिशु पैदा गर्ने तथा पालनपोषण गर्ने कुरामा पनि राजनीतिक दायित्व लिनुपर्ने फायस्टोनको माग छ । शताब्दीयौदेखि पुरुषको पितृसत्तात्मक शक्तिको आधार दमनको कारण आर्थिक नभएर जीवनशास्त्रीय कारण हो भन्ने उनको मान्यता छ । त्यसैले गर्भभन्दा बाहिर कृत्रिम प्रजनन नै भविष्यमा महिला मुक्तिको मूल कारण बन्न सक्नेछ भन्ने पनि उनको मान्यता छ । जबसम्म महिलाले गर्भबाट बच्चा जन्माउँछिन्, त्यसबेलासम्म दमनको कारण बन्दछ र महिला मुक्त बन्न सक्दैन भन्ने उनको मान्यता छ ।
अन्ना कोडेटले द माइथ अफ द भिजिनल अर्गान्स पुस्तकमा विपरीत लिङ्गी यौनाचारलाई नै अस्वीकार गरेकी छन् । उनले यौनसुखका लागि पुरुषसँगको सहवास अनावश्यक हो भनेकी छिन् । विपरीत लिङ्गी सहवास एक दमनकारी राजनीतिक संस्था हो भन्ने उनको मान्यता छ । आफ्नो सम्पूर्ण अङ्गमाथि आफ्नो नै सार्वभौमिक अधिकार स्थापना गर्नुपर्दछ र विपरीत लिङ्गीय यौनसम्बन्ध समाप्त गर्नुपर्दछ भन्ने उनको दृष्टिकोण छ । उनले समलिङ्गी सहवासलाई यसको विकल्पका रुपमा प्रस्तुत गरेका छन् ।
अन्तमा, महिला महिाल मात्र समुदायमा बस्दा पनि अनेक समस्या उत्पन्न हुन सक्दछ । पुरुष शक्तिलाई अलगाव राख्नु अनि पुरुष शक्तिको समाधान स्थानापन्न मातृत्व, कृत्रिम गर्भाधान, एकांकी जीवन आदिले पनि नयाँ खालका समस्या उत्पन्न गर्न सक्दछ ।
लेखक कानुनमा प्लस टु अध्ययरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?