आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

बुधबार, ०२ चैत २०७८, १५ : ३७
बुधबार, ०२ चैत २०७८

खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।  उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा खैरो हेरोइन १९१.७१० ग्रामसहित अवैध कारोबारमा संलग्न १२ जना  मानिसहरुलाई पक्राउ गरिएको हो ।

गत फागुन २३ गते काठमाडौँको कागेश्‍वरी मनोहरा नपा वडा नं. ७ स्थित सडक किनारमा ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई १५० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको थियो । नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न ३० वर्षीय देवीसिं तामाङलाई सोही दिन १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुरको चाँगुनारायण नपा वडा नं. ४ बाट पक्राउ गरिएको थियो ।

तामाङसँग लागु औषध कारोबारमा संलग्न मोरङ घर भएकी ३१ वर्षीया कविता गुरुङ र काभ्रेपलान्चोक निवासी ३३ वर्षीय मिलन लामालाई गुरुङको काठमाडौँको कागेश्वरीमा रहेको डेरा कोठाबाट ६५.५ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोको भनाइ छ । 
यता गुरुङलाई लागुऔषध उपलव्ध गराउने जिल्ला सुनसरी घर भएका २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई ९६ ग्राम ७९० मिलिग्राम हेरोइनसहित फागुन २७ गते पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

ब्यूरोले  फागुन २६ गते जिल्ला सिन्धुपाल्चोकका २५ वर्षीय रोमन भण्डारी र दोलखाका २५ वर्षीया प्रज्ञा कार्कीलाई काठमाडौँको कागेश्‍वरीबाट २९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । साथै उक्त कारोबारमा संलग्न भारत पश्‍चिम बंगाल मेदनापुर देवराथाना ठेगाना भएका २९ वर्षीय मिजाहिद राजालाई पनि १०० मिलिग्राम खैरो हेरोइनसहित पेप्सीकोलाबाट र सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राजेश नेपाललाई पनि ब्यूरोले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप