बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी कालजयी भयो मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ?

बुधबार, ०२ चैत २०७८, १५ : १२
बुधबार, ०२ चैत २०७८

नाटकमा रुचि राख्ने अलि पहिलेको पुस्तालाई ‘अनि देउराली रुन्छ’ नाटक र यसका सर्जक मनबहादुर मुखियाबारे थाहा छ । तर अहिलेका पुस्ता उनीबारे अनभिज्ञ छ । दोलखाको दुर्गम गाउँ बाबरेमा विसं. २००४ चैत २ गते जन्मिएका मनबहादुर मुखियालाई केटाकेटी छँदै बाबुआमाले दार्जिलिङ लगेका थिए । उनी हुर्केबढेको ठाउँ दार्जिलिङमा बङ्गालीहरूको बाहुल्य थियो । उनको वसोबास नजिकै रहेको इन्डियन इथ्निक हलमा वर्षैभरि बङ्गाली भाषाका नाटक, सांस्कृतिक कार्यक्रम हुने र भाषा नबुझे पनि हेरेर आनन्द लिन्थे । उक्त हलभन्दा करिब १० किमि टाढा गोर्खा दुःख निवारण सङ्घ नामक अर्को एउटा संस्था थियो । त्यहाँ पनि गएर उनी नाटक हेर्थे । उनी बस्ने टोलमा पनि विभिन्न क्षेत्रका कलाकारहरू बसोवास गर्थे । उनीहरूको सङ्गत पनि बढ्यो । सोही समय (विसं २०११, १२) देखि नै नाटकमा उनको रस बस्यो ।

उनी सन् १९७२ मा आफ्नो जन्मघर आउने मौका पाए । आफ्नो मातृभूमिप्रतिको आगाध प्रेमका कारण आफू जन्मेको गाउँठाउँ, भौगोलिक अवस्था, रहनसहन, भाषा, संस्कृतिबारे गहन तरिकाले बुझ्ने मौका पाए । गाउँमा हुने शोषण, छुवाछूतजन्य भेदभाव, महिलाहरूमाथि हुने अत्याचार, गाइनेका कथा सबै उनले प्रत्यक्ष देखे । त्यहाँको सामाजिक आर्थिक रूपले विषम स्थितिको सूक्ष्म निरीक्षण गरे । त्यो परिवेशले उनको मनमा काँडाझैँ बिझ्यो । यही परिदृश्यले ‘अनि देउराली रुन्छ’ नाटकको परिकल्पना गरेका थिए । यिनै कुरा नाटकमा उतारेको उनले बताएका छन् ।

यसरी चर्चित भयो यो नाटक

अनि देउराली रुन्छ यो नाटक मुखियाले २५ वर्षको उमेरमा २०३० सालमा तयार गरेका थिए । १९७२ अक्टोबर ६ तारिखमा पहिलो पटक दार्जिलिङमा सो नाटक प्रदर्शन भएको थियो । दार्जिलिङमा हुने यस्ता साहित्यिक कार्यक्रम र महोत्सवहरूमा नेपालबाट पनि विभिन्न साहित्यकारहरू आउजाउ गर्थे । त्यस क्रममा सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल लगायतले उक्त नाटक हेरेपछि नेपालमा पनि प्रदर्शन गराउन इच्छा व्यक्त गरे ।

दार्जिलिङमा प्रदर्शित उक्त नाटकको काठमाडौंमा निकै चर्चा हुन थाल्यो । त्यही क्रममा सत्यमोहन जोशी, लैनसिंह वाङ्देलले सो नाटक नेपालमा प्रदर्शन गर्न पहल गरे । प्रज्ञा प्रतिष्ठानले साहित्य महोत्सवको अवसर पारेर दार्जिलिङबाट त्यो नाटक टोलीलाई बोलायो । सन् १९७६ मा दार्जिलिङबाट मनबहादुर मुखियासहितको कलाकार टोली नेपाल आएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । पटक पटक गरी करिब ४ वर्षसम्म दार्जिलिङबाट कलाकारहरू आएर यो नाटक प्रदर्शन गरे । उनी भन्छन्, “यो नाटक प्रदर्शनपछि नेपाली नाटकबाट पनि कमाउन सकिन्छ भन्ने विश्वास दिलाएको थियो ।” किनभने त्यो नाटक देखाउन सुरु गरेपछि दर्शकहरूको भीड बढेको थियो । काठमाडौंका यत्राविधि दर्शक यसअघि कहाँ थिए जस्तो गरी मान्छे ओइरिएका जोशी बताउँछन् ।

उनी सम्झन्छन्, “त्योबेला नाटक हेर्ने भीडले गर्दा कमलादीको एकेडेमीबाट टिकट बेच्न सकिएन । थामिनसक्नु भएपछि भृकुटीमण्डपमा टिकट बिक्री गर्न काउन्टर बनेको थियो । एकेडेमीमा प्रदर्शन गर्ने सो नाटकको टिकट भृकुटीमण्डपबाट बेच्न सुरु गर्यौं ।” त्यहाँबाट टिकट बेच्दा पनि भीड निकै हुन्थ्यो तर धेरै व्यवस्थित रहेको उनी बताउँछन् ।

मुखियाले भनेका छन्, “यो नाटकले अचम्मै गर्यो । त्यसको ‘देउरालीका ठिटी हो’, ‘हे फूल चुँडेर लाने हो’ लगायत गीतले नाटक भनेकै त्यही गीत हो भनेजस्तै बनायो ।” उनका अनुसार कथावस्तु त थियो नै, त्यसमाथि शब्द–सङ्गीत–स्वर पनि परिपूरकझैँ बनेका थिए । यसरी मानवीय संवेदनालाई सूक्ष्म रूपले व्याख्या गर्न नाटकभित्र गीतसङ्गीत प्रयोग गरिनु अपरिहार्यझैँ थियो भन्छन् उनी ।

झन्डै दुई सातासम्म चलेको त्यो नाटक हेर्न राजपरिवारका सदस्य पनि आएका थिए । राजारानी आफैँ नाटक हेर्न आएर असाध्यै प्रभावित भएपछि एक लाख नेपाली रुपियाँ सहयोग गरेको मुखिया बताउँछन् ।

तर त्यो नाटकमा प्रयोग भएको गीतका केही शब्द हेरफेर गरेको उनले पछि थाहा पाएका थिए । उनी भन्छन्, “नेपालको तत्कालीन राजाको शासनका कारण होला, मेरो एउटा गीतको शब्दमा हेरफेर गरिएको रहेछ । कुमार–कर्मसहितको टोली काठमाडौंको रत्न रेकर्डिङ स्टुडियोमा ‘अनि देउराली रुन्छ’ को गीत रेकर्ड गराएर आएपछि र रेडियोबाट गीत बज्न थालेपछि मात्रै यस्तो शब्द हेराफेरीबारे थाहा पाएको थिएँ ।” मैले लेखेको ‘सारङ्गीको तारले’ गीतको बीचको अन्तरामा ‘मेरो स्वरमा झुपडी र दरबारको कथा’ थियो, पछि रेकर्डमा भने ‘मेरो स्वरमा आफ्नै गाउँ र बस्तीको कथा’ भएको रहेछ उनी भन्छन् ।

यस्तो छ नाटकको कथावस्तु

नाटकमा दोलखाको ग्रामीण भेगको परिवेश पहिलो दृश्यले देखाउँछ । त्यहीँका उकाली–ओराली, काफलको बोट काट्दै गरेका दृश्यबाट यसको सुरुवात हुन्छ । अम्बरे भन्ने पात्रले बिर्खेलाई, ‘हन कता हिँड्यौ होइ दुई भाइ ?’ भन्दै नाटकको सुरुवात हुन्छ । उनीहरू तीन भाइबीच केहीबेर गफगाफ हुन्छ र रणध्वज खड्काकी कान्छी छोरी मैयाँँको बिहेको प्रसङ्ग चल्छ ।

जुना र अम्बरबीचको प्रेम सम्बन्ध हुन्छ । चतुरमान भन्ने पात्रको षड्यन्त्र, जालझेल तथा खुराफातीले शमशेर र कान्छी मुग्लानमा भासिन्छन् । गाउँलेहरूलाई सयकडा पैँतीस व्याजमा ऋण दिएर रणध्वज जस्ताको उठिबास लाउँछन् ।

माथिल्ला वर्गका चूडानाथ, चतुरमानजस्ता पात्रहरूको स्वार्थ र षड्यन्त्रको सिकार बनेर धेरै गाउँलेहरू मुग्लान भासिएको कथा यसमा छ । सम्पन्न र विपन्नबीचको द्वन्द्वात्मक अवस्था देखाइएको छ ।

प्रस्तुत नाटकमा जुना, कान्छी, मैयाँँ, पम्फा, खत्रिनी, बाबरी, मामा, रणध्वज, अम्बर, सन्ते, बहादुरे, चूडानाथ, खुलाल, बिर्खे, भुजेल, शमशेर, गाइने, कलकाँधे, च्वाँचे, चतुरमान जस्ता पात्रहरूले प्रत्यक्ष भूमिका निभाएका छन् ।

अत्यधिक ऋणका कारण, माथिल्लो वर्गले दिएका पीडाका कारण, आफूले प्रेम गरेको व्यक्तिसँग विवाह नभएका कारण, सुखको खोजीमा परदेशिएको कथालाई नाटकमा प्रस्तुत गरिएको छ ।

संवाद भन्दा गीत प्रभावकारी

दार्जिलिङका कलाकारले तयार पारेको त्यो नाटकको कथावस्तु नेपालकै गाउँघरको थियो । त्यसमा दुःख पाएर मुग्लान जानेहरूका कथाव्यथा, गाउँका शोषक–सामन्तीहरू र विषमताका बीचमा बाँचिरहेका छोरीबेटीहरूको मन पगाल्ने कथा सरल किसिमले प्रस्तुत गरिएको थियो ।

नाटकमा संवादले भन्दा गीतले प्रभावकारी रूपले पीडाहरूलाई व्यक्त गर्न सक्छ भन्छन् मुखिया । उनी भन्छन्, “पात्रको परिस्थिति र परिवेशलाई प्रभावकारी बनाउन नाटकको बीचबीचमा गीत लेखिन्छ ।” यस नाटकमा केही गीतहरू पनि प्रस्तुत गरिएका छन् । गीतहरू पनि नेपाली डाँडापाखाका भाकाहरू समेटिएका औधी राम्रा छन् । त्यसैमध्येको एउटा थियो, ‘सारङ्गीको तारले’  । गाइनेको गीतमार्फत् व्यक्त भएको जातिभेद, वर्गभेद, छुवाछूतको अवस्था अझै उस्तै छ । पात्र मत्रा परिवर्तन भएका हुन्, प्रवृत्ति उस्तै छ भन्छन् उनी ।

त्यसैगरी छोरीलाई बिदाइ गरेर पठाउँदा माइतीको भावना बोकेर पृष्ठभूमिमा बज्ने ‘हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि ?’  भन्ने गीत पनि मन पगाल्ने थियो । त्यसमा अरू पनि धेरै राम्रा गीत थिए । समूहमा नाचगानका प्रस्तुति पनि समेटिएको थियो ।

यस्तै उक्त नाटकमा प्रस्तुत गरिएको अर्को गीत हो देउरालीका ठिटी हो, नक्कल पार्नु पर्दैन । यो गीत धेरैको मुखमा झुन्डिएको थियो । यसमा नेपाली डाँडापाखाका भाका र गाउँलेहरूको मन छोएको थियो ।

यी सबै गीतको लेखन मुखिया आफैँले गरेका थिए, नाटकको निर्देशन पनि आफै गरेका थिए । अहिले परिवेश बदलिएको छ तर प्रवृत्ति र नियति फरक छैन भन्ने नाटकले देखाएको छ । अझै हजारौँ, लाखौँ नेपाली, नेपाली चेलीहरू विदेशिन बाध्य छन् ।

नाटकमा देखाइएका परिदृश्य अझै उस्तै छन् । धनी गरिबबीचको वर्गीय विभेद, शोषण, दमन र गाउँठाउँ छोडेर परदेशिन बाध्य नेपालीको अवस्था उस्तै छ । त्यही भएर यो नाटक करिब ५० वर्षपछि पनि नयाँ पुस्ताले मञ्चन गरिरहेका छन्, हेरिरहेका छन् ।

मुखियाका अन्य रचना

औपचारिक शिक्षा दार्जिलिङमै सुरु गरी एमए, बीएड गरेका मनबहादुर मुखियाले लामो समय प्राध्यापन सेवामा विताए । उनको पहिलो साहित्यिक सिर्जना भने दार्जिलिङको जनदूत मासिक पत्रिकामा प्रकाशित ‘स्वतन्त्रता अनि वियोग’ (सन् १९६६) कथा हो । योसँगै सार्वजनिक साहित्यमा प्रवेश गरेका उनका जिरिखिम्तेको दुर्दशा (२०१९), ‘अध्याँरोमा बाँच्नेहरू’ (२०२९), अशिवम् असुन्दरम् (२०३२), जिन्दगी (२०३४) ‘फेरि इतिहास दोहोरिन्छ’, ‘क्रसमा टाँगिएिको जिन्दगी’, ‘विद्रोही राजरक्त’ आदि हुन् । उनी दार्जिलिङमा रहँदा नेपाली साहित्य सम्मेलन र गोर्खा दुःख निवारण सङ्घका सदस्य पनि भएका थिए ।

आजीवन नेपाली साहित्य सेवामा समर्पित मुखिया विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नाटक प्रतियोगितामा स्वर्ण पदक र राजा वीरेन्द्रबाट नगद पुरस्कार (एक लाख), रत्नश्री स्वर्ण पदक, नाट्य कला निकेतन दार्जिलिङद्वारा नाट्य लेखन, निर्देशन र अभिनयका लागि प्रथम पुरस्कार लगायतका सम्मान प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप