दिल्लीबाट आयो डा. शर्माको एग्रिमो, लाग्यो ९५ दिन
भारतले प्रस्‍तावित नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भारतबाट डा. शर्माका लागि एग्रिमो आएको जानकारी दिएका छन् । स्रोतका अनुसार एग्रिमोसम्बन्धी पत्रमा भारतले मंगलबारको मिति राखेको छ । अब शर्मालाई राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली राजदूत पदमा नियुक्ति दिनेछिन् ।
शर्मासँगै एकै मितिमा अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पत्राचार गरेको थियो । बेलायत र अमेरिकाले तीन महिना नबित्दै एग्रिमो पठाइसकेका थिए । तर, भारतले नेपालका कूटनीतिहरूसँगको कुराकानीमा विधानसभा चुनाव र विदेशमन्त्रीको व्यस्ततालगायत कारण देखाउँदै शर्माका लागि अग्रिमो पठाएको थिएन । सामान्यतया: आग्रह गरेको ४ देखि ६ हप्ताभित्र एग्रिमो पठाइसक्ने चलन छ ।
डा. शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए । अर्थशास्त्री शर्माले राष्ट्रिय योजना आयोग उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
२०७५ माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पछिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले गत असोज ५ गते ‘राजनीतिक नियुक्तिका राजदूतहरूलाई फिर्ता बोलाउने’ निर्णय गरेको थियो । त्यसपछि १० राजदूत फिर्तीमा परेका थिए । ती मध्ये आचार्य सबैभन्दा पहिले कात्तिक ३ गते स्वदेश फर्किएका थिए ।