शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरी नाकामा चीनको थिचोमिचो – नेपाललाई सामान बेच्छ, तर किन्दैन

चाहेको सामान पनि ल्याउन दिएन – व्यवसायी
बुधबार, ०२ चैत २०७८, १० : ३२
बुधबार, ०२ चैत २०७८

नेपाल–चीन वैदेशिक व्यापार गर्न उत्तरतर्फ हाल दुईवटा नाका सञ्चालनमा छन् । रसुवा जिल्लाको रसुवागढी र सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाका नेपाल र चीनबीच सिधा व्यापार गर्ने दुईवटा नाका हुन् । तर, यी दुई वटै नाकामा चीनले वर्षौदेखि नेपालमाथि थिचोमिचो गर्दै आएको छ ।

भन्सार विभागले सार्वजनिक गर्ने प्रत्येक महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले पनि यही देखाउँछ । नेपाल–चीन वैदेशिक व्यापार गर्न सञ्चालनमा आएका यी दुई नाकाबाट विगत ३ वर्षदेखि नेपाललाई सामान बेचेको बेच्यै छ, त्यो पनि आफ्नै शैलीमा । यसको अर्थ, नेपालले चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै किन्ने सामान पनि यताको बजारलाई चाहिएजति पठाउँदैन ।

विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनाको तथ्यांकअनुसार रसुवा र तातोपानी नाकाबाट चीनतर्फ शून्य निर्यात छ । यी दुई वटै नाकाबाट चीनतर्फ निकासी भएको छैन । तर, यी दुई वटा नाकाबाट चीनतर्फ निर्यात ठप्प भएको आर्थिक वर्ष २०७७/७८ देखि नै हो । उक्त आर्थिक वर्षमा पनि नेपालबाट चीनतर्फको निकासी शून्यमा थियो ।

आर्थिक वर्ष २०७६/७७ मा भने नेपालबाट रसुवागढी नाका हुँदै ५८ करोड २३ लाख रुपैयाँको र तातोपानी नाका हुँदै १३ करोड ७६ लाख रुपैयाँको निर्यात भएको थियो । त्यसयताका दुई आर्थिक वर्षमा निर्यात शून्य रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपाल–चीन चेम्बर अफ कमर्सका महासचिव विवेक पौडेलले सरकार समक्ष पटक–पटक अवरोध खुलाउन अनुरोध गरिसकेको बताए । ‘भन्सार विभागसँगको बैठकले हामीले धेरै पटक यस विषयमा कुरा उठाएका छौँ,’ ‘उनी भन्छन्, ‘तर हामीले भनेको कुरा राज्यले नसुन्या हो वा चिनियाँ पक्षले नेपाल सरकारलाई नसुन्या हो । हामी अन्योलमा छौँ ।’

नेपालतर्फको निर्यातमा पनि परिमाणात्मक बन्देज

नेपालबाट आयात पूर्ण रूपमै ठप्प पारेको चीनले नेपालतर्फको निर्यातमा पनि परिमाणात्मक बन्देज लगाएको छ । २०७६ माघदेखि तातोपानी र रसुवागढी भन्सार कार्यालयबाट निर्यातमा कोटा प्रणाली लगाएको चीनले अहिलेसम्म त्यसलाई हटाएको छैन ।

चीनले परिमाणात्मक बन्देज लगाउँदै निर्यात गरे पनि चालू आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा २४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यस्तै, गत वर्ष २०७७/७८ मा २३ अर्ब ८५ करोड रुपैयाँ र २०७६/७७ मा ३५ अर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो । अघिल्ला आर्थिक वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भने आयात बढेको भन्सार विभागले जानकारी दिएको छ ।

अहिले पनि चीनले तातोपानी नाका र रसुवागढी नाकाबाट दैनिक ८ वटा कन्टेनर सामान मात्र नेपालतर्फ पठाउँदै आएको छ । नेपाल र चीनका प्रतिनिधिबीच स्थानीयस्तरमा धेरै पटक सम्झौता भए पनि त्यसलाई कार्यान्वयन गर्न भने चीन नमानिरहेको सरकारी अधिकारीहरू बताउँछन् । यद्यपि, अहिले नेपाल राष्ट्र बैंकले आयातमा एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले दैनिक ८ वटा कन्टेनर पनि रोकिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनले नेपालको वैदेशिक व्यापारमा मनपरी गर्दै आएको बताउँछन् । चीनबाट नेपालतर्फ विभिन्न वस्तुहरू आयात समेत गर्दै आएका शाक्यले विगत तीन वर्षदेखि कोटा प्रणाली लगाएर चीनले नेपाललाई राम्रोसँग सामान किन्न समेत नदिएको उल्लेख गर्छन् । लामो समयदेखि नेपालसँगको वैदेशिक व्यापारमा चीनले मनपरी गर्दै आएकोरूपमा लिने शाक्य भन्छन्, ‘चीनले नेपालतर्फको सामान किन्दै किन्दैन । उताबाट बेच्ने र हामीले आफ्नो पैसा खर्च गरेर किन्ने सामान पनि मागअनुसारको पठाउँदैन ।’

यस्तै, भन्सार दिवसमा चेम्बरले आयोजना गरेको कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले व्यापारिक नाकाको अवरोध हटाउन पटक–पटक अनुरोध गरे पनि चीनले नमानेको बताएका थिए । उनले नेपाली पक्षले भेट्न चाहे पनि चिनियाँहरूले कोभिड–१९ का कारणले भेट्न नमिल्ने म्यासेज पठाउने गरेको समेत उनको भनाइ थियो । ‘सन् २०१९ देखि नै चीनले तातोपानी र रसुवागढी नाकामा अवरोध गर्दै आइरहेको छ । त्यसयता नेपालले पटक–पटक अवरोध खोल्न अनुरोध गरे पनि अहिलेसम्म खुलेको छैन,’ उनले भनेका थिए ।

तीन वर्षमा नेपाल–चीन व्यापार

स्रोत – भन्सार विभाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप