बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे काँग्रेसको पुस्तकमा समेटिएको एमालेको भ्रम र यथार्थ

मङ्गलबार, ०१ चैत २०७८, २१ : ०२
मङ्गलबार, ०१ चैत २०७८

नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।

जसमा उसले अनुदान प्रकृयामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकराले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । काँग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेखि २०७७ सम्मको धेरै प्रकृयामा संलग्न भएको तर बाहिर जनतालाई जनतालाई यो राष्ट्रघाती सम्झौता भनेर भ्रम छरेको आरोप लगाएको छ । 

काँग्रेसको पुस्तकमा उल्लेख गरिएको

भ्रम : अनुदान प्रक्रियामा नेकपा एमालेको खासै संलग्नता थिएन । एमाले नेतृत्वको सरकारले विगतका सरकारले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो ? 


यथार्थ : एमसिसी सहायता सम्झौताको तथ्यहरू हेर्ने हो भने स्पष्ट हुन्छ २०६६ सालदेखि अहिलेसम्म आइपुग्दा सबैजसो दल र नेतृत्व यो प्रक्रियामा संलग्न छन । माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र शेर बहादुर देउवा सरकारको पालामा भएका निर्णयमा कुनै पनि दल र व्यक्तिको विमति देखिदैन । यसको अर्थ यो प्रक्रियामा कुनै पनि सरकार र त्यसमा संलग्न दल तथा नेताहरू विरुद्धमा थिएनन् । अचम्मको कुरा त के छ भने अहिले एमसिसीको विरोधमा चर्को चर्को कुरा गर्ने पार्टी र व्यक्तिहरूकै पालामा महत्वपूर्ण निर्णय भएका छन् । एमालेको सन्दर्भमा भन्ने हो भने २०६६ मा माधव नेपाल, २०६७ मा झलनाथ खनालका पालामा पहलकदमी भएको थियो । २०७१–०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा सरकारको गठबन्धनमा नेकपा एमाले पनि सामेल थियो, त्यो वेला नै नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी प्राप्त भएको हो । नेकपा (एमाले) नेतृत्वका केपी शर्मा ओली प्रधानमन्त्री रहेको २०७२–०७३ को सरकारको मन्त्रिपरिषदले २०७३ असार ३१ मा कम्प्याक्ट कार्यक्रमका लागि १ अर्व १३ करोड रकम लिने निर्णय गरेको थियो । 

स्मरणीय कुरा त के छ भने उप–प्रधानमन्त्रीहरू एमाले नेता भीम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा, राष्ट्रिय जनमोर्चा पार्टीका नेता चित्रबहादुर केसी, नेकपा मालेका नेता सिपी मैनाली र माओवादी नेता टोप बहादुर रायमाझी थिए भने नेकपा का नेता अग्निप्रसाद सापकोटा र राप्रपा नेता दिपक बोहोरा मन्त्री थिए । सो निर्णय गर्दा कसैले पनि असहमति प्रकट गरेनन् ।

२०७४ को निर्वाचन पश्चात केपी शर्मा ओली नेतृत्वको त्यस सरकारले २०७५ को वैशाखमा एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी संचालन र कार्यान्वयन गर्नका लागि एमसिए–नेपाल को गठन गरेको हो । विकास समिति ऐन, २०१३ अनुसार विसं २०७५ वैशाख ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एमसिए–नेपाल गठन भएको हो । यसका साथै सम्झौतामा हस्ताक्षर भएको २ वर्षपछि २०७६ असोज १२ मा परियोजना सहयोग सम्झौता मा हस्ताक्षर पनि नेकपाको सरकारले नै गरेको हो । संसदबाट अनुमोदनका लागि प्रस्ताव पनि केपी ओली नेतृत्वको नेकपा सरकारले गरेको हो र संसदमा दर्ता गराएको हो। यसले नै प्रष्ट हुन्छ,जसले बाहिर जनतालाई यो राष्ट्रघाती सम्झौता भनेर भ्रम छरे उनीहरू नै यो सम्झौता प्रक्रियामा संलग्न छन र यो अवधिमा कुनै पनि प्रक्रियामा राखेनन् । २०६६ देखि २०७७ सम्म धेरै जसो प्रक्रियामा नेकपा एमाले संलग्न छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप