शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले धनुषा अधिवेशन : बन्दसत्र बुधबारसम्मका लागि स्थगित

मङ्गलबार, ०१ चैत २०७८, २० : ०९
मङ्गलबार, ०१ चैत २०७८

निर्धारित समयभन्दा निकै ढिलागरी सुरु भएको धनुषा एमालेको बन्द सत्र स्थगित भएको छ । करिब ४ बजेदेखि सुरु भएको बन्द सत्रमा नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले  आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेपछि प्रतिनिधिहरुले विरोध गरेका हुन् ।

बन्द सत्रमा अध्यक्ष यादवले प्रतिवेदन पेस गरेलगत्तै प्रतिनिधिहरुले मौखिक नभई लिखित प्रतिवेदन पेस गर्न माग गरेका थिए । अध्यक्ष यादवप्रति असन्तुष्ट जनाउँदै प्रतिनिधिहरुले बन्द सत्र बहिष्कार गरेपछि आजको लागि बन्दसत्र स्थगित गरिएको हो । बन्द सत्रमा ३२ जना प्रतिनिधिले अध्यक्ष यादवको प्रतिवेदनमाथि बोल्दै असन्तुष्टि जनाएका छन् । बोल्ने अधिकांश प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनु पर्ने अध्यक्ष मण्डललाई सुझाव दिएका छन् ।

बन्दसत्र ढिला सुरु भएपनि प्रतिवेदनमाथि छलफल भएको एमाले धनुषा इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । उनले बुधबार हुने बन्द सत्रमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिने बताए । बुधबार ११ बजेदेखि बन्दसत्र सुरु हुनेछ । उनले नेतृत्व चयन सर्वसम्मतिमा हुने भएकाले फेरि पनि पुरानै कमिटी व्युतिन सक्ने संकेत गरे ।  अध्यक्ष राजकिशोर यादवले प्रतिवेदनमा सात वर्ष गरेका काम तथा खर्चको बारेमा नखुलाएको नगराईन नगरपालिका समितिका अध्यक्ष रामप्रमोद राउतले जानकारी दिए । उनले राजनीतिक प्रतिवेदन मौखिकरुपमा पेश गरेर नेतृत्वले राणाकालीन शासक झैँ गरेको टिप्पणी गरे ।

यस्तै अर्का प्रतिनिधि सन्तोष मण्डलले राजनीतिक प्रतिवेदन  मौखिक रुपमा पेस गरेकोमा आपत्ति जनाए । उनले अध्यक्षले सात वर्षे कार्यकालमा गरेका काम, पार्टीमा भएको क्षति, स्थानीय निर्वाचनमा हार बेहोर्नेको र एमाले माओवादीसँगको एकीकरण पछिको पार्टीको अवस्था बारेमा समसामयिक राजनीतिक घटना क्रमलगायतका विषयमा लिखित रुपमा उपलब्ध नगर्नु नेतृत्व असफलताको प्रमाण रहेको बताए । एमाले नेताहरुका अनुसार यादवलाई अध्यक्षमा निरन्तरता दिन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशन रहेको जनाइएको छ । यादवलाई सर्वसम्मत अध्यक्ष बनाएपछि अन्य आकांक्षालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या भएको स्रोतको भनाइ छ । अन्य आकंाक्षीले उधारोमा पद नलिने अडान राखेको एक आकांक्षाले बताए ।

अध्यक्षका आकांक्षीमध्ये तेजनारायण यादव पूर्व माओवादी पक्षका हुन् भने अक्षयलाल महतो रघुवीर महासेठ निकट र लक्ष्मी यादव भने सञ्जीव पक्षधर हुन् । केन्द्रमा सचिव महासेठसमेत ओली पक्षधर रहेपनि जिल्ला अध्यक्ष यादव उनीसँग सन्तुष्ट छैनन् । महासेठको कार्यशैलीको विरोध गर्दै उनले केही समय पहिला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाण्डौ आएर गुनासो गरेका थिए । यता पूर्व माओवादी परित्याग गरेर एमाले बनेका तेजनारायण यादवले पनि अध्यक्ष दावी गर्न छोडेका छैनन् । हालका अध्यक्ष राजकिशोर यादव स्वेच्छाचारी ढंगले चलेको भन्दै वर्तमान सचिवसमेत रहेका तेजनारायणले विरोध गदै आएका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्षमा   यादव, उपाध्यक्षमा महतो, सचिवमा तेजनारायण यादवलाई सर्वसम्मत गर्ने आन्तरिक तयारी छ । तर अध्यक्ष पदका अर्का आकांक्षी लक्ष्मी यादवको व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् । तर सचिव रघुवीर महासेठ पक्षले भने यादवलाई पुनः अध्यक्ष नमान्ने अडान कायम राखेका छन् ।  

यस्तो छ एमाले अध्यक्ष मण्डल  
सातौँ जिल्ला अधिवेशनका लागि बन्द सत्रको अध्यक्ष मण्डल सात सदस्यीय गठन गरिएको छ । स्थायी समिति सदस्य लिलानाथ श्रेष्ठको अध्यक्षतामा सदस्यहरूमा पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, रामचन्द्र मण्डल, मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, ज्वाला साह, रेवतीलगायतका छन् । टिपोट समितिको अध्यक्षमा नदाफ फर्मुद, सदस्यहरूमा इन्दिरा सिंह, लक्ष्मी नारायण यादव, हलखोरी कापरलाई चयन गरिएको छ ।

यस्तै निर्वाचन समिति पनि गठन गरिएको छ । निर्वाचन समितिको अध्यक्षमा अधिवक्ता चन्द्रप्रकाश मैनाली, अधिवक्ता राजकुमार महासेठ, अधिवक्ता किशोरी साह, अधिवक्ता दिपेन्द्र साह, अधिवक्ता दिपक केसी र अधिवक्ता रामविलास यादव रहेको धनुषा एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप