बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा एमाले नेतृत्व छनोटमा विवाद : बन्दसत्र सुरु नहुँदा कार्यकर्ता अलमलमा

मङ्गलबार, ०१ चैत २०७८, १६ : ५४
मङ्गलबार, ०१ चैत २०७८

नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर मंगलबार बेलुकासम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन ।

नेताहरुबीच कसलाई अध्यक्ष बनाउने भन्नेमा सहमति जुट्न नसक्दा बन्दसत्र नै प्रभावित भएको हो । सहमति जुटाउन शिर्ष नेताहरु अध्यक्षका आकांक्षीसहित एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । एमाले धनुषाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका छन् ।

आकांक्षीले अडान नछोडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्य रामचन्द्र मण्डल, संजिव झा सुरजलगायतका नेताहरुले सहमतिका लागि प्रयास जारी राखेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।

एमाले नेताहरुका अनुसार राजकिशोर यादवलाई अध्यक्षमा निरन्तरता दिन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशन रहेकाले उनलाई अध्यक्ष बनाउनेगरी जिल्ला कमिटीलाई पूर्णता दिने तयारी छ । राजकिशोरलाई सर्वसम्मत अध्यक्ष बनाएपछि अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या भएको बताइएको छ । अन्य आाकंक्षीले उधारोमा पद नलिने अडान राखेको एक आकांक्षीले बताए ।

अध्यक्षका आकांक्षीमध्ये तेजनारायण यादव पूर्वमाओवादी पक्षका हुन् भने अक्षयलाल महतो रघुवीर महासेठ निकट र लक्ष्मी यादव भने सञ्जीव पक्षधर हुन् । केन्द्रमा सचिव महासेठसमेत ओली पक्षधर रहेपनि जिल्ला अध्यक्ष राजकिशोर यादव उनीसँग सन्तुष्ट छैनन् । महासेठको कार्यशैलीको विरोध गर्दै उनले केही समय पहिला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौ आएर गुनासो गरेका थिए ।

यता पूर्वमाओवादी परित्याग गरेर एमाले बनेका तेजनारायण यादवले पनि अध्यक्ष दावी गर्न छोडेका छैनन् । हालका अध्यक्ष राजकिशोर यादव स्वेच्छाचारी ढंगले चलेको भन्दै वर्तमान सचिव समेत रहेका तेजनारायणले विरोध गदै आएका छन् ।

नेतृत्व चयनका सवालमा नेताहरुबीच नै कुरा नमिलेपछि बन्दसत्रका लागि बिहान ८ बजे कार्यक्रमस्थल आइपुगेका प्रतिनिधिहरू अलमलमा पर्दै नेतृत्वप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । ‘तत्काल बन्द सत्र सुरु गरेर नयाँ लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व छान्नुपर्छ’, प्रतिनिधि रामप्रबोध राउतको भनाइ छ । उनले हलबाटै निर्णय गरेर सर्वसम्मत वा निर्वाचन जे उपयुक्त हुन्छ त्यही गर्नुपर्ने बताए ।

स्रोतका अनुसार अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्षमा राजकिशोर यादव, उपाध्यक्षमा अक्षयलाल महतो, सचिवमा तेजनारायण यादवलाई सर्वसम्मत चयन गर्ने आन्तरिक तयारी छ । तर अध्यक्ष पदका अर्का आकांक्षी लक्ष्मी यादवको व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् ।

बन्दसत्रका लागि पार्टीले सात सय भन्दा बढी प्रतिनिधि तोकेको छ भने जबस मोर्चाबाट करिब तीन सय प्रतिनिधि तोक्ने व्यवस्था गरिएपनि प्रतिनिधिका रुपमा जबस मोर्चाका घटक संगठनलाई बेवास्ता गरेको भन्दै प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामतले विरोध गरेका छन् । उनले नेतृत्व मनोमानी अघि बढ्दा नयाँ नेतृत्व चयनमा विवाद बढ्दै गएको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप