शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाभित्र महिन्द्रराय यादवको नेतृत्वमा पूर्वराजपाका नेताहरु संगठित

मङ्गलबार, ०१ चैत २०७८, १४ : ०३
मङ्गलबार, ०१ चैत २०७८

जनता समाजवादी पार्टी नेपाल ‍(जसपा)मा रहेका पूर्वराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरु संगठित भएका छन् । जसअनुसार जसपामा पूर्वराजपाको तर्फबाट महिन्द्रराय यादव नेतृत्व गरेका छन् । यादव जसपामा पूर्वराजपाभित्रका सिनियर नेता भएको कारण उनलाई अगुवाई गर्न दिएको  बताइएको छ । 

जसपा नेपाल विभाजित हुँदा पूर्वराजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायतका नेताहरुले अलग भएर अर्को पार्टी बनाएका थिए । तर महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमनलगायत पूर्वराजपाका नेताहरु जसपामै रहे । 

जसपामै रहेपनि पूर्वराजपाका नेताहरु एकजुट थिएनन् ।  नेताहरुमध्ये कोही संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पक्षमा त कोही पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा थिए । अर्थात पार्टीभित्र पूर्वराजपाबालाहरुको कुनै अस्तित्व नै थिएन ।

यहीबीचमा पार्टीभित्र उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच भागबण्डाको राजनीति हुँदा पूर्वराजपालाई भने उपेक्षा गरिएको निष्कर्षका साथ उनीहरु पनि संगठित भएको बताइएको छ । ‘उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राइमा भागबण्डा हुन्छ तर राम्रो संख्यामा उपस्थित राजपाबालाहरुले कुनै भागबण्डामा पर्दैनन्’, एक नेताले भने, ‘त्यही भएर संगठित हुनुपरेको हो ।’ 

५०४ सदस्यीय केन्द्रीय समितिमा पूर्वराजपाका मात्र १३० जना रहेको दावी गरिएको छ । ३३ जनाको कार्यकारिणी समितिमा १० र १९ जना सांसदमध्ये पूर्व राजपाको सातजना रहेका छन् । ‘यो कम संख्या होइन’, एकजना कार्यकारिणी सदस्यले भने, ‘संसदमा बाबुराम एकजना मात्र हुँदा उनले भागबण्डा लिन्छन्, हामी त सातजना छौं । ३३ जना कार्यकारिणी सदस्यमध्ये १० जना हाम्रो छन् ।’ ती नेताका अनुसार अब यादवको नेतृत्वमा नै पार्टीभित्र हरेक निकायमा हिस्सेदारी खोज्नेगरी महेन्द्र राय यादवको नेतृत्वमा छलफल हुनेछ । 

स्रोतका अनुसार जसपा बैठकको तयारी चलिरहँदा पूर्वराजपाभित्रका नेताहरुको तीन दिनसम्म बैठक समेत बसेको थियो  । त्यो बैठकबाटै एकजुट हुने सहमत जुटेको हो ।  जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले समायोजनको काम चलिरहेको र कतिपय कामहरु बाँकी रहेका कारण छलफलका लागि बसेको बताए । तर, भागबण्डाकै लागि आफूहरु संगठित नभएको उनको जिकिर छ । 

त्यस्तै, मधेश प्रदेशका प्रदेशसभा सदस्य एवं कार्यकारिणी सदस्य मनिष सुमनले पार्टीसँग सल्लाह गरेर नै आफूहरु बसेको बताए । पार्टीमा भइरहेको समायोजनको कामलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको उनले बताए ।

‘जिल्ला, स्थानीय तहरुमा समायोजनको काम चलिहरेको छ, त्यसमा पूर्वराजपा मुख्य अंग हो र समायोजनमा पूर्वराजपाका नेता तथा कार्यकर्तालाई कसरी समायोजन गराउने भन्ने विषयमा छलफल भएको छ’, उनले रातोपाटीलाई बताए । 

 समायोजनका लागि निर्देशिका बनेको भन्दै उनले सोही निर्देशिका बमोजिम जसको जहाँ जहाँ संगठन छ त्यहाँ समायोजन गर्दै जानुपर्नें बताए । यो छलफल जसपामा भागबण्डा खोज्नका लागि नभएको जिकिर गर्दै नेता सुमनले पार्टीभित्र समायोजनको कार्य सकिएपछि भने पूर्वराजपा पूर्ण रुपमा विघटन हुने बताए ।

‘फोरम, नयाँ शक्ति, संघीय समाजवादी, राजपा जस्ता पार्टीको कुनै अंशलाई जिवित राख्नु हुँदैन’, उनले भने, ‘कुनै अंश बाँकी रह्यो भने त्यसले पछिसम्म हैरान पार्छ । त्यसैले समायोजनको काम सकिएपछि पूर्व पार्टीहरुलाई बिर्सनुपर्छ’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप