बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

मङ्गलबार, ०१ चैत २०७८, १३ : ४४
मङ्गलबार, ०१ चैत २०७८

राजस्व अनुसन्धान विभागले अनलाईन एपमार्फत अमेरिकी डलरको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङ रतुवामाई नगरपालिकाका दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो ।

पुरस्कर श्रेष्ठ र बिनिता लिम्बुले विभिन्न अनलाईन एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए । उनीहरूले १ एकबेट, बिनान्स, एडीभी क्यास, कोइनबेस र प्याक्सफुल लगायतका एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए ।

विभागले उनीहरूले सञ्चालन गर्दै आएको बैंक खाता, उनीहरूले प्रयोग गर्दै आएको मोबाइल, कल डिटेल लगायतका प्रमाणका आधारमा मुद्दा दायर गरेको हो । अभियुक्तले रतुवामाई नगरपालिकामै बसेर अनलाइनमार्फत कारोबार गर्दै आएको खुलेको समेत विभागले जानकारी दिएको छ ।

विभागले गरेको अनुसन्धानबाट अभियुक्तहरूले अनलाइनमार्फत डलर लोड र अनलोड गर्ने गरेको पाइएको छ । अमेरिकी डलरको अवैध कारोबार तथा क्रिप्टोकरेन्सी लगानीकर्ताका रूपमा रहेका श्रेष्ठको विभिन्न बैंक खाताबाट करोडौंको कारोबार भएको देखिएको छ ।

श्रेष्ठको नाममा रहेको मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ, सिटिजन्स बैंक २ करोड ५१ लाख ७६ हजार रुपैयाँ, एनआईसी एसियाबाट १ करोड ८२ लाख ४९ हजार, राष्ट्रिय वाणिज्य बैंकबाट ७ करोड ५७ लाख ७१ हजार तथा लिम्बुको नाममा रहेको एनआईसी एसियाबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।

यी दुई जनाविरुद्ध विभागले माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो । सोहीकारण, उक्त रकम बिगो दाबीसहित असुल उपर गर्न तथा कैद सजाय समेतको व्यवस्था गर्न माग गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप