स्वास्थ्य बेवास्ताका कारण ६० प्रतिशत मानसिक रोगी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिमा मानसिक रोग नहुनु मात्र होइन; आफ्नो व्यक्तिगत क्षमतालाई बुझेर दैनिक जीवनमा आइ पर्न सक्ने समस्यालाई सामना गर्नु पनि हो । उत्पादनशील भएर काम गर्नु र सामाजिक योगदान दिन सक्नु हो । शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ रहनु मानसिक रूपमा स्वस्थ हुनु हो ।
मानसिक रूपमा स्वस्थ मनुष्यले मात्र जीवनमा अटुट खुसी महसुस गर्न सक्छ । यसरी मनुष्यको मन शुद्ध रहेमा सन्तुष्टि झल्काउने आधार आनन्द उसको जीवनमा छाँयासमान बसिरहन्छ । त्यसैले हरेक मनुष्यले सफा मन र हर्षाेल्लास जीवनका लागि आफूमा रहेको मानसिक विकार पहिचान र न्यूनीकरण गर्ने उपायहरू अनिवार्य अबलम्बन गर्नुपर्दछ ।
मनोवैज्ञानिकहरूले गरेको एक अध्ययनले असल मानसिक स्वास्थ्य कायमका लागि पहिचान भएका साझा विशेषता यस प्रकार छन्ः
क. उच्च आत्मसम्मान
ख. आत्म–बोध
ग. स्वमूल्याङ्कन प्रवृत्ति
घ. अन्तर–प्राणी सम्बन्ध र सामाजिक हितको भाव
ङ. असल सम्बन्ध बनाउने क्षमता
च. आवश्यकता परिपूर्ति गर्ने आत्मविश्वास
छ. प्रसन्न रहने र उत्पादनशील र उद्देश्यशील क्षमता
ज. उच्च शारीरिक स्वस्थ्य
झ. तनाव र अति संवेदनशीलताको अभाव
ञ. पक्षपातरहित सकारात्मक दृष्टिकोण र चिन्तन
ट. जीवनदर्शनप्रति स्पष्टता
ठ. जीवन लक्ष्य स्पष्ट हुनु
ड. ईश्वरप्रति विश्वास
ढ. अपेक्षाको अभाव
उल्लिखित जीवनपयोगी विशेषताको बोधको स्तरले हाम्रो मानसिक स्वास्थ्यको स्थितिलाई दर्शाउँछ । मानसिक स्वास्थ्य नै सकारात्मक सोचका लागि अनिवार्य हतियार हो अर्थात् स्वस्थ मानसिक स्वास्थ्यबिना व्यक्तिमा सकारात्मक सोच सम्भव छैन । त्यसैले सकारात्मक सोचका लागि कुलत, शारीरिक रोग, हतोत्साहित गर्ने प्रवृत्ति, गलत सङ्गत, प्रदूषित वातावरण, अपरिपक्व निर्णय, कच्चा प्रतिज्ञा, व्यक्तिगत पहिचानवादी मानसिकता, जिद्दीपना, लक्ष्य विमुख क्रियाकलापहरू अनिवार्य त्याग्नुपर्छ । नियमित योग, अभ्यास, ध्यान र ज्ञानमा व्यस्त हुनुपर्छ । यसले असल विचार, व्यवहार र पारिवारिक तथा सामाजिक सम्बन्धको विकास गर्छ । यसरी असल मानसिक स्वास्थ्य कायम गर्न सकिन्छ ।
हरेक मनुष्यले आफ्नो मानसिक स्वास्थ्य ठीक राख्न चाहन्छन् तर यथार्थमा त्यसो गर्न धेरैले सकिरहेका हुँदैनन् । यसको मुख्य कारण भनेको असन्तुलित खानपान, गलत संस्कार, अप्रिय घटनाक्रम, स्वास्थ्यप्रतिको लापरबाही र कुलत नै हो । यसले उसको शरीर तथा मनको स्थितिमा विचलन ल्याउने गर्दछ । यस्तो प्रकारको मानसिक विचलनलाई मानसिक समस्या वा विकार पनि भनिन्छ । आत्म–बोधको अभाव रहनु, अस्पष्ट योजना र उद्देश्यविहीन लक्ष्य राख्नु, आफू वा अरूप्रति अविश्वास बढ्नु, रिस उठ्नु, चिन्ता र अनिन्द्रा बढ्नु, लामो समय घबराहट र उदासी बन्नु, हैसियतभन्दा बढी बोल्नु अर्थात् घमण्ड गर्नु, कुलतमा फस्नु, ध्यानाकर्षण र रुचिमा कमी आउनु, स्मरण शक्ति गुमाउँदै जानु, फरक स्वाभाव तर नकारात्मक व्यवहार देखाउन थाल्नु, डर, हिंसा, आक्रोश बढ्नु जस्ता लक्षणहरू मानसिक विचलन र अस्वस्थताका लक्षण हुन् ।
मनुष्यको मनमा आउने अस्थिर मनोगत भावना, नकारात्मक सोचाइ, इन्द्रियमार्फत् हुने गलत अनुभूति र व्यवहारमा देखिने अनेकताको समस्याले उसको मानसिक स्वास्थ्यमा अप्रत्यक्ष रूपले गडबडी ल्याउने काम गर्दछ । यसलाई समयमा नै निदान गर्न नसकिएमा व्यक्ति ढिलो चाँडो मानसिक रोगी अर्थात् मानसिक समस्याको सिकार बन्ने कुरामा दुई मत छैन । तर हाम्रो नेपाली समाजले मानसिक समस्याप्रति सजगता बिल्कुलै देखाएको पाइन्न । यसको जड भनेको मानसिक समस्या र मानसिक अस्पतालप्रति गलत दृष्टिकोण नै हो ।
आजको समाजले नकारात्मक सोच र सोहीअनुसारका घटनाक्रमलाई प्राथमिकता दिएको पाइन्छ । परिवार एवं समाजले मनका विकारलाई खासै महत्त्व दिएका छैनन् । त्यसैले मानसिक विचलितहरू मानसिक भन्ने शब्दबाट नै डराउँछन् । आफूलाई लागेको वा भएको मानसिक समस्याबारे निर्धक्क साथ अरूलाई सुनाउँदैनन् या सुनाउन हिचकिचाउँछन् । सकेसम्म अस्पताल जान मान्दैनन् । यसले गर्दा आज ८० प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित रहेको तथ्याङ्कले देखाएको छ । समग्र विचलितहरूमध्ये ६० प्रतिशत विचलितहरू विभिन्न बहानामा आफ्नो स्वास्थ्य उपचारका लागि बेवास्ता गरेको कुरा तथ्याङ्कले दर्शाउँछ ।
कुनै व्यक्ति वा वस्तुप्रति अधिक आशक्ति देखाउनु, शारीरिक रोग अथवा अन्य कारणले मनमा बारम्बार लामो समयसम्म नकारात्मक विचारले जरा गाडेर बस्नु पनि मानसिक समस्याको कारण हो । यसले व्यक्तिको मानसिक स्वतन्त्रता र खुसी हनन गर्दछ । मानसिक स्वास्थ्य के हो ? यो समस्या कहाँ र कसरी उत्पन्न हुन्छ ? मानसिक समस्या कसरी पहिचान गर्ने ? भन्ने सम्बन्धमा जनमानसमा द्विविधा छ । यही कारणले पनि केही प्रतिशत विचलितहरू अस्पताल वा मनोपरामर्शदाताकहाँ परामर्शका लागि नगएको हुन सक्छ ।
यस्तो प्रकारको समस्या युवा एवं बालबालिकाहरूमा प्रशस्त देखिन्छ । मानसिक स्वास्थ्य बिग्रिएको थाहा भएमा मनुष्यले आफ्नो हेर्ने तरिका, सुन्ने तरिका र प्रस्तुत अथवा सञ्चार गर्ने तरिकामा पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ । अरूको बारेमा फैसला गर्ने, विभेद गर्ने, पूर्वाग्राही सोच राख्ने, वैमनष्यता सिर्जना गर्ने, लाञ्छना लगाउने जस्ता निन्दनीय कार्यहरू अविलम्ब बन्द गर्नुपर्छ ।
नियमित कार्यतालिका प्रभावित भइरहनु मानसिक समस्या वा मानसिक विकारको लक्षण हो । यसबाट छुटकारा पाउन बालबालिका, युवाले सामाजिक सञ्जाल र भिडियो गेमको प्रयोगमा अधिकतम कटौती गर्नुपर्छ । विचारलाई शुद्धीकरण र प्राथमिकीकरण गर्नुपर्छ । सामूहिक हित अनुकूलका काम गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ