जसपा जाग्नुपर्ने तीन कारण
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निर्माणको चरणमा छ । घर निर्माण हुनुअघि ईंट्टा, छड, सिमेन्ट, वालुवा, गिट्टी, ढुङ्गा लगायत अन्य सामग्री बटुलिएझैं जसपामा काँग्रेस एमाले, माओवादी, मधेसवादी लगायत अन्य पार्टीपङ्क्ति र तहतप्काबाट नेता, कार्यकर्ता बटुलिएका छन् । यतिखेर को कसलाई कसरी कहाँ थुपारियो, राखियो ? सहायक कुरा हो । बटुलेर राख्ने क्रममा कोही तल राख्नुपर्ने माथि राखियो होला, कोही माथि राख्नुपर्ने तल राखिन गयो होला ! यो अस्वाभाविक होइन । मिलाउँदा मिलाउँदै नमिल्न सक्छ, काम गर्दागर्दै पुरा नहुन सक्छ । समय लाग्न सक्छ, बिग्रिन सक्छ । यो सामान्य कुरा हो ।
प्रारम्भिक निर्माणको चरणमा यस्ता सानातिना समस्या आउनु स्वाभाविक हो । तर, यही सानातिना समस्याले घर नै नबन्ने सम्मको अवस्था आउन सक्दोरहेछ भन्ने पाठ पनि जसपाले सिकिसकेको हुनुपर्दछ, सिक्नु पर्दछ । साङ्गठानिक र प्राविधिक सानातिना समस्या बेलैमा हल नगरिँदा जसपाको पार्टी गतिविधि सेलाएको थियो । भर्खरै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले यसलाई पुनर्ताजगी गरेको छ । तात्कालिक रुपमा एमसीसीको सङ्कट देशमा ज्यूका त्यूँ रहे पनि पार्टीले गरेको निर्णयले विवाद र दुविधा अन्त्य भएको छ । परिषद बैठकमा प्रस्तुत प्रतिवेदनले पार्टीपङ्तिलाई उर्जा भरेको छ । जसपा सामान्य पार्टी हो तर यसको जिम्मेवारी असामान्य छ । त्यसैले, यसलाई सेलाउने छुट छैन । निदाउने छुट छैन, नबन्ने छुट छैन । भत्कने, फुट्ने छुट छैन । इन्द्रेणी राष्ट्रवादलाई व्यवहारतः पुष्टि गर्न, पहिचान, अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न तथा समुन्नत संघीय समाजवाद स्थापित गर्न जसपा जाग्नुपर्ने यी तीन महत्वपूर्ण कारण हुन्, जसको बुँदागत विश्लेषण गरिन्छः
इन्द्रेणी राष्ट्रवादलाई व्यवहारतः पुष्टि गर्न
नेपालको विशेषता विविध जाति, भाषा, क्षेत्र, संस्कृति र सभ्यताका सप्तरङ्गी इन्द्रेणी प्रकृतिको छ । ती सप्तरङ्गी इन्द्रेणी सदियौँदेखि एक रङ्गद्वारा अन्याय र उत्पीडनमा परेको छ । यस्तो हुन पुग्नु कुनै जाति÷समुदायको दोष नभएर हिजोका शासक र सामन्ती राज्य व्यवस्थाको उपज हो । अधिकार प्राप्तिको सङ्घर्षमा यहाँ महिलाको पीडा र समस्या पुरुषले उठाईदिने, जनजातिको समस्या र मुद्दा खस आर्यले उठाइदिने, मधेशको मुद्दा पहाडले उठाइदिने, कर्णालीको मुद्दा काठमाडौंले उठाईदिने गरेको पाइन्छ ।
एक जाति, भाषा अझ भनौं सीमित व्यक्तिले सबै जातजाति, भाषा, क्षेत्र, लिङ्गको नारा लगाईदिने, मुद्दा उठाईदिने र त्यसैको आडमा सत्तामा पुगेर राज्यको स्रोत, साधनको दोहन गर्ने, चरम भ्रष्टाचार गर्ने गरेको पाइन्छ । ती इन्द्रेणी समाजको भाग्य र भविष्यमाथि खेलबाड गरेको पाइन्छ, धोका दिएको पाइन्छ । यसकारण, अब अरुले होइन, आफैले समस्या हल गर्न र मुद्दा उठाउदैं नेतृत्व गर्न जसपा जाग्नु पर्दछ । नेतृत्व लिएर समस्याको हल गर्न सक्नु पर्दछ । उठाएका मुद्दाहरुलाई स्थापित गर्न सक्नु पर्दछ । त्यसको लागि सङ्गठनलाई चलायमान बनाउन सङ्घीय परिषद खारेज गर्दै सबै सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा कार्यकारी अधिकार दिएर वडा÷टोल स्तरसम्म काम गर्न पठाउनु पर्दछ ।
परिषद अध्यक्षलाई क्लस्टरको आधारमा पाँच अध्यक्ष मण्डल बनाई एकको जिम्मेवारी पाउने गरी व्यवस्थापन हुनुपर्दछ । विधायिकीको काम विधान अधिवेशन र महाधिवेशनको लागि तोकिएको सार्वभौम सदस्यहरुले गर्नेछन् । महिला, मधेशी, आदिवासी÷जनजाति, शिल्पी÷सीमान्तकृत र खस÷आर्यबाट पाँच सदस्यीय अध्यक्ष मण्डल बनाएर देश, समाजमा भएको इन्द्रेणीजस्तै पार्टी नेतृत्व एवं सबै तह, अङ्ग र राज्यसत्ता, सरकारमा पनि इन्द्रेणी राष्ट्रियता झल्किनु पर्दछ । यसको व्यवहारतः पुष्टि हुनु पर्दछ ।
पहिचान, अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न
नेपालमा नयाँ संविधान जारीसँगै नयाँ लोकतान्त्रिक राज्य व्यवस्था लागु भए पनि संविधानलाई पूर्ण मान्न सकिदैन । लोकतन्त्र र समावेशिताले सन्तोषजनक रुपमा पूर्णता पाएको छैन । संविधानतः पहिचानसहित सङ्घीयता संस्थागत गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था छ । हाल गरिएको सङ्घीयताको सीमाङ्कन र नामाङ्कन नेपाली माटो र मर्म अनुरुप छैन । जसको कारण हालको संघीयताले उचित निकास दिन र तीव्र विकास गर्न सक्दै सक्दैन । यही अक्टोपसको अनुहारजस्तो सङ्घीयतालाई देखाएर विकास र निकासको बाधक संघीयता मान्नेहरु हिजो यो अक्टोपसको अनुहारजस्तो संघीयता बनाउन कम्मर कस्नेहरु तिनै हुन् । खासमा, काँग्रेस, एमालेले खोजेको जस्तो संघीयता नेपाली जनतालाई चाहिएको थिएन । जनताको चाहना विपरितको संघीयता बनाएर अन्ततः संघीयता नै काम छैन, गणतन्त्र काम छैन भनेर जनताको रगत, पसिना र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अपमान गर्न तिनै हात धोएर लाग्ने छन् । यस्तो अवस्था आउन नदिन जसपा जाग्नुपर्ने हुन्छ । साङ्गठानिक र सैद्धान्तिक रुपमा बलियो भएर बस्नुपर्ने हुन्छ ।
पहिचानको मुद्दालाई गिजोलेर छुनै नसकिने, बोल्नै नहुने जातीय अफिम तिनैले बनाइदिएका छन् । त्यस्तो जातीय रङ्गले लिपपोत गर्न जानेर÷नजानेर पार्टीभित्रै पनि क्रियाशील प्रवृत्ति छैन भन्न सकिन्न । पहिचान अत्यन्त संवेदनशील र प्राज्ञिक विषय भएकोले यसलाई संयमित भई संवेदनशीलतालाई साम्प्रदायिकतामा परिणत हुन नदिई अधिकार स्थापित गर्ने चुनौती एकातिर छ भने अर्कातिर त्यही बखत सुशासन र समृद्धिको मोर्चा सम्हाल्ने मात्र नभई पुरा गर्नैपर्ने बाध्यत्मक कार्यभार छ ।
यो कार्यभार पुरा गर्न जसपाबाहेक विद्यमान कुनै पनि दल योग्य देखिदैनन् । काँग्रेस, एमाले फरक ब्राण्डका एउटै विशेषता र प्रवृत्ति भएका दल हुन् । अरुहरु पनि फरक छैनन् । जसपालाई पनि ढाल्नुपर्ने, गाल्नुपर्ने, सोंच, शैली, चिन्तन–व्यवहार फेर्नु पर्नेछ । सङ्घर्ष गर्नु पर्नेछ । जनताको मन जित्नुुपर्ने, जनताले विश्वास गर्नु पर्नेछ । त्यो वातावरण बनाउन ढिलाई गरिनु हुँदैन । नभए निर्वाचनदेखि निर्वाचनसम्मको राजनीति चलिरहन्छ । यस्तो राजनीति काँग्रेस, एमालेको ईच्छा, चाहना हो । यसले कुनै निकास दिन र विकास गर्न सक्दैन ।
जसपा समावेशी लोकतन्त्र, बहुलराष्ट्रवाद, समुन्नत समाजवादको पक्षमा बलियो भएर उभिएको कारण पहिचान अधिकारलाई स्थापित गर्न असामान्य जिम्मेवारी बोकेको छ । संघीयताको मर्म र सिद्धान्त विपरित भएका नामाङ्कन् र सिमाङ्कन्का कारण आइपर्ने समस्या र कुतर्कलाई निराकरण गर्ने क्षमताको विकास गर्दै सुशासन र समृद्धिको जग बसाल्न जसपा जाग्नैपर्ने हुन्छ । लोकतन्त्रको बाटो भएर पहिचानसहित अधिकार स्थापित गर्दै सुशासन र समृद्धि प्राप्त गरेपछि समुन्नत संघीय समाजवादतिर पुगिन्छ । त्यो समुन्नत सङ्घीय समाजवाद काँग्रेसको नवउदारवादी लोकतन्त्रमा आधारित समाजवाद र एमालेको जनताको बहुदलीय जनवादमा आधारित समाजवाद भन्दा कैयौँ गुणा सुन्दर र सफल समाजवाद हुन्छ । त्यसको लागि जसपाले पहिचानसहित अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न सङ्घर्ष गर्नु पर्दछ ।
समुन्नत संघीय समाजवाद स्थापित गर्न
जसपाले समुन्नत सङ्घीय समाजवादलाई चार तत्व संघीयता, सुशासन, समृद्धि र समाजवादमा विभक्त गरेको छ । माथि लेखिएझै लोकतन्त्रको बाटो भएर संघीयतालाई पहिचानसहित अधिकार स्थापित गरिनु पर्दछ । तब मात्र जनताले चाहेको जस्तै समुन्नत संघीय समाजवाद प्राप्त गर्न सकिन्छ । लोकतन्त्र त काँग्रेस, एमालेले पनि स्वीकार्छ, अरुले पनि स्वीकार्छन् भन्ने जवाफ आउन सक्छ । त्यसोभए अहिले भएका संघीयताको सीमाङ्कन र नामाङ्कन ठीक छ कि छैन, अध्ययन गर्नुपर्ने हुन्छ । ठीक छ भने किन निकास दिएन, विकास भएन ? जवाफ दिनुपर्ने हुन्छ ।
स्मरण रहोस्, अहिलेसम्म भएका प्रदेशको नामकरणमध्ये मधेस प्रदेशमा मात्र पहिचानको आधारमा नामकरण भएको छ । त्यहाँ जसपाको सरकार भएकोले मात्र पहिचानसहित अधिकार स्थापित गर्न संभव भएको हो । यो सबैलाई अवगत भएको कुरा हो । के प्रदेश नं. २ मधेस प्रदेश नामकरण हुने बित्तिकै नेपालदेखि मधेश टुक्रियो ? पहिचानको कुरा उठाउँदा तर्सिएर अतिरञ्जित ढङ्गले जातीय÷ क्षेत्रीय विखण्डनकारी आरोप लगाउनेहरुले जवाफ दिन सक्नु पर्दछ ।
होइन भने प्रदेश नं. १ किरात, प्रदेश नं. २ मधेस, प्रदेश नं. ३ नेवा, क्रमशः ताम्सालिङ, तमुवान, मगरात राख्दैमा देश टुक्रिन्छ भन्ने बोक्रे प्रश्नको जवाफ जसपाले दुई नम्बर प्रदेशमा मधेस प्रदेश नामकरण गरेर गतिलो जवाफ दिइसकेको छ । पहिचानसहितको संघीयतालाई वैज्ञानिक क्रियान्वयन गरिरहँदा देशमा भएका विद्यमान भ्रष्ट्राचार, शोषण र अत्याचारलाई आँखा छोप्न सकिन्न । समृद्धि प्राप्त गर्न सुशासन अनिवार्य शर्त हुन आउँछ । राज्यको आर्थिक चुहावट रोकिनु पर्दछ । भ्रष्ट्राचार, शोषण र अत्याचारका निम्ति शुन्य सहनशीलता हुनुपर्दछ । यसका लागि जसपाले निरन्तर खबरदारी र सङ्घर्ष जारी राख्न जाग्नु पर्दछ ।
संघीयताको वैज्ञानिक कार्यन्वयन, सुशासन र सदाचारयुक्त समाज र आर्थिक, सामाजिक, साँस्कृतिक रूपमा समृद्धि हासिल गरेपछि मात्र समाजवाद स्थापना हुन जान्छ । सामन्ती राज्य व्यावस्थाको अदृश्य अवशेष र दलाल पूँजीवादी युगको चरम चपेटालाई चिर्दै अघि बढेपछि समुन्नत संघीय समाजवाद प्राप्त गर्न सक्दछौँ । त्यो प्राप्त गर्न आज नै अहिल्यैदेखि माथि उल्लेखित अधिकार, अवस्था र व्यवस्था प्राप्त गर्न सङ्घर्ष गरिनु पर्दछ । जसपाले ती सबै कार्यभार पुरा गर्ने आँट र साहस बटुलेर सङ्घर्षरत रहनु पर्दछ ।
लेखक जसपा सम्वद्ध नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै