सिभिल सहकारीबाट पीडितहरुलाई न्याय दिलाउन कलाकार संघको आग्रह
नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ क्रेडिट सहकारी संस्थाबाट पीडित कलाकारहरुलाई न्याय दिलाउन र दोषीमाथि कारवाही गर्न सरकासँग माग गरेको छ । सोमबार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।
चलचित्रकर्मी वसुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक उक्त सहकारीबाट पीडित भएको बताउँदै प्रवक्ता निरौलाले उक्त कार्यप्रति संस्थाको ध्यान आकृष्ट भएको जनाएका छन् ।
सोही सहकारी संस्थामा भुवन चैत्य वसुन्धरा फाउन्डेसनको अक्षय कोषको रकम पनि राखिएको बताउँदै सहकारीबाट रकम नपाएकोले पुरस्कार वितरणमा समेत असर परेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘वर्षेनी एक लाख पचास हजारको पुरस्कार वितरण गरिँदै आएकोमा हाल सहकारीबाट रकम नपाएकोले सो पुरस्कार वितरण कार्यलाई पनि असर परेको छ ।’ मुलुकका नागरिक एवम् चलचित्रकर्मी माथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग संघले अपील गरेको छ ।
चलचित्रकर्मी वसुन्धरा भुसाल,चैत्यदेवी सिंह लगायतका कलाकारहरु सो सहकारीबाट ठगिएको भन्दै केही दिनघि प्रदर्शनमा समेत उत्रिएका थिए ।