सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

देश चिनाउन सांस्कृतिक फोटो पुस्तक

सोमबार, ३० फागुन २०७८, १८ : ५१
सोमबार, ३० फागुन २०७८

सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै संस्थानले आगामी २०७९ असार ५ गते ५० औं वार्षिकोत्सव मनाउन लागेको जानकारी समेत दियो ।

सो अवसरमा संस्थानले प्रदर्शनकारी कलासँग जोडिएका विभिन्न पक्षजस्तै मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटोहरू समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्न लागेको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । उनले नेपालको सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउन फोटो पुस्तक महत्वपूर्ण सामाग्री हुने धारणा राखे ।

‘पछिल्लो समय संस्थानमा नयाँ सोच र शैलीका साथ परिणाममुखी काम भइरहेको छ’, महाप्रबन्धक राईले भने, ‘५०औं वार्षिकोत्सव सांस्कृतिक संस्थानका लागि नयाँ युगको प्रवेशद्धार हुने छ ।’ 

स्वर्ण महोत्सवको अवसरमा प्रकाशन हुने फोटो पुस्तकका लागि संस्थानले फोटो आह्वान गरेको छ । यसका लागि सांस्कृतिक संस्थानको वेभसाइटमार्फत देशविदेशबाट जो सुकैले फोटो पठाउन सक्ने व्यवस्था गरिएको छ । 

प्राप्त फोटोमध्ये निर्णायक समितिको छनोटका आधारमा लगभग तीन सय फोटोहरू पुस्तकमा समेटिने भएको छ । त्यसमध्ये उत्कृष्ट १० फोटोलाई जनही १०,१० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । पुस्तकमा समेटिएका सबै फोटोग्राफरलाई एक एकप्रति फोटो पुस्तक एवं प्रमाणपत्र प्रदान गरिनेछ ।

फोटो छनोटका लागी संस्थानले नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं वरिष्ठ संस्कृतिविद् प्रा। तुलसी दिवस, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल र वरिष्ठ फोटोपत्रकार विकास कार्की सम्मिलित निर्णायक समिति गठन गरेको छ ।

कार्यक्रममा संस्कृतिविद् प्रा। तुलसी दिवसले यस कार्यको प्रशंसा गर्दै नेपालको लोकसांस्कृतिक पक्षलाई मात्र समेटेर प्रकाशन हुने सम्भवतः यो पहिलो फोटो पुस्तक हुने बताए । प्रतियोगितामा सहभागी इच्छुक फोटोग्राफरले २०७८ चैत २५ गतेभित्र फोटो पठाइसक्नु पर्ने व्यावस्था गरिएको छ ।

वरिष्ठ फोटोग्राफर राजभाई सुवालले आफ्नो चारदशक लामो फोटोग्राफी अनुभव सुनाउँदै सांस्कृतिक संस्थानले प्रकाशन गर्न लागेको सांस्कृतिक फोटो पुस्तक समय र बदलिँदो संस्कृतिको साँक्षी हुने बताए । अर्का निर्णायक विकास कार्कीले पुस्तक ऐतिहासिक र नेपाली लोकसंस्कृति संरक्षणका कोसेढुँगा हुने बताए । सांस्कृतिक संस्थान स्थापना कालदेखि नै नाटक, गीत, संगीत, वाद्यवादन, नृत्यका साथै समग्र नेपाली लोक संस्कृतिको संस्थागत विकास, संरक्षण, प्रवद्र्धन, प्रस्तुति एवं दस्ताबेजीकरणका क्षेत्रमा क्रियाशील छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप