आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटनमा देशी विदेशी शक्तिहरुबाटै ठुलो षडयन्त्र भयो : अध्यक्ष प्रचण्ड

सोमबार, ३० फागुन २०७८, १८ : ०७
सोमबार, ३० फागुन २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको समेत बताए ।

‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिङ थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो’, प्रचण्डको भनाइ छ ।

माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गत नै षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम बनेको भएको प्रचण्डको भनाइ छ ।

के भने प्रचण्डले ?

षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौँ र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौँ । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले नै जनतालाई अपील गरेपछि देशैभरी बिभिन्न तह र तप्काका जनता यो डिजाइनविरुद्ध संघर्षमा होमिए ।

लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि यो देशी विदेशी सेटिङ असफल भएको हो । माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली काँग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली काँग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं ।

दोस्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार गरेर संसद विघटन भएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौं । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस् भनेर धेरैचोटी अनुरोध गर्यौं ।

अघिल्लो निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले तपाईहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो । तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।

त्यसपछि दोश्रो पटकको विघटनलाई गठबन्धनको माध्यमबाट असफल तुल्यायौँ । त्यहाँ पनि माओवादी केन्द्रको मुख्य भूमिका रह्यो । हामीले नेपाललाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्नुपर्छ ।

यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगे । सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्किए । त्यसैले अहिले विचलित र अस्पष्ट हुनु जरुरी छैन । आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप