शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तङ्ग्रिदैछन् डुंगा व्यवसायी

सोमबार, ३० फागुन २०७८, १५ : ३१
सोमबार, ३० फागुन २०७८

‘अब त कहिलै कोरोना नआओस्’, पोखराको फेवा किनारमा विगत एक दशकदेखि डुंगा चलाउँदै आएकी मीना भुजेलको प्रार्थना हो यो । मीनाझैं यस्तै प्रार्थना गर्ने माझीहरु फेवाताल वरपर थुप्रै भेटिन्छन्, जसले डुंगा चलाएरै साँझ बिहान चुल्होमा आगो बालिरहेका छन् अनि बालबच्चा पढाइरहेका छन् । 

उनीहरू अझै त्रसित छन्, सशंकित छन्, ‘फेरि कोरोना महामारीको मारमा परिने पो हो कि !’ यद्यपि अब मीना जस्ता धेरै माझीको अनुहारमा चमक आउन थालेको छ । आफ्नो व्यवसाय पुरानै लयमा फर्कनेमा उनीहरु विश्वस्त छन् । ‘यतिको अवस्थामा आइपुग्न लामै समय कुर्नु पर्यो’, मीना थप्छिन्,‘अहिले त दिनको ८÷१० ट्रिप पुग्न थालेको छ ।’

मीना विशेष गरी तालबाराही मन्दिरमा जाने पर्यटकहरूलाई ओहोरदोहोर गराउँछिन् । उनी आक्कल झुक्कल रिजर्भमा डुंगा लिनेहरूका लागि टाढा टाढासम्म पुग्छिन् । तर, त्यो अवसर कोरोनापछि उती जुर्न सकेको छैन । भन्छिन्, ‘कोरोनापछि बल्ल मान्छे आउन थालेका छन्, यहीँ मन्दिर गयो आयो ।’

मीनाका श्रीमान् पनि माझी पेशामै छन् । एक छोरा, एक छोरीसहित पारिवारिक जनजीविकाको आधार उनीहरुको यही माझी पेशा हो । साथीहरूसँग वरपर घाँस दाउरा गर्दै गर्दा मीनाले डुंगा ख्याउन सिकिन् । आज डुंगा चलाउने व्यवसाय बनेको छ । 

‘विस्तारै पर्यटकको फ्लो बढ्दै छ, पर्यटक बढ्दै छन्’, फेवाताल डुंगा व्यावसायी संघका अध्यक्ष बुद्धिबहादुर परियारले रातोपाटीसँग भने, ‘विदेशी पर्यटक त छैनन् तर, आन्तरिक पर्यटक बढिरहेका छन्, छिमेकी देश भारतबाट पनि केही पर्यटक भित्रिई रहेका छन् ।’ 

परियारका अनुसार पर्यटकको सिजनको समय भएपनि सोचे जस्तो उल्लेख्य पर्यटक छैनन् । तर, आन्तरिक पर्यटकको चापका कारणले डुंगा व्यावसायी तङ्ग्रिदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप