बर्डफ्लु : काभ्रेमा नमूना सङ्कलन र निगरानी

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ ।
जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । “सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने । उनका अनुसार काठमाडौँ र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ ।
साँगामा चौबिसै घण्टा पशुपक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमूना सङ्कलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईंले बताए ।
हुमागाँईका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ । जिल्लाको विभिन्न स्थानमा बर्डफ्लुको नमूना सङ्कलन तथा परीक्षण गरिएकामा आइतबारसम्मको परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको केन्द्रले जनाएको छ । केन्द्रले निगरानी बढाउँदै नमूना सङ्कलन तथा परीक्षणलाई निरन्तरता दिइरहेको हुमागाईंले बताए ।
जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु सङ्क्रमण त्यसयता चितवन र राजधानी काठमाडौँ तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट