‘लेखन र व्यवहारमा समानता थियो पारिजातमा’
पारिजात अर्थात् विष्णुकुमारी वाइबा नेपाली साहित्यकी सशक्त प्रगतिवादी नारी हस्ताक्षर हुन् । उनको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा विसं १९९० फागुन ३० गते भएको थियो । स्नातक सम्मको औपचारिक अध्ययन गरेकी उनले २०१३ सालमा ‘धरती’ पत्रिकामा त्यो को हो ? शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा हेलिएकी थिइन् ।
२६ वर्षकै उमेरमा शारीरिक रुपले असक्त भए पनि साहित्य सिर्जनामा निरन्तर लागिरहिन् । ‘शिरीषको फूल’ उनको सर्वाधिक चर्चा बटुल्ने कृति हो भने महत्ताहीन, बैँसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, अनिदो पहाडसँगै लगायत थुप्रै उपन्यास, कथा कविता सङ्ग्रहहरू प्रकाशित छन् ।
प्रगतिवादी साहित्य धारामा अहिलेसम्म उनी जत्ति उचाइको नारी साहित्यकार देखिएका छैनन् । वामपन्थी विचारधाराका साहित्यकारहरू उनका कृतिलाई आदर्श मानी अध्ययन अनुसन्धान गर्न रुचाउँछन् । खास गरी उनका कृतिहरूलाई प्रगतिवादी, नारीवादी र विसङ्गतिवादी दृष्टिकोणबाट विमर्श गर्ने गरिन्छ । उनका कृति, लेखनशैली र विचारलाई संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले पारिजात स्मृति केन्द्र स्थापना भई विभिन्न कार्य गर्दै आएको छ । प्रस्तुत छ, जन्मजयन्तीको अवसर पारेर पारिजातका व्यक्तिगत स्वभाव, साहित्यिक सङ्घर्ष र जीवनका विविध पाटाबारे केन्द्रका अध्यक्ष स्नेह सायमीसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानी :
–तपाईं त पारिजात स्मृति केन्द्रको अध्यक्ष, यस केन्द्रले अहिले के के कार्य गर्दैछ ?
पारिजात स्मृति केन्द्रको उद्देश्य भनेको पारिजातले पछिल्लो समय विश्वास गरेको प्रगतिवादी साहित्यको विकास र विस्तार गर्नु हो । उहाँको त्यो विचार र लेखनलाई संरक्षण, संवर्द्धन गर्ने प्रमुख उद्देश्य हो । कलात्मक भाषामा जनताका कुरा नयाँ पुस्ताले पनि लेखून् भन्ने हो । यही हिसाबले उहाँका नाममा विभिन्न पुरस्कारको पनि स्थापना गरिएको छ ।
यस स्मृति केन्द्रले ४ वटा पुरस्कार वितरण गर्दै आएको छ । पारिजात सङ्घर्षशील नारी सम्मान– यो सम्मान अहिलेसम्म ठूलो सङ्घर्ष गर्दै आएका नारीलाई दिइन्छ ।
पारिजात सिर्जन सम्मान– यो चाहिँ साहित्य लेख्नेहरू महिला पुरुष सबैलाई प्रदान गरिन्छ । खास गरी प्रगतिशील लेखनमा दृढ रूपले लेखिरहेका लेखक तथा साहित्यकारहरूलाई प्रदान गरिन्छ ।
पारिजात कला सम्मान– यो चाहिँ गायन, सङ्गीत, चित्रकला, मूर्तिकला कुनै पनि कलामा योगदान गर्नेलाई प्रदान गरिन्छ । यो स्थापना भएको १७, १८ वर्ष भइसक्यो । यो चाहिँ मैले नै रहर गरेर उहाँको नाममा स्थापना गरेको हुँ ।
पारिजात बाल सम्मान– केही वर्षअघि मात्र स्थापना भएको हो । बाल साहित्यमा कलम चलाउने साहित्यकारहरूलाई प्रदान गरिन्छ । विनय कसजु, शारदारमण नेपाल लगायतले पाउनु भएको छ ।
पारिजात दिदी बसेको घर म्हैपीमा नै पुस्तकालय बनाउँदैछौँ । त्यहाँ इन्दिरा दली दिदीले सहयोग गर्छु भन्नुभएको छ । उहाँ पहिले केन्द्रीय पुस्तकालय कीर्तिपुरको लाइब्रेरियन कर्मचारी पनि हुनुहुन्थ्यो । त्यसका साथै पारिजात दिदीले त्यो समयमा प्रयोग गरेका सामानको प्रदर्शन कक्ष पनि बनाउँदैछौँ । यसका लागि सरकारले १२ आना र सुकन्या दिदीले ६ आना जग्गा दिनुभएको छ । त्यहीँ नयाँ भवन निर्माण हुँदैछ । तर बाटो विस्तार गर्दा केही जग्गा घटेको छ ।
भवन निर्माणका लागि सुरुमा हिसिला यमीले २० लाख रुपियाँ दिनुभएको थियो । त्यसले २ तला बन्यो । पछि आनन्द पोखरेल मन्त्री हुँदा ८० लाख रुपियाँ दिनुभएको थियो । रवीन्द्र अधिकारी मन्त्री हुँदा अर्को ८० लाख दिनुभएको थियो । अझै पूरा हुन बाँकी छ ।
त्यहाँ हामीले सिर्जना यात्रा भनेर महिनामा एक पटक गीत गाउने र कविता वाचन गर्ने गथ्र्यौं, कोभिडका कारण अहिले बन्द छ । रायन, रामेश, उदयजीहरूको अग्रसरतामा जनवादी गीतलाई बचाइराख्नुपर्छ भनेर त्यो कार्यक्रम राखेका हौँ ।
–काठमाडौं बाहिर पनि पारिजात स्मृति केन्द्र बिस्तार गरिदै छ ?
हो, सातै प्रदेशमा पारिजात स्मृति केन्द्र स्थापना गर्ने कार्ययोजना निर्माण गरिएको छ । तर त्यो काम हुन बाँकी छ । यो काम र तीन स्थानमा पारिजातको सालिक स्थापना गर्ने जिम्मा मेरो भागमा परेको छ ।
एउटा इलाम नगरपालिकामा सालिक स्थापना गरियो । त्यस नगरपालिकाले इलाम साहित्य प्रतिष्ठान भनेर स्थापना गरेको रहेछ, त्यसको कार्यक्रममा जाँदा पारिजातको सालिक स्थापना गर्न अनुरोध गरेको पनि थिएँ । एउटा सालिक हेटौँडामा छ, यो धेरै पुरानो हो । अर्को भकुण्डेबेँसीमा राख्ने योजना छ । त्यो चाहिँ नमोबुद्ध नगरपालिकाले नै पारिजातको सालिकको स्थापना गर्ने भनेको छ । मलाई सालिक पठाउन भनेकोे छ । त्यहाँ पारिजात पार्क नै बनाइसकेको छ ।
तपाईं र पारिजातबीच कहिले र कसरी भेटघाट भयो ?
तिथिमिति त याद भएन, ठिटौले उमेरमै २०३७, ३८ सालतिर भेट भएको हुनुपर्छ । पारिजातको घर एउटा साहित्यिक केन्द्र जस्तै थियो । हामी मात्र होइन, अधिकांश साहित्यकारहरू उहाँको घरमा गइरहन्थ्यौं । त्यो समयमा अहिलेका जस्ता प्रकाशक थिएनन्, पुस्तकको अभाव थियो । उनको घर धेरै पुस्तक बिक्री हुने थलोको रूपमा थियो । त्यहाँ उनको सामान्य खालको सानो टेबुल थियो । त्यसलाई पारिजातले ‘सर्वहारा पुस्तक पसल’ नाम राख्नुभएको थियो । पुस्तक किनेर पारिजात दिदीलाई पैसा दिन्थ्यौँ । एक पैसा तलमाथि नगरी राम्रो हिसाब गरेर पैसा फिर्ता गर्नुहुन्थ्यो । उहाँकहाँ जाँदा सुकन्या दिदीले कालो चिया खुवाउनु हुन्थ्यो ।
साहित्यका सन्दर्भलाई भन्दा त्यतिबेला ‘प्रतिभा प्रवाह’ भन्ने एउटा साहित्यिक कार्यक्रम सञ्चालन हुन्थ्यो । त्यहाँ जाँदा उहाँसँग बाक्लो भेटघाट भएको हो । अर्को ‘साहित्य सन्ध्या’ भन्ने कार्यक्रम पनि थियो । त्यसको पनि नियमित जस्तो कार्यक्रम हुन्थ्यो । त्यसको प्रमुख अतिथि पारिजात दिदी नै हुनुहुन्थ्यो । त्यो चाहिँ हरेक महिनाको पहिलो शनिबार सञ्चालन हुन्थ्यो । हरेक महिनाको अन्तिम शनिबार प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम हुने गथ्र्यो । त्यसको संयोजक म नै थिएँ । सो कार्यक्रमका लागि उहाँलाई लिन, पुर्याउन जाने गर्दथेँ । त्यसले गर्दा उहाँसँग अलि बढी सामीप्यता भयो, उहाँबारे धेरै कुरा थाहा भयो ।
–पारिजातसँग निकट रहेर तपाईंले निकै समय काम गर्नुभयो, तपाईंका नजरमा उहाँ कस्तो साहित्यकार हो ?
कुनै पनि साहित्यकारलाई चिनिने आधार भनेको उसको लेखनले नै हो । अर्को ती साहित्यकारको जीवनशैलीले हो । उसको लेखन र जीवनबीचको तादात्म्यता भयो कि भएन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हाम्रा नेताहरूले भाषणमा धेरै राम्रा कुरा भन्छन् तर व्यावहारमा कहीँ मेल खाँदैन । तर यो मामलामा पारिजात दिदीमा एकदमै तादात्म्यता थियो । उहाँ जे लेख्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो, व्यवहारमा पनि त्यो लागू गर्नुहुन्थ्यो । साहित्यकारले सकेसम्म राम्रो भन्नुपर्छ तर राम्रो कुरा मात्र भनेर भएन, त्यो किसिमको राम्रो काम पनि गर्नुपर्छ ।
–लेखन बाहेक उहाँका रुचि कस्ता थिए ?
उहाँको जीवन सरल अनि साधारण बसाइ थियो; जनताप्रतिको कमिटमेन्ट थियो । व्यक्तिगत रूपमा महिला विभेद विरुद्धमा लडिरहनुभयो । पाम भन्ने संस्था खोल्नुभएको थियो । त्यसले जेलमा भएका कैदीहरूका बच्चालाई पढाउने काम गथ्र्यो । त्यो संस्थाले जेलमा रहेका कैदीहरूलाई तिहारमा सेलरोटी खुवाउँथ्यो । त्यो समयमा यस्ता खालका काम गर्नु निकै राम्रो काम थियो, उहाँको सोचाइको स्तर त्यस्तो खालको थियो ।
–उहाँको पारिवारिक तथा आर्थिक अवस्था कस्तो थियो ? छोटोमा बताइदिनुस् न ।
पारिजात दिदी उपचारका क्रममा काठमाडौँ आउनुभएको थियो । उहाँका बुवाआमा भने दार्जिलिङमै हुनुहुन्थ्यो । परिवारमा चाहिँ सुकन्या दिदी र उहाँको श्रीमान् निर्मल लामा र पारिजात दिदी हुनुहुन्थ्यो । एक जना सहयोगी बहिनी पनि थिइन् । सुकन्या दिदीको छोरा त सानै थियो । उहाँको घरमा मैले देखेको चाहिँ त्यत्ति हो ।
आर्थिक अवस्था सामान्य थियो । उहाँसँग खासै पैसा थिएन । संयोगवश म उहाँको एउटा पुस्तकको प्रकाशक पनि हो । चित्रमय सुरुवात भन्ने पुस्तक मैले प्रकाशन गरेको थिएँ । त्यसको एउटा कारण थियो । उहाँलाई व्यक्तिगत खर्चका लागि १५ सय रुपियाँ चाहिएको थियो । मैले त्यति रकम जुटाएर दिन्छु भन्दा लिन मान्नु भएन । लेखकस्व दिनका लागि त्यो किताब छापेको थिएँ । त्यो किताब हजारप्रति छाप्दा ८, ९ हजार जति लागेको थियो । त्यसको कभर मोहन खड्काले बनाउनुभएको थियो । उहाँले पारिजातको तस्बिर नै राखेर तयार गरिदिनुभयो । त्यो १५ सय दिनकै लागि किताब छापेको हो । यसले पनि उहाँको आर्थिक अवस्थालाई चित्रित गर्छ ।
–तत्कालीन समयमा उहाँसँग निकट रहेका साहित्यकारहरू को को थिए ? कस्ता कस्ता साहित्यकारहरूलाई उहाँ रुचाउनुहुन्थ्यो ?
हामी त उहाँभन्दा पछिल्ला चरणका भयौँ । उहाँको विशेषता भनेको मोफसलमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई अधिक माया गर्नुहुन्थ्यो । कसैको कुनै सिर्जना वा कृति मनपर्यो भने चिठी नै लेखेर पठाउनुहुन्थ्यो । जगदीश घिमिरेसँग पनि चिठीपत्र आदान–प्रदान भएको रहेछ । मोदनाथ प्रश्रितसँग चाहिँ उहाँको युद्ध नै जस्तो चलेको थियो । शङ्कर लामिछानेले त शिरीषको फूलमा भूमिका नै लेखिदिनु भएको छ ।
–उहाँलाई कसैले नारीवादी साहित्यकार भन्छन् कसैले विसङ्गतिवादी । उहाँ कस्तो साहित्यकार हो ?
२६ वर्षको उमेरदेखि नै बिरामी हुनुभयो । त्यस्तो बिरामी मान्छेमा विसङ्गतिका ज्वारभाटा आउनु स्वाभाविक नै हो । त्यो क्षणमा विभिन्न सोचहरू आउँथे होला । हाम्रो जीवनमा सानो आपत् आइपर्दा अनेक विचार आउँछन् भने उहाँ त जीवनभर नै बिरामी पर्नुभयो । त्यसले उहाँलाई मानव जीवनप्रतिको विसङ्गतिलाई केलाउन बाध्य पारेको हुन सक्छ । त्यसबीच पनि उहाँ एक उदाहरणीय साहित्यकार मात्र होइन, एक उदाहरणीय नागरिक भएर बित्नुभयो ।
तर उहाँ आफ्ना विचार निर्धक्कसँग व्यक्त गर्नुहुन्थ्यो । कसैलाई भन्न बाँकी राख्नु हुन्न थियो । उहाँका संस्मरणमा आफ्ना विचारहरू इमानदारसाथ राख्नु भएको छ । छिमेकको बारेमा लेख्दा झगडा नै हुन्थ्यो । अहिलेका संस्मरण हेर्दा नेपाल नै त्यही लेखकले बोकेजस्ता देखिन्छन् । संस्मरण भनेको इमानपूर्वक लेख्नुपर्छ ।
–पारिजात लामो समय बिरामी भई ओछ्यान पर्नुभएको थियो, त्यस समय उहाँले भोगेका समस्या के कस्ता थिए ?
उहाँलाई खानामा समस्या थियो; धेरै खानु हुँदैन थियो । उठ्न, बस्न पनि समस्या थियो । धेरै हिँड्डुल गर्नु हुँदैन थियो ।
सुकन्या दिदीसँग आश्रित नै हुनुहुन्थ्यो । सुकन्या दिदीले नै पाल्नुभएको हो उहाँलाई । पालेको मात्रै होइन, एक किसिमले शरीर नचलेको मान्छेलाई धेरै स्याहार सुसार गर्नुभएको हो । उहाँलाई नुहाइदिने, दिसापिसाब गराइदिने, खुवाइदिने, उहाँका सबै उद्वेगहरू सुनिदिने मान्छे चाहियो नि; त्यो जम्मै सुकन्या दिदीले गर्नुभयो । सुकन्या दिदी एकदमै कामकाजी मान्छे हो । जसरी पारिजात लेखनमा सक्रिय हुनुहुन्थ्यो, त्यस्तै सुकन्या जे पनि गरिदिनुहुन्थ्यो, घाँस काट्ने, टाइप गरिदिने सबै काम गर्नुहुन्थ्यो ।
मान्छेलाई साथी सङ्गतको पनि समस्या हुन्छ; बातचित गर्न मन लाग्छ । त्यतिबेला टेलिफोन पनि अहिले जस्तो थिएन, कुनै कुनै घरमा मात्र हुन्थे । तर त्यतिबेला मकहाँ चाहिँ टेलिफोन आएको थियो । उहाँले फोन गर्नुभयो भने एक घण्टा कुराकानी हुन्थ्यो । यो भनेको एक किसिमले साथ नभएर हो नि । अनि तामाङकी छोरी, अलि रक्सी खान मनपराउनु हुन्थ्यो । कहिलेकाहीँ म रक्सी र अण्डा बोकेर जान्थें । सुकन्या दिदीबाहेक उहाँलाई भित्रैबाट बुझिदिने मान्छेको कमी थियो ।
उहाँलाई सहयोग गर्नेमा रायन दाइ पनि हुनुहुन्थ्यो । राल्फा आन्दोलनका सदस्यहरूले उहाँलाई सहयोग गरेका थिए ।
–उहाँसँग साहित्यकारहरू निकै जमघट गर्दथे भनिन्छ, उनीहरूले कतिको सहयोग गरे ?
साहित्यकारहरूले त्यस्तो सहयोग गरेजस्तो मलाई लाग्दैन । राज्यका तर्फबाट पनि केही सहयोग भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात