सुपरस्टारहरू सत्ताको चाकडी किन गर्छन् ?
पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो ।
तर अनपेक्षित कुरा के थियो भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस विषयमा सार्वजनिक टिप्पणी गर्ने विकल्प चुने । नोटबन्दीको एक हप्तापछि विराट कोहलीले एउटा प्रेस कन्फ्रेन्समा भने– ‘मैले भारतीय राजनीतिको जति इतिहास देखेको छु । त्यसमध्ये निश्चित रूपमा यो कदम आजसम्मकै महान पहलकदमीहरू मध्येको एक हो । म यसबाट यति प्रभावित भएको छु कि म आफै निकै अविश्वसनीय छु ।’
नेताहरूका साथ क्रिकेटरहरूको र क्रिकेटरहरूका साथ नेताहरूको हिमचिम कुनै नौलो कुरा होइन । कैयौँ दशकदेखि भाजपा र काङ्ग्रेस दुवै दलका नेता क्रिकेट प्रशासन (सायद कुप्रशासन)मा सक्रिय छन् । सबै दलका नेताहरू जित्दै गरेको क्रिकेट टोलीसँग फोटो खिचाउन चाहन्छ । फेरि पनि कोहलीको बयान भने अनौठो थियो ।
यसभन्दा अघि कुनै पनि भारतीय खेलाडीले सत्तामा बसेका प्रधानमन्त्रीको यति धेरै खुलेर पक्ष लिएका थिएनन् । (हाम्रा क्रिकेटका कप्तानलाई राजनीति, इतिहास अथवा अर्थशास्त्रका बारेमा के थाहा छ, जसले गर्दा उनले नोटबन्दीलाई ‘भारतीय इतिहासको महानतम पहलकदमी’ भन्ने आफ्नो दाबीलाई सही भन्न सकून् । जे होस् यो छुट्टै विषय हो ।)
भारत त्यस्तो देश हो जहाँ, मानिसहरू क्रिकेट खेलाडीहरू र फिल्मी सुपरस्टारहरूमाथि निकै माया छर्किने गर्छन् । हाम्रा क्रिकेट खेलाडी त कहिले काहीँ मात्र शक्तिशाली नेताहरूको पक्ष लिन्छन्, तर हाम्रा फिल्मका सुपरस्टारहरूले त यो काम गरिरहेकै छन् । जुन अभिनेता जति नामी र ठूलो छ, ऊ यो मामिलामा त्यति नै धेरै अवसरवादी र लम्पट छ ।
शताब्दीकै महानायकका रूपमा भनिने अमिताभ बच्चनको उदाहरण नै लिनुस् न, जो भारतीय सिनेमाको इतिहासमा दर्शकहरूको सबैभन्दा धेरै माया पाउने अभिनेता हुन् । सन् १९८० को दशकमा अमिताभ बच्चन काङ्ग्रेसको निकै निकट थिए । यो त्यो समय थियो जति बेला दिल्लीका अधिकांश क्षेत्रमा काङ्ग्रेस सत्तामा आशिन थियो ।
सबैलाई के कुरा थाहा थियो भने उनी राजीव र सोनिया गान्धीका निकै नजिकका मित्र थिए । राजीव गान्धीको आग्रहमा नै बच्चनले काङ्ग्रेसबाट लोकसभा चुनाव पनि लडे र जिते पनि । सन् १९९० को दशकमा बच्चन र नेहरू–गान्धी परिवारमा केही उतारचढाव देखिन थाल्यो । यसैबीच काङ्ग्रेसले भारतीय राजनीतिमा शक्ति गुमाउन लागेको थियो ।
यो त्यही बेला थियो जति बेला कैयौँ क्षेत्रीय दलहरूको उभार हुन लागिरहेको थियो । उनीहरूले मिलेर सन् १९९६ मा संयुक्त मोर्चा सरकारको गठन गरे । यिनैमध्येको एउटा पार्टी, मुलायम सिंह यादव नेतृत्वको समाजवादी पार्टी थियो । यता वच्चन परिवार र नेहरू–गान्धी परिवारबीच मित्रतामा उतारचढाव आइरहेको थियो भने उता मुलायम सिंह र उनका सहयोगीहरूसँग वच्चन परिवारको हिमचिम बढिरहेको थियो ।
सधैँजसो यिनका साथमा फोटो आउँथ्यो र उनीहरू सँगैजसो देखिन्थे । कहिले अमिताभ बच्चनलाई लोकसभाका लागि काङ्ग्रेसबाट टिकट पाइन्थ्यो त कहिले यही कुरालाई सम्झना गर्दै उनकी श्रीमती जया बच्चनलाई समाजवादी पार्टीबाट राज्यसभाका लागि चुनिन्थ्यो । तर यो कुरा यहीँ अन्त्य हुँदैन्, न त अहिले नै यो कुरा सकिएको छ । हालका वर्षहरूमा अमिताभ बच्चन नरेन्द्र मोदी र भाजपाको नजिक आइपुगेका छन् ।
जनवरी, २०१० मा आफ्नो एउटा सिनेमाको प्रमोसनका लागि गुजरात गएका अमिताभ बच्चनलाई गुजरात राज्यको ब्रान्ड एम्बेसडर बनाउने प्रस्ताव गरियो । त्यो प्रस्ताव एउटा यस्तो मुख्यमन्त्रीले गरेका थिए, जो सन् २००२ को धार्मिक हिंसालाई पछि छोड्न लालायित थिए र राजनीतिको राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाउने सपना कोरल्दै थिए । बच्चनले त्यस प्रस्तावलाई स्विकार गरे ।
मई, २०१६ मा अमिताभ बच्चनले प्रधानमन्त्रीका रूपमा मोदी शासनकालको दुई बर्षे उत्सवको अवसरमा राखिएको सरकारी कार्यक्रमको आयोजक बने । त्यसपछि उनले मोदीको आर्थिक नीतिहरूको सक्रिय रूपमा प्रचारप्रसार गरे । एउटा अभिनेता जो कुनै बेला काङ्ग्रेस र समाजवादी पार्टीसँग आफ्नो उठबस र नजिक रहेको देखाउन चाहन्थ्यो, ऊ आज तिनीहरू भन्दा विल्कुलै भिन्न तेस्रो पार्टीको शरणमा छ ।
अभिनेता पनि नागरिक हो । उसको पनि राजनीतिक दृष्टिकोण अथवा निर्वाचनका लागि उनीहरूलाई आरोपित गरिनु हुँदैन । तर, अमिताभले सजिलैसित पहिलो पार्टीबाट दोस्रो पार्टी र फेरि तेस्रो पार्टीको यात्रा तय गर्नु भनेको अवसरवादभन्दा केही पनि होइन ।
उनको व्यवहारको तुलना सम्मानित हलिउड अभिनेताहरूको व्यवहारसँग गर्नुस् त । उनीहरूको पनि राजनीतिक सम्लग्नता छ । तर उनीहरूको यो सम्लग्नता कुनै एउटा राजनीतिक विचारधारासँग मात्र रहेको पाइन्छ । हलिउड अभिनेता जर्ज क्लुनी एउटा प्रसिद्ध डेमोक्रेट हुन् । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, आफ्नो घुँडाले टेकेर उनलाई आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन भन्थे भने पनि उनले क्लुनीलाई फकाउन सक्दैनथे ।
अर्कोतर्फ हलिउड निर्देशक क्लिन्ट इस्टवुडले एक पटक रिपब्लिकनहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे तर उनी जहिलै डेमोक्रेटहरूको जस्तोसुकै पार्टी आयोजनबाट निकै टाढा रहे । पश्चिमका अभिनेताहरू सामाजिक मुद्दाहरूमा आफूलाई जोड्न निकै तत्पर देखिन्छन् । यही कारण हो हलिउड अभिनेत्री वेनेसा रेडग्रेव र एन्जेलिना जोली र अरूले पनि आफ्नो जीवनको ठूलो भाग उत्पीडित र वञ्चितहरूको पक्षमा समर्पित गर्दै बिताए ।
पश्चिममा दरिलो सामाजिक र राजनीतिक विचार भएका अभिनेताहरूलाई धेरैजसो साहसी र दृढ देखिएको छ । तर, यस्तो होइन कि भारतमा अभिताभ वच्चन मात्र अपवाद हुन् । हिन्दी फिल्मका अभिनेताहरू सत्ताधारी राजनीतिकज्ञहरूसँग जोडिएका छन् र जोडिन चाहन्छन् । यसको अपवाद भने तपाईंलाई हिन्दी क्षेत्रको भन्दा बाहिर नै भेटिन्छ । जस्तो कि कुनै बेला एमजी रामचन्द्रन र एनटी रामारावको मामिलामा देखियो ।
उनीहरूले आफ्नो राजनीतिक विचारलाई अघि बढाउनका लागि राजनीतिक पार्टीकै स्थापना गरे । वर्तमानमा प्रकाश राज र कमल हसनलाई पनि यिनैको परम्परा भन्न सकिन्छ । जसले हाम्रो समाजको बहुसङ्ख्यकवादी झुकावलाई चुनौती दिँदै त्यसका खिलाफ साहसिक तवरले आफ्नो स्वर मुखरित गरे ।
अभिनेताहरूलाई राजनीतिक हुनु अनिवार्य हुँदैन । हामी उनीहरूप्रति पनि सम्मान राख्छौँ जसले सबै कुरालाई छोडेर आफ्नो कला पक्षमा नै आफूलाई समर्पित गरे र जो राजनीतिक आयोजना र राजनीतिज्ञहरू भन्दा टाढा बस्न रुचाए ।
तर, ती अभिनेताहरूका प्रति गुनासो गर्नु गलत होइन जसले सधैँ सत्ताधारी राजनीतिज्ञहरूसँग आफूलाई जोडेर त्यसको हौवा फैलाउन चाहिरहे । सन् २००६ मा जब काङ्ग्रेस सत्तामा थियो, त्यति बेला शाहरूख खान आफ्नो एउटा फिल्मको निम्तो दिन सोनिया गान्धी र राहुल गान्धीसँग भेटन उनको घर गए ।
पछि उनले पत्रकारहरूसँग भने– ‘सोनिया एउटी सशक्त महिला हुन्, जसको तपार्इं तारिफ गर्न सक्नुहुन्छ ।’ मानिसहरू आशा गर्न सक्छन् (तर त्यसमा सर्त लगाउन सकिँदैन् ।) जब उनको अर्को फिल्म आउनेछ, तब शाहरूख यसै गरी एकचोटि फेरि यसैगरी यस परिवारको प्रशंसा गर्नेछन् जो अहिले विपक्षमा छ ।
मई, २०१६ मा अभिनेता ऋषि कपुरले निकै वाहवाही पाए । जब उनले ट्विटरमा नेहरू–गान्धीको नाममा कैयौँ योजना र भवनहरूको नाम राख्ने कुरालाई लिएर उनले आफू खुसी नभएको कुरा स्पष्ट पारे । उनले जे कुरा भने त्यो झूठो थिएन, तर मैले यो नसोचीकन रहनै सकिन । यदि यही कुरो उनले नेहरू–गान्धी सत्तामा आसिन हुँदा भनेको भए ? के त्यो धेरै विश्वसनीय र धेरै प्रभावकारी हुँदैनथ्यो ?
जब यूपीए सत्तामा थियो, तब उनी (ऋषि कपुर) मौन थिए । जब कि त्यस समयमा कयौँ मानिसहरू जसमा म पनि थिएँ, हामीले यस प्रक्रियाको तिखो आलोचना गरेका थियौँ । भारतीय अभिनेताहरूको विशेषता अनुरूप, कुनै कम सचेत क्षणमा बढ्दो असहिष्णुताका विरुद्ध बोलेर आमिर खानलेपछि सत्तामा बसेका मानिसहरूसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेको हामीले देखेका छौँ । उनले राष्ट्रिय स्वयंसेवक सङ्घका मुखिया मोहन भागवतबाट पुरस्कार ग्रहण गरे र साङ्केतिक रूपमा उनका अघि नतमस्तक भए ।
सबैभन्दा मसहुर भारतीय, राजनीतिक रूपमा ताकतवर मानिसहरूका प्रति आवश्यकताभन्दा धेरै श्रद्धा प्रदर्शन गर्छन् । यही कुरा सबैभन्दा धनवान मानिसहरूको पनि हो । महत्वपूर्ण उद्योगपति हरेक बजेटलाई सार्वजनिक रूपमा निकै राम्रो रहेको भनेर फूलबुट्टा भर्छन् । भलै सत्तामा जोसुकै होस । (उनीहरूले निजी रूपमा के भन्छन्, यो विल्कुलै भिन्दै कुरा हो ।)
भारतीय उद्योग जगतका यी बाहुबलीहरू, ट्विटरमा त्यति बाहुबली देखिँदैनन्, जहाँ उनीहरू मोदीको चाकरी र दलाली गरिरहेका हुन्छन् । मैले यो आलेखको आरम्भ नोटबन्दी लागू गर्ने प्रसङ्गमा विराट कोहलीद्वारा त्यसको प्रशंसा गरेको कुराबाट गरेको थिएँ । तर जब चार महिनापछि यसको नकारात्मक प्रभावहरू देखिन थाल्यो, त्यसपछि उद्योगपति राजीव बजाजले निकै खुलेर नोटबन्दीको आलोचना गरे ।
उनले नासकमको एउटा सम्मेलनमा भने– ‘यदि कुनै समाधान र विचार सही हो भने यो नौनीमा तातो छुरा चलाए जस्तो हुन्छ । तर यदि कुनै विचारले काम गरेन भने, जस्तै उदारहणस्वरूप नोटबन्दी, भनेपछि यसको कार्यान्वयन पक्षालाई दोष नदिनुस् । मलाई के लाग्छ भने तपार्इंको विचार नै यसमा गलत छ ।’
तर व्यापारीहरूले सरकारी नीतिको आलोचना निकै कम कहिले काँही मात्र गरेको देखिन्छ । हाम्रोमा जर्ज सोरोस (हङ्गेरी–अमेरिकी व्यापारी तथा लगानीकर्ता र मानवसेवी) को कुनै अर्को स्वदेशी संस्करण नै छैन् । जसले आफ्नो धन, आफ्नो बुद्धि र आफ्नो प्रतिष्ठाद्वारा राजनीतिज्ञहरू र सरकारहरूको अनीतिकता र तानाशाही कार्यको विरोधमा त्यसलाई खन्याएको होस् ।
यहाँ के कुरा स्मरण गर्न सकिन्छ भने कुनै पनि भारतीय व्यापारीहरूले आपातकालको कुनै विरोध गरेनन् । जब कि कैयौँले यसको समर्थन मात्र गरिरहेका थिए । जब ट्रम्पले केही निश्चित मुस्लिम देशहरूको नागरिकलाई अमेरिका आउन घिनलाग्दो प्रतिबन्ध लगाए, तब माइक्रोसफ्टदेखि लिएर गुगल र एप्पल हुँदै फेसबुक जस्ता ठूला कम्पनीहरूले सार्वजनिक रूपमा त्यसको विरोध गरे ।
अर्कोतर्फ भारतमा त केन्द्र सरकारको सर्वाधिक सन्देहास्पद र आर्थिक रूपमा निकै नोक्सानी पुग्ने फैसलाहरूलाई पनि कारोबारीहरूले सर्वसम्मत रूपमा झण्डै सर्वसम्मती दिँदै स्वीकार गरे । यसै वर्षको अगस्टमा ‘द टेलिग्राफ’मा प्रकाशित एउटा लेखको अन्तर्यमा जे कुरा उल्लेख गरिएको थियो, त्यसको शीर्षक के थियो भने– ‘साइलेन्स अफ बिजनस लैम्ब्स : सीईओज इन अमेरिका स्पिक आउट बट नट दोज इन इन्डिया’ (कारोबारी छाउराहरूको मौनता ः अमेरिकी सीईओ बोल्छन् तर भारतीय सीईओ बोल्दैनन् ।)
आखिर भारतीय पुँजीपतिहरू भारतीय अभिनेताहरू जस्तै सत्तामा बसेकाहरूसँग नुन पानीको घोल जस्तै किन मिसिएर बस्न चाहन्छन् ? हाम्रोमा सार्वजनिक संस्थानहरूको कमजोरी र त्यसको दुरूपयोग गर्ने नेताहरूको क्षमता, त्यसको उदाहरण हुन सक्छन् । जब अमेरिकी व्यापारी जर्ज सोरोस र हलिउड अभिनेत्री मेरिल स्ट्रिप, डोनाल्ड ट्रम्पलाई चुनौती दिई रहेका हुन्छन् भने उनीहरूलाई पनि के थाहा छ भने राष्ट्रपति ट्रम्पले उनीहरू विरुद्ध इन्टरनल रेविन्यू सर्भिस अथवा फेडरल ब्युरो अफ इन्भेस्टिगेसनलाई आफ्नाविरुद्ध सक्रिय बनाउन आदेश दिन सक्छन् ।
तर भारतमा सत्ताको दुरूपयोग रोक्नका लागि यस्ता संस्थानिक अवरोधकहरूको अस्तित्व छैन । काङ्ग्रेस र भाजपा दुवैको शासनमा आफ्ना आलोचक र प्रतिद्वन्द्वीहरूलाई तह लगानउ उनीहरूले सरकारी एजेन्सीहरूको खुलेर प्रयोग गर्ने गर्छन् ।
हाम्रो देशको सबैभन्दा धनी र सबैभन्दा लोकप्रिय मानिसहरूद्वारा शक्तिशाली मानिसहरूको दलालीलाई व्यक्तिगत साहसको कमीका रूपमा पनि हेर्न सकिन्छ । एकचोटी लोकप्रियता अथवा धन अथवा यी दुबै पाइसकेपछि भारतीय अभिनेता अथवा व्यापारीहरू (र खेलाडी पनि) सामाजिक अन्याय अथवा सरकारका अपराधहरूको खिलाफमा बोलेर यस कुरालाई गुमाउन चाहँदैन ।
यो लेख ‘द वायर’बाट लिईएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट