मेलम्ची बाढीबाट भएको जोखिमबारे प्रतिवेदन प्रस्तुत
मेलम्ची बाढीबाट भएको जोखिम आकलन तथा पुनःनिर्माणसम्बन्धी अध्ययन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा भूगर्वविद् सहप्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्ययनले मेलम्ची तथा इन्द्रावती नदी तटीय क्षेत्रहरुमा तटबन्ध निर्माण गर्नुपर्ने ठाउँहरुका बारेमा बुझाएको थियो । विज्ञहरुले नदीको क्षेत्र कायम गर्ने विषयमा पनि सुझाव दिएका छन् । विज्ञको टोलीले तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी सातवर्षे योजनासमेत तयार पारेर नगरपालिकालाई बुझाएको छ । सोही योजनाअनुसार अहिले मेलम्ची नदीलाई गहिराएर नदी एकीकृत गरी व्यवस्थित बनाउने काम थालेको नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।
साथै हरियो, पहेँलो र रातो क्षेत्र छुट्याएर जोखिम नक्साङ्कन गरिएको छ । जसमा हरियो क्षेत्रमा आवासीय क्षेत्र, पहेँलोलाई खेतीयोग्य र रातोलाई स्थायी संरचना नबनाएर पार्किङ, बसपार्कलगायतका अस्थायी संरचना बनाउन सकिने प्रतिवेदनले बताएको छ । मेलम्ची क्षेत्रका तीनवटा स्थानलाई पक्की आवास क्षेत्रका रूपमा विकास गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । तालामाराङको भटार, मेलम्चीको माख्लो टार र बाहुनेपाटीको मध्यपहाडी क्षेत्रलाई बसोबास योग्य क्षेत्र बनाएर सहर विस्तार गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै खोला नियन्त्रणका लागि तालामाराङदेखि सिपाघाटसम्ममा जोखिम हेरेर संरक्षणका लागि खोला वारि र पारि गरी लागि नौ किलोमिटर लामो पर्खालको आवश्यकता रहेको जनाएको छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद् शेरबहादुर तामाङले नगरको मात्र स्रोतले यो सम्पूर्ण काम गर्न नसकिने भन्दै अन्तरराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेर केही वर्षभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । नगरप्रमुख डम्बर अर्यालले विज्ञको अवधारणाअनुसार बनेको नगरपालिकाको योजनामा संघीय सरकार र प्रदेश सरकारले कार्यान्वयनका लागि सहयोग गर्नपर्ने बताए । उनले योजना कार्यान्वयन गर्नका लागि समुदायको पनि साथ चाहिने हुनाले नगरपालिकाको काममा साथ दिन आग्रह गरे ।
उनले स्थानीय तहको चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा अब आउने जनप्रतिनिधिले पनि नगरका यस्ता योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै जनसमुदायले पनि झकझकाउनुपर्ने बताए ।
कार्यक्रममा स्थानीय प्रभावितहरुले नगरको योजना र यहाँका अवस्था बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासाको विषय विज्ञहरुले जवाफ दिएको नगर सचिवालय अधिकृत इच्छाराम सापकोटाले जानकारी दिए । कार्यक्रममा उपप्रमुख भगवती नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठलगायतले योजना कार्यान्वय गर्नका लागि सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले चाल्यो यस्तो कदम
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने
-
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन