आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बढी बजेट

चैत २२ बाट सफाई शुरु गरिने
आइतबार, २९ फागुन २०७८, १९ : १५
आइतबार, २९ फागुन २०७८

नेपाली सेनाको नेतृत्वमा २०७८ चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ । मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा तालिम चलिरहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए ।

नेपालमा ८ हजार मिटरका आठ वटा हिमाल र ६ हजार माथिका १३ सय १० वटा चुचुराहरू छन् । तीमध्ये सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लुको बेस क्याम्प भन्दा माथी र बेसक्याम्प वरपरबाट ३५ टन फोहाेर संकलन गर्ने सेनाको योजना छ । हिमाल सफाई गर्न सेनालाई सरकारले ८ करोड ३० लाख बिनियोजन गरेको छ । तर, सफाइका लागी सेनाले १२ करोड बजेट मागेको छ । सफाई अभियानमा २९ जना सैनिक, ४८ जना शेर्पा र समन्वय समिति र रियरअप्स ग्रुपका १४ जनासहित ९१ जना खटिनेछन् ।

सफाइमा खटिनेहरुका लागी आवश्यक पर्सनल क्लोदिङ्ग तथा इक्युपमेन्ट खरिद, ह्याण्डलिङ्ग एजेन्सीको खरिद र भत्ता बापत सरकारले ८ करोड  ३० लाख बिनियोजन गरेको हो । सरकारले छुट्याएको रकम बाहेक सेनाको तर्फबाट हुने हवाई साधन र मेडिकल तथा संचारबापत करिब १ करोड ३० लाख सेनाले खर्च गर्न लागेको सहायकरथी सिलवालले जानकारी दिए ।

यस पटकको हिमाल सफाइ अभियान २०७८ चैत २२ देखी २०७९ जेष्ठ २२ सम्म चल्नेछ । सगरमाथा र ल्होत्से हिमालमा ५५ दिन तथा कञ्चनजंघा र मनास्लुमा ४५ दिन सफाई गरिनेछ  । सेनाले हिमालबाट २०१९ मा १० टन र २०२१ मा २७ दशमलव ६ टन फोहोर संकलन गरेको थियो । २०२१ मा हिउँमा पुरिएका ४ वटा शव निकालिएको थियो ।

हिमाल सफाइमा खटिने सेना र अन्य अभियानकर्मीले आरोहण दस्तुर तिर्नुपर्दैन । संकलित फोहर काठमाडौं ल्याउनको लागी बजेटको समस्या रहेको हुनाले हिमाल आसपासका स्थानिय निकायलाई हस्तान्तरण गरिने सहायकरथी सिलवालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप