बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय स्वाधिनताभन्दा केपीले पाखुरा सुर्किए : प्रचण्ड

दुई मात्रै पार्टी बनाउने अन्तराष्ट्रिय डिजाइन
आइतबार, २९ फागुन २०७८, १९ : ०६
आइतबार, २९ फागुन २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा भएको छलफलका क्रममा देव गुरुङले राष्ट्रिय स्वाधिनता भनि नसक्दै एमाले अध्यक्ष केपी ओली कड्किएको बताएका छन् । विराटनगरमा आज आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर अन्तिमपटक छलफलमा जाँदा त्यसरी कड्किएको स्मरण गरे ।

‘देउवा बालकोट गएको गयै गरेपछि हामी पनि किन नजाने भनेर एमसिसीको विषयमा छलफल गर्न ओलीजीकोमा गयौं,’ प्रचण्डले ओलीसँग भएको एक्ला एक्लै भेटको स्मरण गरे, ‘त्यसबेला मैले धेरै मिठो भाषामा भने, राष्ट्रिय संकटको बेलामा लेफ्टहरु त मिल्नै पर्छ नि । तर, ओलीले पहिले अग्निलाई हटाउनु होस्, १४ सांसद हटाउनु होस्, अनि १९ पृष्ठ लामो प्रतिवेदन फिर्ता लिएको सार्वजनिक घोषणा गर्नुहोस् भने । त्यसपछि म झसंग भएँ,’ प्रचण्डले भने, ‘फेरि अर्को पटक भएको छलफलमा केपीसँग देव गुरुङले राष्ट्रिय स्वाधिनताको विषयमा मात्रै के भन्नुभएको थियो, केपी ओलीले के को राष्ट्रियता जस्ताको तस्तै पारित गर्नुपर्छ भनेर कड्किए ।’


हप्तौंसम्म देउवा निवास बुढानिलकण्ठ धाएर प्रधानमन्त्री बनाएको दाबी गर्दै प्रचण्डले त्यही प्रधानमन्त्री एमसिसीको कारण ढल्ने अवस्था आएपछि नयाँ विकल्प खोजि गर्न ओलीकोमा पुगेको उनले बताए । ‘शेरबहादुर र आफूबीच असहमति हुँदा हुँदै सहमति गर्यौं । त्यसपछि देउवा पास गर्नेतिर लागे, हामी हराउने तिर लागियो । हार्ने अवस्था देखेपछि ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव देउवाले गरेको थाहा पाइयो,’ प्रचण्डले भने, ‘आज बालकोट, भोली बालकोट, श्रीमान श्रीमतीसहित बालकोट जाने भयो । देउवाले प्रधानमन्त्री केपी ओलीलाई दिएर, प्रदेशसमेत भागबण्डा गरेको थाहा पाइयो । त्यसपछि आफू, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत एमालेसँग छलफल गर्न गयौं ।’

उनले त्यसबेला ओलीले गरेको व्यवहार सम्झिए । ‘हामीले त राम्रै गर्न खोजेको थियौं नि । तर, ओली कड्किएपछि त्यो पनि सिद्धियो, कांग्रेस र एमालेको गठबन्धन हुने अवस्था देखिएपछि १२ बुँदे व्याख्यात्मक घोषणा तिर लागियो । हामीले त्यति नगरेको भए व्याख्यात्मक घोषणा पनि हुने थिएन । एमसिसी यत्तिकै पारित हुने थियो, उनीहरुको त बहुमत थियो नि,’ प्रचण्डले एउटै मञ्चमा रहेको नारायणकाजी श्रेष्ठतिर लक्षित गर्दै भने, ‘एमसिसीको विषयमा पार्टीभित्र गम्भीर विवाद हुनु नै थियो । तर, राष्ट्रियताको मुद्दालाई लिएर फेरि लड्न पाएको भएपनि हुन्थ्यो, आन्दोलन गर्न पाएको भएपनि हुन्थ्यो, युद्ध गर्न पाएको भएपनि हुन्थ्यो भन्नेहरूलाई म सम्मान गर्छु, भोली जरुरी पर्यो भने व्याख्यात्मक घोषणा मानिएन र जरुरी पर्यो भने यसैलाई टेकेर आन्दोलन गर्न बाटो बनेको छ । हामी निर्वाचनको मुखमा छौं । त्यसपछि हामीले फोरममा आवश्यक बहस गरेर जाऔं ।’ 

प्रचण्डले सम्झिए गिरिजाप्रसाद कोइराला
मन्तव्यका क्रममा प्रचण्डले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पुनः सम्झना गरे । ‘पहिलेको चुनावमा सानो सानो बनाएको भए हुने थियो नि, जनताले ठूलो बनाए । हाम्रो भुइँमा खुट्टो नै रहेन । विचरा त्यो बुढो मान्छे, उसैले हस्ताक्षर गरेर शान्ति सम्झौता भएको थियो,’ गिरिजालाई सम्झँदै उनले भने, ‘उनैलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो ? मेरो बुद्धि । के बुद्धि होला ? क्रान्तिकारी भनेर त्यो रुक्माङ्गत कटुवाललाई किन हटाएको होला । छेउमा बसेको बाबुराम र बादल छन् । उनीहरुले ठोक ठोक भने मैले पनि ठोकिदिएँ । त्यसपछि राष्ट्रपति पनि गयो, प्रधानमन्त्री पनि गयो सबै गयो ।’

दुई पार्टी बनाउने अन्तराष्ट्रिय डिजाइन
प्रशिक्षणका क्रममा प्रचण्डले माओवादी लगायत क्रान्तिकारी पार्टीलाई निस्तानाबुद (निमिट्यान्न) पार्ने कोशीसमा अन्तराष्ट्रिय शक्ति लागिरहेको तर्क गरे । ‘आउने चुनावमा नेपालमा माओवादीलगायतका क्रान्तिकारी विचारकाहरुलाई निस्तानाबुद बनाउने र दुई पार्टी (बुर्जुवा पार्टी)मात्रै बनाउने अन्तराष्ट्रिय डिजाइन भइरहेको छ,’ उनले भने, ‘चाहे संघीय, प्रदेश वा स्थानीय चुनाव होस् । हामी क्रान्तिकारीलाई सिध्याएर निस्तानाबुद गर्ने, सिध्याउने योजनासाथ लागेका छन् । हामीले यो ब्याटल जित्नुछ ।’ उनले अहिलेको उपलब्धी गुम्नसक्ने भन्दै कार्यकर्तालाई भने, ‘उम्मेदवार मात्रै होइन, क्रान्तिका उपलब्धी हार्छ, समावेशी समानुपातिक हार्नेवाला छ । ठूलो आइसोलेसन भएर लम्बे लडाइँमा जानुपर्ने परिस्थिति निर्माण हुने खतरा छ । सामान्य रुपमा नलिदिनुहोला ।’

माओवादी भनेको संकट टार्ने, प्रधानमन्त्री अर्कोलाई बनाउने
प्रचण्डले माओवादीले राष्ट्रिय संकट टार्ने तर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रै भएको जस्तो भइरहेको बताए । उनले प्राप्त उपलब्धिलाई सही ढंगले कार्यान्वयन गर्ने अवसर माओवादी नपाएको पनि बताए । 
‘कहिले को कहिले को प्रधानमन्त्री बनाइयो । हुँदै नभएको संसद माधवलाई पनि बनाइयो । झलनाथ खनाललाई सप्राइज दिएरै प्रधानमन्त्री बनाइयो । केपी ओलीलाई प्रधानमन्त्री बनाउँछु संविधान बनाऔं भनियो, फेरि देउवा फेरि ओली प्रधानमन्त्री  बनाएको छ,’ उनले भने, ‘तर, हाम्रो हातमा त शक्ति छैन । माओवादी भनेको संकट टार्ने, प्रधानमन्त्री अर्कोलाई बनाउने खालको भयो ।’ प्रशिक्षणमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसिसीबारे आफू धेरै नबोल्ने बताएका थिए । ‘मलाई एमसिसीबारे धेरै नबोल्नु भन्ने पार्टीको निर्देशन छ, जेठ २० गतेपछि पार्टीको फोरमहरुमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘व्याख्यात्मक घोषणाको विषयमा पनि त्यतिबेलै आवश्यक छलफल गरौंला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप