आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन्ः प्रचण्ड

आइतबार, २९ फागुन २०७८, १७ : २८
आइतबार, २९ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे । तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन् । 

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो । ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र  दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’ 
 

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै  त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला’, उनले भने । प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको पनि उल्लेख गरे । 
प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’ 

यस्तै रुक्माङ्गत कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप