अम्बे स्टील्स्लाई एक महिनाभित्र ३५ मेगावाट विद्युत दिँदै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले बाँकेमा रहेको अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ ।
उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पुर्याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो ।
उद्योगसम्म विद्युत पुर्याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले अवलोकन गर्दै औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ । टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत आफूर्ति लिने गरी आफूले गर्नु पर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।
‘विद्युत खपत बढाउन उद्योगहरुलाई मागेजति विद्युत दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अम्बेस्टील्स्ले विद्युत जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको देखिएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत आपूर्ति दिन सकिन्छ, हाम्रोतर्फबाट कुनै समस्या छैन ।’
अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगहरुलाई विद्युत आपूर्ति दिइने छ । प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैहरवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)