शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोध गर्दै एमालेमा जानेलाई प्रचण्डले भने- बरु बिजुक्छेको पार्टीमा गए त विरोध गर्न सुहाउँथ्यो !

आइतबार, २९ फागुन २०७८, ११ : ४९
आइतबार, २९ फागुन २०७८

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका केही नेता कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा प्रवेश गरेकोप्रति आश्चर्य प्रकट गरेका छन् । एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु अनौठो र लाजमर्दो कुरा भएको बताउँदै उनले पार्टी छाड्ने नै भए विप्लवदेखि विजुक्छेसम्मको पार्टी भएको बताए । 

 ‘केही साथीहरुको अचम्म के लाग्छ भने एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाहिँ अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकामा जानु नि, किरणजीकोमा जानु, विप्लवकोमा जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि,’ उनले भने । 

विराटनगरमा आइतबार प्रेस सेन्टर प्रदेश १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी परित्याग गर्ने र आउने जाने प्रक्रिया चलिरहने पनि बताए । माओवादीबाट निर्वाचित रंगेलीका प्रमुखसहित एमालेमा प्रवेश गरेको सन्दर्भमा संचारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘कतिपय यसअघि नै गइसकेका र खुट्टा उचालेकाहरू गए केही ठूलो कुरा होइन, पार्टी प्रवेश गर्ने एमालेका साथीहरु खुमलटारमा लस्कर लागेको छ । काँग्रेस, एमालेका कार्यकर्ता प्रवेश गर्ने क्रम चलिनै रहेको छ । पार्टी प्रवेश गर्ने, यता आउने उता जाने चलिरहन्छ ।’

अर्को प्रसंगमा प्रचण्डले गठबन्धन दलहरुबीच केन्द्रमा बनाएजस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भइसकेको बताए । ‘प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भएको छ । हामी बनाउने प्रक्रियामा छौं,’ केन्द्रमा जस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्र बनाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने । 

प्रचण्डले एमालेसँग आगामी निर्वाचनमा मिल्ने कुनै सम्भावना नरहेको बताए । ‘तत्काल फेरि एमालेसँग सहमति हुने सम्भावना कहिँकतै देखिएको छैन । हामी राष्ट्रिय स्वाधिनताको विषयसँग एमालेसँग केही सहमति हुनसक्छ भनेर नारायणकाजीजी र म नगएको होइन । तर, कहिँकतै एमालेमा सकारात्मक चिज भन्ने देखिएन । अहिले एमालेसँग वा केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने स्थिति छैन,’ उनले भने । 

प्रचण्डले गठबन्धन भन्दा पहिलो प्राथमिकता आफ्नै खुट्टामा उभिने भएको तर्क पनि गरे । काँग्रेसका कतिपय नेताहरुले गठबन्धन गर्नुहुँदैन भन्नेगरी दिएको अभिव्यक्ति आन्तरिक पार्टी जीवनमा आफू सुरक्षित हुनका लागि भएको पनि उनले बताए । ‘पहिलो कुरा त निर्वाचनमा सबै पार्टी विचार राजनीतिक एजेण्डा अनुसार चुनाव जित्ने कुरा हो । गठबन्धन पहिलो कुरा होइन । हामीले प्रष्ट भनेका छौं । आफ्नै खुट्टामा उभिने, आफ्नै जनाआधार बनाउने हो । आफ्नै बलबुँतामा चुनाव लड्ने हो,’ उनले भने, ‘स्थानीय स्तरमा कहाँ तालमेल गर्ने हो कसरी गर्ने हो भन्ने विषय हुनसक्छ । हाम्रो जोड गठबन्धन कै पार्टीहरुसँग होस् भन्ने हो । शतप्रतिशत गठबन्धन हुन्छ र त्यही अनुसार चुनावमा जान्छौं भन्ने कुरा सही होइन ।’
गठबन्धन गर्दा पनि अहिलेको सरकारमा रहेका दलहरु बीचमै हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप