बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एक वर्षमै तयार भयो पिप्ले क्याम्पा रगंशाला

आइतबार, २९ फागुन २०७८, ०९ : १८
आइतबार, २९ फागुन २०७८

निर्माण प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडामा मिनी रंगशाला तयार भएको छ । हेटौँडाका पूर्व बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा स्थानीय पिप्ले युवा क्लबको सहयोगमा निर्माण कार्य प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडाको क्याम्पाडाँडामा ‘पिप्ले क्याम्पा रंगशाला’ तयार पारिएको हो ।

२०७८ वैशाखदेखि हेटौँडा–५, क्याम्पाडाँडामा निर्माण प्रारम्भ भएको पिप्ले क्याप्पा रगंशालाको शुक्रबार एक समारोहका बीच समुद्घाटन गरिएको छ । हेटौँडामा २०७६ वर्ष फागुन अन्तिममा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता जारी रहेका बखत सुशीलले रगंशाला निर्माणको सपना बुने । हेटौँडा–५ का वडा अध्यक्ष एवम् क्लाबका पूर्व अध्यक्ष राजेश बानियाँको समर्थनले उनको सपना साकार भएको छ । 

वडा अध्यक्ष बानियाँको साथपछि घिमिरेले हेटौँडाका मेयर हरिबहादुर महतसमक्ष उक्त रंगशाला प्रस्ताव गरे । उनको सो प्रस्तावलाई मेयर महतले पनि स्वीकार गरेर सहयोग गर्न बचन दिए । सुरुमा सामान्य भएपनि रंगशाला निर्माणको योजना बनाएका उनले पछि भने त्यसलाई विस्तार गरे ।

रंगशाला बनाउन सरकारी तवरबाट हेटौँडा उपमहानगरपालिका र ५ नम्बर वडा कार्यालयले मात्रै सहयोग गरेका छन् । रगंशाला निर्माणको योजना बनाएका घिमिरे सुरुमा काम कसरी गर्ने भन्ने विषयमा नै अलमलमा परे । तत्कालीन अवस्थामा ४०० मिटरको रनिङ्ग ट्रयाक निर्माणको योजना बनाइयो ।  

उनले त्यसका लागि जनस्तरबाट रकम संकलन सुरु गरे । घिमिरेले सङ्कलित रकमबाट काम सुरु गरे । त्यसमा इट्टा थप्ने काम तत्कालीन मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गरे । उनले उक्त रनिङ्ग ट्रयाक निर्माणको लागि नजिकै रहेको कर्रा खोलाबाट नदीजन्य निर्माण सामग्री निकासीको सहजिकरण गरिदिए । त्यसले पिप्ले क्याम्पा रगंशालाको सपनालाई साकार पार्ने काम गरेको उनी बताउँछन् ।

रनिङ्ग ट्रयाक बनाउँदै गर्दा रगंशालाका लागि वडा कार्यालयबाट करिब १२ लाख बजेट विनियोजन भयो । तर, त्यो रगंशालाका लागि पर्याप्त थिएन । जनस्तरबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै उनी अघि बढे । सबैको सहयोग पनि प्राप्त हुँदै गयो । सोही क्रममा हेटौँडा उपमहानगरपालिकाबाट पनि आर्थिक सहयोग प्राप्त भयो । जुन रगंशाला निर्माणका लागि कोशेढुंगा साबित भयो ।

घिमिरेको दैनिकी विगत एक वर्षदेखि रंगशालामा नै बित्ने गर्दैछ । उनी हरेक दिन कामदारसँगै बेल्चा चलाउने, ढलानका लागि मसला घोल्नेलगायतका काममा व्यस्त हुन्छन् । 

घिमिरेसँग खेलकुद संरचना निर्माणको थोरै अनुभव पनि थियो । जसले उनलाई रगंशालाको सपना साकार पार्न सहयोग गर्‍यो । रंगशाला निर्माण गर्नुअघि हेटौँडा–५, पिप्लेमा उनले बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाएका थिए ।

१ करोड २५ लाख लागत मूल्याङ्कन गरिएको उक्त कभर्ड हल हेटौँडा उपमहानगरपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न गरिएको घिमिरे बताउँछन् । बाहिरी कामदार प्रयोग नगरी पिप्ले युवा क्लबका युवाहरूको श्रमदानबाट उनले सो कभर्ड हल निर्माण गरेका थिए । 

यसरी जुट्यो रगंशालाको स्रोत

कभड हल निर्माणको अनुभव र स्थानीय युवा तथा पालिकाको साथमा उनले रगंशाला निर्माणको काम सुरु गरेका थिए । उनले कभर्ड हल बनाउँदा बचेको पैसाले रंगशाला निर्माण सुरु गरिएको थिए ।

४ करोड लागत अनुमान गरिएको रंगशाला २ करोडमा निर्माण सम्पन्न भएको घिमिरेले बताए । रंगशालाको ५ हजार दर्शक क्षमता छ । सिमेन्टेड प्याराफिटमा २ हजार ५ सय, दुईतर्फ बनाइएको फलामे प्याराफिटको करिब २ हजार ५ सय दर्शक क्षमता रहेको उनको भनाई छ । 

हालसम्म हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयबाहेक सरकारी तवरबाट कुनै सहयोग नभएको उनी बताउँछन् । ‘हेटौँडाका मेयर हरिबहादुर महतबाट धेरै नै सहयोग पाएँ । वडा अध्यक्ष राजेश बानियाँले आर्थिक र श्रम दुवै सहयोग गर्नुभएको छ,’ उनले भने । 

गत आर्थिक वर्ष २०७७/०७८ मा सिमेन्टको प्याराफिटको जग हाल्न उपमहानगरपालिकाले ३४ लाख बजेट दिएको उनले बताए । मेयर महतले चालु आर्थिक वर्ष २०७८/०७९ मा प्याराफिट बनाउन ७५ लाख रुपैयाँ विनियोजन गरेका थिए । २ करोड २५ लाख प्राविधिक मूल्याङ्कन आए पनि १ करोड ९ लाखमा प्याराफिट तयार पारेको घिमिरेको भनाई छ । 

‘हामीलाई थुप्रै ठाउँबाट बालुवा, गिट्टी र सिमेन्ट सहयोग आएको छ । यसले आर्थिक रूपमा धेरै भार कम गर्‍यो । हामीले इँटा मात्रै खरिद गर्नुपरेको थियो,’ उनले भने । उपमहानगरपालिकाले फलामको प्याराफिटका लागि पुनः २० लाख रुपैयाँ बजेट दिएको उनले बताए । उक्त रगंशालाका लागि हेटौँडाका शिक्षाप्रेमी पुरनबहादुर जोशीले ५ लाख २५ हजार रुपैयाँबराबरको फलाम उपलब्ध गराएका थिए । 

रगंशालाको सुरक्षाको लागि तारजाली लगाइएको छ । मैदान घेर्न लगाइएको तारजालीको खर्च उनले स्वयम व्यहोरेका छन् । तारजाली लगाउन उनले व्यक्तिगत रूपमा ९ लाख रुपैयाँ खर्च गरेको बताए । 

विश्व फुटबल संघ (फिफा) को मापदण्डअनुसार अलौटो माटो हालेर मैदान तयार गरिएको छ । करिब २ सय टिपर माटो ल्याउन मात्रै खर्च भएको उनले बताए । मैदान सम्याउने, घाँस उमार्नेलगायतका काममा क्लबका सदस्य तथा स्थानीय युवाहरूले सहयोग गरेको उनी बताउँछन् ।

रगंशालामा अन्तर्राष्ट्रिय मापदण्डको आठ लेनको ४ सय मिटर एथ्लेटिक्स ट्रयाक तयार भएको छ । ट्रयाक निर्माण गर्न ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले वडा कार्यालयबाट ११ लाख बजेट विनियोजन गरेका थिए । 

११ लाख बजेट आए पनि ट्रयाक निर्माण गर्न ३० लाख रुपैयाँ खर्च भएको घिमिरेले बताए । ट्रयाकमा ४ सय टिपर ग्राभेल बिछ्याइएको उनको भनाई छ । 

रंगशाला तयार हुँदासम्म संघसंस्था तथा व्यक्तिबाट नगद र निर्माण सामग्रीसहित ५० लाख बराबरको सहयोग प्राप्त भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप