सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन : बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन् ।
जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियो प्रति माओवादी वृत्त खनिएका छन् । केहीले उक्त भिडियो हटाउन चेतावनीसमेत दिएका छन् । गीतको विवादबारे भट्टराई भन्छन्, म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्साएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने ?
नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।