शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले प्रवेश गरेका सरावगी भन्छन्, ‘अब देशमा साना पार्टीको काम छैन’

‘काँग्रेसमा प्रवेश गर्न प्रयास नगरेको होइन’
शनिबार, २८ फागुन २०७८, २१ : १५
शनिबार, २८ फागुन २०७८

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् ।

यद्यपि, जसपा नेपाल छाडेर अर्को दलमा प्रवेश गर्ने सवालमा आफ्नो पहिलो रोजाई नेपाली काँग्रेस रहेको उनको भनाइ छ । तर काँग्रेसकै केही स्थानीय नेताका कारण आफूले काँग्रेसमा त्यो स्थान पाउन नसकेको उनले बताए । पछिल्लो समय प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगकै छलफलबाट पनि आफू काँग्रेसमा सामेल हुन असहज अवस्था भएको उनले बताए ।

उनले जसपा नेपाल परित्याग गर्नुका अतिरिक्त एमाले नै रोज्नुको कारण र आगामी राजनीतिक यात्राका बारेमा रातोपाटीले उनीसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, मेयर सरावगीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं जसपा नेपाल छाडेर एमालेमा प्रवेश गर्नुभयो, जसपा नेपालसँग असन्तुष्ट हुनुको मुख्य कारण के हो ?

मधेसको मुद्दालाई उठान गरेर जसरी जसपा नेपाल अघि बढिरहेको थियो, विगत चार वर्षको अवधिमा पार्टीको काम–कारबाही त्यस अनुसार हुन सकेन । अर्कोतिर जसपा नेपाल अहिलेसम्म संस्थागत हुन पनि सकेन । जुन सिस्टमबाट पार्टी चल्नुपर्ने हो, त्यो देखिएन ।

पार्टीको संगठनको आधारमा हेर्ने हो भने पर्सा जिल्लाको हालत अत्यन्त नाजुक भइसकेको छ । स्वाभाविक रूपमा वीरगञ्जमा पनि पार्टीको अवस्था नाजुक छ । कोही पनि अनुशासनमा छैनन्, आफ्नै पार्टीका मेयरलाई धेरै पटक सार्वजनिक रूपमा गालीगलौज गर्ने, मिडियामा गलत कुरा गर्ने परिपाटी देखियो । कोभिड–१९ को महामारीको समयमा पनि पार्टीका नेताहरूले हामीलाई जसरी सघाउनु पर्ने थियो, त्यसरी साथ दिएनन् । काम गर्नेलाई पनि रोक्ने काम गरे ।

अर्को कुरा भनेको गैर राजनीतिक (आर्थिक, सामाजिक) क्षेत्रबाट राजनीतिमा आएका धेरै जना छौँ । यस्ता नेता–कार्यकर्तालाई पार्टीले जसरी सघाउनु पर्दथ्यो, त्यो पनि गर्न सकेन । यस्तो अवस्थामा हामीले यो पार्टीलाई हाम्रो आवश्यकता नै छैन भनेर महसुस गर्न थाल्यौँ । त्यसैले धेरै अघिदेखि मैले आफ्नो असन्तुष्टि राख्दै आएको थिएँ ।

पार्टी छोड्छु भनेर नेतृत्वलाई भन्नुभयो होला, रोक्ने प्रयास भएन ?

मैले यसअघि नै दुई पटक राजीनामा दिएको थिएँ, जसलाई पार्टी अध्यक्ष उपेन्द्र यादवज्यूले फिर्ता गराइदिनुभएको थियो । उहाँले सबै कुरा व्यवस्थापन गरिदिन्छु भन्नुभएको थियो तर सक्नुभएन । आन्दोलनबाट आएको पार्टी भनेर कति दिन भजाउने ? हामी भोलि फेरि चुनावमा जानुपर्छ । हामीजस्ता जनप्रतिनिधिले जनताको आकांक्षा, कार्यकर्ताको भावनालाई समेट्नु पर्छ ।

म मेयर भइसकेपछि जसपा नेपाल सरकारमा गयो । प्रदेशमा पनि जसपा नेपालकै नेतृत्वमा सरकार छ तर केन्द्रबाट वा प्रदेशबाट एक सुका पनि ‘वीरगञ्जको विकासमा खर्च गर’ भनेर अतिरिक्त रकम दिन सक्नुभएन । त्यही चितवनमा हेर्नुस्, रेणु दाहाललाई चार वर्षमा ११ सय करोड रुपैयाँ नियमित बजेटको अतिरिक्त उपलब्ध गराइएको छ । हाम्रो पार्टीका नेतालाई आफ्नो पार्टीका मेयरलाई कसरी सघाउने भन्नेमा चासो नै भएन । जसपा नेपालले जितेको एकमात्र महानगरपालिकालाई पनि उहाँहरूले कसरी नमुना बनाउने भन्नेतिर ध्यान दिनुभएन । सत्तामा रहेका ठुला पार्टीले आफ्ना मेयरलाई सघाएका छन्, जसपा नेपालले त त्यो पनि गरेन ।

तपाईं जसपा नेपालको नेतृत्वप्रति बढी असन्तुष्ट हो कि मधेस प्रदेशका मुख्यमन्त्रीसँग ?

म दुवैप्रति असन्तुष्ट छु । उहाँहरूले कहिले पनि हामीलाई अभिभावकत्व दिनै सक्नुभएन । वीरगञ्ज नयाँ महानगरपालिका हो, १६ वटा ग्रामीण क्षेत्रलाई जोडेर एक सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यस्तो अवस्थामा यहाँको विकासका लागि उहाँहरू कसैले पनि चासो राख्नुभएन । जबकि, पार्टीले नेतृत्व गरेको महानगरको विकासका लागि उहाँहरू गम्भीर भएर लाग्नुपर्ने थियो ।

पर्सा त मधेस प्रदेशका मुख्यमन्त्रीको पनि क्षेत्र हो । उहाँ पनि जसपा नेपालमै हुनुहुन्छ, उहाँले आफ्नो क्षेत्रमा विकास गर्नै चाहनु भएन त ?

उहाँले महानगरलाई केही सहयोग गर्नुभएन । दुई÷चार लाखका बजेट भएका योजना पनि सोझै आफैमार्फत दिने, आफ्ना कार्यकर्तामार्फत खर्च गर्ने व्यापार उहाँबाट भयो । उहाँले कहिले पनि वीरगञ्ज महानगरलाई केही दिऊँ, वीरगञ्जको विकास गरौँ भन्ने सोच्नु भएन । वीरगञ्जलाई उहाँहरूले आन्दोलनको नगरी मात्र बनाउनु भयो । ६–६ महिना बन्द गर्नुभयो तर त्यो बापत उहाँहरूले वीरगञ्जलाई के दिनुभयो भनेर आजसम्म आत्मालोचना गर्न सक्नुभएको छैन ।

जसपा नेपाल विभाजन भएका कारण पनि आफू सुरक्षित हुन तपाईं एमालेमा जानु भएको हो कि ?

पार्टी टुट्ने, जुट्ने एउटा परम्परा हो, त्यो चलिरहन्छ । यो कुनै ठुलो कुरा होइन । दुई तिहाइ बहुमत भएको पार्टी त टिकेन भने जसपा नेपाल विभाजन हुनु ठुलो मुद्दा होइन ।

मुद्दा त कहाँ छ भने हामी जुन पार्टीमा जोडिएका थियौँ, हाम्रो अपेक्षा हुन्छ कि यो पार्टीबाट हामीलाई संरक्षण होस् । राजनीतिक करिअरको हिसाबले अगाडि बढ्न नेतृत्वबाट सहयोग हुन्छ भन्ने अपेक्षा गरिन्छ । तर, जसपा नेपालको नेतृत्वबाट त्यस्तो केही पनि देखिएन ।

मधेस आन्दोलनको समयमा एमालेलाई ‘मधेस विरोधी’ भनिन्थ्यो, तपाईंले एमाले नै रोज्नुभयो, यो चुनौतीपूर्ण होइन ?

त्यस्तो होइन, मधेस आन्दोलनमा एमालेको विरोध थिएन । हाम्रो विरोध त संघ सरकारको रवैयाको हो, जसमा कुनैबेला काँग्रेस, एमाले, माओवादी सबै थिए । संघ सरकारले मधेसको विकासमा कहिल्यै ध्यान दिएन । एक त डेढ दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नै थिएनन्, अर्कोतिर संघ सरकारमार्फत हुने विकास पनि पहाडी क्षेत्रतिर बढी केन्द्रित थियो । त्यसकारण हाम्रो असन्तुष्टि थियो । नयाँ संविधानले सबै ठाउँमा संसाधन बाँडेर बराबर विकास हुन्छ भन्ने सुनिश्चितता गरेपछि अब त्यो असन्तुष्टि रहेन । त्यस अनुसारको विकास देखिएको पनि छ । तर, जो मन्त्री बन्छ, उसले आफ्नै क्षेत्रमा मात्र ध्यान दिने प्रवृत्ति देखियो । समानुपातिक ढंगले वितरण गर्ने प्रणाली अझै विकास हुन सकेको छैन ।

वीरगञ्ज महानगर भनेको देशको ४० प्रतिशत राजस्व उठाएर पठाउने क्षेत्र हो । यस क्षेत्रबाट ६० प्रतिशतभन्दा बढी आयात–निर्यात हुन्छ । यस्तो क्षेत्रलाई साढे चार वर्षको अवधिमा केन्द्रले खासै ध्यान दिन सकेन । यहाँको विकासलाई महत्त्व दिन सकेन ।

जसपा छाड्नुपर्दा तपाईंसँग लोसपा नेपाल वा काँग्रेस वा माओवादी लगायतका दल पनि विकल्प हुन सक्थे, तर एमाले नै किन रोज्नुभयो ?

मैले एमाले नै रोज्नुपर्ने कारण छ । एमालेमा नेतृत्वको गुणस्तर र क्षमता पनि देखिन्छ । अहिले त सबैभन्दा पुरानो पार्टी भनेको काँग्रेस र एमाले नै हो । काँग्रेसमा प्रवेश गर्न प्रयास नगरेको होइन तर काँग्रेसको सबैभन्दा ठुलो समस्या भनेको वीरगञ्जका नेताहरू यति पूर्वाग्रही छन् कि उनीहरू कहिल्यै पनि राम्रा मान्छेलाई आउन दिँदैनन् ।

योभन्दा अगाडि पनि मैले काँग्रेस नै रोजेको थिएँ । त्यतिबेला एक जना नेताले मानेनन् । अहिले पनि त्यस्तै अवस्था भयो । पहिला म काँग्रेसमा जान खोजेँ तर पछि आदरणीय प्रधानमन्त्रीज्यूले चार वटा पार्टीबीच गठबन्धन गरेर अगाडि जानुपर्छ भन्नुभयो । अब म जसपा नेपाल छाडेर फेरि त्यही जसपा नेपालसँग गठबन्धन गर्नुपर्छ भने पार्टी छाड्नुको औचित्य हुँदैन । त्यही कारण मैले एमालेमा जाने फैसला गरेँ ।

सैद्धान्तिक कुराभन्दा पनि तपाईंले व्यवहारिक कुरालाई ध्यानमा राखेर एमाले रोज्नुभएको हो ?

सिद्धान्तको कुरा गर्ने हो भने अहिले सबै पार्टी एउटै शैलीमा चलिरहेका छन् । मैले धेरै पार्टीका घोषणापत्र हेरेँ, धेरै पार्टीका काम कारबाही हेरिसकेँ । सबै पुँजीवादकै कुरा गर्न थालिसके । अब पुराना कुरा गरेर कुनै पार्टी अगाडि बढ्न सक्दैनन् । अबको जमाना, अबको आवश्यकताका आधारमा हामी चल्न सक्नुपर्छ । कम्युनिस्ट शासन हुँदा हुँदै पनि चीनले यति धेरै विकास गरिसक्यो । हामीले त्यसैबाट पनि पाठ सिक्न सक्छौँ ।

पार्टीले बोक्ने सिद्धान्त खराब हुँदैन, नेतृत्व सही हुनुपर्छ । हामीले काम गर्ने भनेकै आर्थिक र सामाजिक विकास हो । त्यसमा हाम्रो इमानदारिता हुनुपर्छ । त्यसमा पनि राष्ट्रभक्ति सबैभन्दा महत्त्वपूर्ण हो भन्ने मलाई लाग्छ । कमरेड केपी ओलीजीले जसरी लिपुलेकको कुरा निकाल्नुभयो, कुनै पनि नेताले त्यसरी कदम चाल्न सक्दैनथ्यो भन्ने मलाई लाग्छ ।

पहिला त तपाईंलाई चुनाव जित्न ठुला पार्टीलाई गाली गर्दा पनि पुग्थ्यो तर अब त्यो अवस्था रहेन, यसलाई कति चुनौतीपूर्ण मान्नुहुन्छ ?

जसपा नेपालसँग अब एजेण्डा नै केही छैन । एउटा मधेसको एजेण्डा थियो, साढे चार वर्ष लामो शासनका क्रममा त्यो विषयमा उहाँहरूले केही गर्नै सक्नुभएन । यसले के बुझिन्छ भने अब यो देशमा धेरै साना पार्टीको काम पनि छैन । दुई वटा ठुला दल हुनुपर्छ र ती दुईमध्ये कुनै एउटा दलमा लागेर नै मुद्दालाई अगाडि बढाउन सकिन्छ । नत्र सानासाना दलमा लागेर आन्दोलनको नाममा जनताको र आफ्नो समय बर्बाद गर्नुभन्दा अरू केही हुनेवाला छैन ।

तपाईं एमालेमा प्रवेश गर्नुभयो तर अर्कोतर्फ काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले गठबन्धन गर्ने भनेर प्रधानमन्त्रीले नै भनेको कुरा तपाईंले सुनाउनु भयो । यो अवस्थामा अब तपाईंले त्यो गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्नुहोला त ?

प्रधानमन्त्रीजीले जसरी गठबन्धनको कुरा गर्नुभयो, उहाँले आवश्यकताको कुरा गर्नुभएको हो । पार्टीहरू मिलेर गएको खण्डमा बढीभन्दा बढी सिट ल्याउन सकिएला । तर त्यसका लागि धेरै त्याग गर्नुपर्छ ।

प्रधानमन्त्री कै पार्टी नेपाली काँग्रेसमा यतिधेरै साथीहरू पदमा जानका लागि आकाङ्क्षी छन् कि त्यहाँ कहिल्यै पनि गठबन्धनको कुरा मिल्दै मिल्दैन । हो, बरु माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल मिलेर चुनावमा गठबन्धन हुन सक्ला तर काँग्रेससँग गठबन्धन हुनु धेरै ठुलो कुरा हो । नेताहरुबीच कुरा मिलाएर उनीहरूलाई जिताउने गरी कतै गठबन्धन हुनु एउटा कुरा हो तर काँग्रेसका साथीहरूले त्याग गरेर गठबन्धन बनाउन कहिल्यै चासो राख्दैनन् ।

अहिले म एमालेमा गएको छु । त्यहाँ ममात्र गएको होइन, पर्सा जिल्लालाई नै एमालेमय बनाउन मेरो भूमिका रहन्छ र मलाई विश्वास छ, यसमा म सफल पनि हुन्छु । म जसपाबाट वीरगञ्जको मेयर भइसकेपछि मेरै नेतृत्वमा संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी र राजपा नेपालबीच गठबन्धन गरेर गएका थियौँ । त्यो चुनावमा पर्साका अधिकांश क्षेत्रमा हामी विजयी भयौँ ।

अब वीरगञ्ज महानगरमा एमालेबाट मेयरको उम्मेदवार तपाईं नै हो ?

म बिनाशर्त एमालेमा प्रवेश गरेको हुँ । मेरा अग्रज नेताहरूले मेरो क्षमताअनुसार कुन भूमिका राम्रो देख्नुहुन्छ र कहाँ जिम्मेवारी दिन उचित ठान्नुहुन्छ, म त्यहीँ रहन चाहन्छु । मलाई जुन भूमिका उहाँहरूले दिनुहुन्छ, त्यसमै जान्छु । टिकट नपाए पनि मलाई समस्या छैन, पार्टीको कार्यकर्ताका रूपमा जिम्मेवारी निर्वाह गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप